पर्यटन
लोघेकरका १० महिलालाई होटल ब्यवस्थापन तालिम हुने
संयुक्त राष्ट्रिय विकास कार्यक्रम (UNDP)को आर्थिक सहयोग


जोमसोम—
भौगोलिक रुपले विकट मानिएको हिमाली जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका महिलालाई लक्ष्य गरी एक महिने होटल ब्यवस्थापन सम्वन्धि प्राविधिक तालिम सञ्चालन हुँने भएको छ ।लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको पहलमा यही पुस १२ गते सोमबारदेखि पोखरा स्थित गेट भोकेशनल फेब ( FAB ) स्कुलमा तालिम संञ्चालन हुँने जनाईएको छ ।
हिमाली जिल्लाको दुर्गम स्थानमा बसोबास गर्ने महिलाहरुलाई शीपमूलक तालिम दिएर ब्यवसायिक क्षेत्रमा आत्मनिर्भर तुल्याउने उद्देश्यसहित संयुक्त राष्ट्रिय विकास कार्यक्रम (UNDP)को आर्थिक सहयोगमा बोधी हिमालयन फाउन्डेसनले तालिम कार्यक्रम आयोजनाको तयारी गरिरहेको लोघेकर गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिनुभयो । तालिममा लोघेकर दामोदरकुण्ड गाउँपालिका भित्रका कुल १० जना महिलाहरुको सहभागी रहने उहाँको भनाई छ ।
धार्मिक तथा पर्यटकीय जिल्लाको रुपमा रहेको मुस्ताङका पीछडिएका महिला बर्गको उत्थानका लागि (यूएनडिपी)को अनुदान सहयोग प्राप्त भएको हो ।तालिममा सहभागी महिलाहरुलाई निःशुल्क खान र बस्नको ब्यवस्था समेत गरिएको गापा अध्यक्ष बिष्टले उल्लेख गर्नुभयो ।‘तालिम एक महिना सम्म चल्नेछ,अनुभवी दक्ष प्रशिक्षकबाट कुकिङ,वेटर,रुम क्लिनर र आतिथ्यता सत्कार लगायतका होटल ब्यव्सथापनको प्रशिक्षण हुन्छ,गापा अध्यक्ष बिष्टले भन्नुभयो,‘वैदेशिक रोजगार तथा स्वदेशीमा ब्यवसाय गरी आत्मनिभर हुन सक्ने गरी तालिमको तयारी हुँदैछ ।’
हिउँदयामको मौसमसंगै उपल्लो मुस्ताङमा अत्यधिक चिसो बढेकाले स्थानीयहरु बेसी झरेको समयमा उनीहरुलाई होटल ब्यवस्थापन सम्वन्धि तालिम दिईन लागिएको हो ।हिउँदको जाडो समयमा बेसी झरेको समय तालिम सञ्चालन गर्दा दुरदराजका महिलाहरुलाई अनुकुल हुने गरी तालिम आयोजनाको तयारी गरिएको हो ।
तालिममा सहभागी हुन चाहने केही महिलाहरु पोखरामा सम्पर्कमा आईसकेको गापा अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया