खुट्टा नभए पनि ठमठमी

सञ्जय रानाभाट २०७८ पुष १० गते १८:४८

सञ्जय रानाभाट
पोखरा ।
स्याङ्जाका रामचन्द्र शर्माको घुँडाभन्दा मुनिको भाग छैन । तर उनी ठमठमी हिँड्छन् । एक्लै बजार जान्छन् । चाहिने सामान आफैं ल्याउँछन् । अरुको सहारा लिँदैनन् । एउटा सहारा भने उनलाई छ । त्यो हो, कृत्रिम खुट्टा । कृत्रिम खुट्टाको सहारा लिनुपरेको २०६६ सालदेखि हो ।
०६२÷६३ सालको जनआन्दोलन र देशमा चलिरहेको माओवादी आन्दोलनको प्रत्यक्ष सिकार बने उनी । ६२ सालको अन्तिमतिर माओवादी सशस्त्र युद्धको उत्तराद्र्ध थियो । त्यही सालको अन्तिमतिर आएर जनआन्दोलन पनि सुरु भयो । त्यही बेला हो, रामचन्द्रले दाहिने खुट्टा गुमाउनुपरेको ।


रामचन्द्रले स्याङ्जाको कोलको नाप्चेमा होटल सञ्चालन गरेर बसिरहेका थिए । ‘म ४५ वर्षको थिएँ । हाम्रो परिवार स्याङ्जामै हुर्किए बढे,’ उनले भने, ‘आम्दानी पनि राम्रो भएको थियो, खुट्टामा गोली लागेपछि भने परिवारमा ब्रजपात प¥यो ।’


रामचन्द्र गाउँको टाठाबाठा मध्येका एक हुन् । गाउँमै नाप्चे होटलमा र टेलिफोन जोडेर होटल व्यवसाय सञ्चालन गरेको थिए । त्यसमाथि उनको होटलमा टेलिफोन थियो । जो कोही खाजा खाना र फोन गर्न रामचन्द्रको होटलमा आइपुग्थे ।


भूमिगत बसिरहेकाहरु रामचन्द्रको घरगाउँमा आउजाउ गरिरहन्थे । यसमाथि रामचन्द्रको होटल र टेलिफोनमा आन्दोलनकारी र गाउँलेको भीड लाग्थ्यो । होटलमा आउने खाजा खाने टेलिफोन प्रयोग गर्ने जस्ता गतिविधि दैनिक हुने गरेको रामचन्द्र बताउँछन् । ‘जनआन्दोलनका बेला डर सँगसगै व्यापार पनि राम्रो हुन्थ्यो । एक हिसाबले मेरो जिन्दगी सबै राम्रो चलिरहेको थियो । अचानक एक दिन तत्कालीन आन्दोलनकारीले गाउँमा चन्दा उठाउन पत्र आयो,’ उनले भने, ‘हामी प्रत्येक व्यवसायीसँग ३० हजार रुपैयाँ उठाउने भनियो । गाउँमा म लगायत केहीको असहमति रह्यो । हामी वार्ता गर्न आन्दोलनकारीसँग जंगलमा गयौं ।’


जंगलमा गएपछि उनलाई चूप बस्न भनियो । रामचन्द्र चूप बसे । यसपछि केहीले चन्दा दिए । फेरि उनलाई थप चन्दा उठाउन चिठी दिइयो । उनले भने, ‘यो काम मैले गर्न सकिनँ । पाएको चिठी बालुवामुनि लुकाएँ । यसपछि म सबैको आँखी भएजस्तो लाग्छ ।’ त्यसपछि नै घर फर्किंदा उनी आफूमाथि गोली बर्सिएको सुनाउँछन् । तर माओवादीले हो या राज्यतर्फका सुरक्षाकर्मीले भन्ने अत्तोपत्तो उनलाई छैन । आँखी त उनी सुरक्षा निकायको पनि थिए । तर जंगलमा भएको वार्ताका बेला रामचन्द्रले माओवादीहरुलाई आफूले चन्दा उठाइदिने चिठी बाँड्न नसक्ने बताएका थिए ।


आन्दोलनकारीकोे गतिविधि बढेपछि रामचन्द्रलाई एक दिन नेपाली सेनाका अधिकारीले सोधपुछका लागि डाकेका थिए । ‘सुरक्षाकर्मीले मलाई छलफलका लागि एक दिन बोलाए । मेरो होटलमा माओवादी आउने जाने गरेको सुरक्षाकर्मीलाई पहिल्यै थाहा रै’छ । मलाई थप सर्तक हुन भनियो,’ रामचन्द्र भने, ‘यसपछि थप सर्तक हुन्छु भनेर म सरासर घर फर्कें ।’ त्यसपछि झन् आफू राज्यपक्ष र आन्दोलनकारीको तारो नै बने रामचन्द्र सम्झन्छन् । यो घटनापछि उनलाई होटल चलाउन मन लागेन । होटलमा अन्जान मान्छे आउने । भूमिगत र राज्यपक्षका सुरक्षाकर्मीकोे निगरानी बढेपछि मनमा चिसो पस्यो ।


