ग्रीसमा गाडी दुर्घटनामा मृत्यु भएका ४ मध्ये तनहुँका थापा पनि

समाधान संवाददाता २०७८ पुष ८ गते १२:३४


लन्डन ।
गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी ४ जना नेपालीको मृत्यु भएको छ । तीमध्ये एकजना गण्डकी प्रदेशको तनहुँका पनि छन् ।


टर्कीबाट गैरकानूनी रुपमा ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको पहिचान ढिला गरी खुलेको हो ।


मृत्यु हुनेमा घिरिङ गाउँपालिका–५ तनहुँका ओमबहादुर थापा, भीमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा छन् । सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यको पहिचान हुन बाँकी थियो ।

Advertisement


ग्रीस प्रहरीले पठाएको फोटो प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)को वेबसाइटमा राखिएको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको भिएनास्थित नेपाली राजदूतावासले जनाएको छ ।


दूतावासका द्वितीय सचिव धनञ्जय मेहताले कन्सुलर सेवा विभागबाट सोमबार दूतावासलाई चार वटै शवको पहिचान भएको जानकारी प्राप्त भएको र शवलाई नेपाल पठाउने प्रक्रिया सुरु गरिसकेको बताए ।

Advertisement


दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य छ । भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर बाँच्न सफल भएका थिए । हाल ग्रीसको एथेन्स सहरमा रहेका उनीहरुबाट नै गाडीमा अन्य चार जना नेपालीहरु पनि सवार रहेको खुल्न आएको थियो ।


गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा चार नेपालीसहित सातजना आप्रवासीहरूको सो दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटनामा दुई नेपालीसहित आठ जना घाइते भएका थिए । ओभरलोड गाडी तीव्र गतिमा गुडाउँदा चालकले सन्तुलन कायम गर्न नसकेर दुर्घटना भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया