मन्त्री शर्माले कांग्रेस महाधिवेशनमा ल्याएको मत जम्मा १४२ !

समाधान संवाददाता २०७८ पुष १० गते १८:४१

पोखरा ।
गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल पनि नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार थिए । उनले चुनाव जित्न सकेनन् । तर मतचाहिँ कति ल्याए त ?

Advertisement


कँडेलले ल्याएको मत निकै कम छ ४७ सयभन्दा बढी मतदाता भएको चुनावमा उनले डेढ सय मत पनि कटाउन सकेनन् । निर्वाचन परिणाम अनुसार उनले ल्याएको मतसंख्या केवल १४२ हो ।


मन्त्री कँडेल खसआर्य खुलाबाट केन्द्रीय सदस्यका उम्मेदवार थिए । गण्डकीका मन्त्री कँडेल खसआर्य खुलाका उम्मेदवारमध्ये सबैभन्दा कम मत ल्याउनेचाहिँ होइनन् । ७ जनामात्रै निर्वाचित हुने यो कोटामा ४३ जना उम्मेदवार थिए । सबैभन्दा कम मत बसन्तबहादुर सिकेले ४५ ल्याएका छन् । त्यसपछि अच्यूतप्रसाद गुरागाईंको ८३, चन्द्रबहादुर कुँवरको ९९ र मणिभद्र शर्मा कँडेलको १४२ मत आएको छ । मन्त्री कँडेल पछाडिबाट चौथो भएका छन् । मन्त्री कँडेलले उम्मेदवारी फिर्ता लिने समयभित्र फिर्ता लिएका थिएनन् तर पछि उम्मेदवारी फिर्ता लिएको भनेर विज्ञप्तिचाहिँ जारी गरेका थिए ।


खसआर्य खुला कोटाबाट केशवकुमार बुढाथोकी (२११५), गोविन्दबहादुर शाह (२०७३), भीम पराजुली (१९४७), मधु आचार्य (१८४९), श्यामकुमार घिमिरे (१९१९), नारायणबहादुर कार्की (१८३६)र गेहेन्द्र गिरी (१८०३) निर्वाचित भएका छन् । महिलातर्फ मञ्जु खाँण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना निर्वाचित भएका छन् ।


गण्डकी प्रदेशका अर्का नेता महादेव गुरुङ आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यका उम्मेदवार थिए । उनी पनि पराजित भएका छन् । उनले १४ सय ४८ मत पाएका छन् । उक्त कोटाबाट मनाङका टेकबहादुर गुरुङ भने विजयी भए ।

Advertisement

तपाईको प्रतिक्रिया