जुन दिन उनको खुट्टामा गोली लाग्यो, त्यो दिन के के भयो सबै याद छैन । सिर्फ गोली लागेको मात्रै सम्झना छ । गोली लागे पनि ज्यान त बँच्यो । तर उपचार उनले समयमै पाएन । घरमा गएर औषधी मुलो गरे । पछि पछि हुँदै गएपछि खुट्टाले चाल नपाएको उनी बताउँछन् । ‘दुख्नेदेखि सुन्निने हुन थाल्यो । उपचारका लागि काठमाडौं गएँ । जानुपर्ने ठाउँमा सबै धाएँ । तर खुट्टामा झन् झन् समस्या थपिँदै गयो,’ उनले भने, ‘२÷३ वर्षसम्म औषधी उपचार गरे पनि निको भएन । यसपछि डाक्टरले खुट्टा बिग्रिएर अल्सर हुन सक्ने भनेपछि खुट्टा काट्ने निर्णय गरँे । २०६६ सालमा मैले खुट्टा काटेँ ।’


उनी अहिले कृत्रिम खुट्टाको सहारामा छन् । यही खुट्टाले हिँड्डुल गर्छन् । चाहेको ठाउँमा पुग्छन् । खुट्टा काटेर फाले पनि कृत्रिम खुट्टाको सहायताले गुजारा चलाएको बताउँछन् । ‘सुरुमै मलाई कृत्रिम खुट्टाबाट हिँड्न गाह्रो भयो । दिन प्रतिदिन सिक्दै गएँ । अलि सहज भयो । त्यति बेला १५ हजार रुपैयाँ तिरेर यस्तो खुट्टा लगाएको थिएँ,’ उनले भने ।


रामचन्द्रमात्र होइन, उनकी श्रीमती लालीमाया पनि जनआन्दोलन ताकाकी घाइते हुन् । जनआन्दोलनको समयममा प्रहरीले निर्घात पिटेपछि उनी घाइते भइन् । रामचन्द्र भन्छन्, ‘श्रीमतीलाई पनि आन्दोलनको क्रममा प्रहरी पिटे । जेल परिन् । अहिले ढाडको समस्या छ । उनको ढाडको अप्रेसन भयो । तर सञ्चो भएको छैन । औषधी निरन्तर खानुपर्छ ।’


श्रीमतीको ढाडको समस्याका कारण उनीहरु स्याङ्जा छोडेर पोखरा आए । पोखरा आएर ४ वर्षसम्म भाडामै बसे । अहिले पोखरामा घर बनाएको रामचन्द्रले सुनाए । कृत्रिम खुट्टाको सहायताले पोखरामा घर, जग्गा मिलानको काम गरेर यिनले जीविका धानेका छन् । छोराछोरीले कमाउन थाले यसपछि भने रामचन्द्रको जीवन सहज बनेको छ । भन्छन्, ‘कोभिड अघिसम्म घर, जग्गा मिलानबाट राम्रो आम्दानी हुन्थ्यो । अहिले बूढो भएँ । छोराछोरीको आम्दानी पनि हुन थालेपछि सहज भयो । विगत सम्झँदा आङ नै जिरिंग हुन्छ ।’


२०६६ सालमा पहिलो पटक कृत्रिम खुट्टामा राखेपछि उनले ३ फेरिसके । भन्छन्, ‘५÷६ वर्षको अन्तरालमा फेरिरहनुपर्छ । धेरै समय भएपछि बिग्रिँदो रै’छ । केही दिनअघि फेरे,’ उनले भने । मानव मिलन संस्था पोखराले संस्थापक नेपालकेशरी डा. मणिभद्र महाराजको सानिध्यतामा अपांगता भएका व्यक्तिहरुलाई निशुल्क कृत्रिम खुट्टा वितरण गर्ने क्रममा उनले पनि नयाँ कृत्रिम खुट्टा पाएका हुन् । उनीसँगै अरु २१ जनालाई सित्तैमा संस्थाले कृत्रिम खुट्टा उपलब्ध गराएको अध्यक्ष गुप्तप्रसाद शर्माले बताए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया