सुरुङ मार्ग बनाए हेमजा—पातीचौर १५ मिनेटमै

केशव शरण २०७८ पुष ११ गते ११:०९

पोखरा ।
पछिल्लो समय नेपालमा सुरुङ मार्गको निकै चर्चा हुँदै आएको छ । पोखराबाट पर्वत, पोखराबाट स्याङ्जा पनि सुरुङ मार्ग बनाउनुपर्ने आवाज पनि बेलाबेला उठ्छ । तर त्यसबारे औपचारिक अध्ययनै सुरु भएको छैन । सरकारले पोखराको हेमजाबाट नयाँपुलसम्म सुरुङ मार्ग अध्ययनका लागि भनेर यही वर्षको बजेटमा सम्बोधन पनि गरेको थियो । बजेट भने नाममात्रैको छुट्ट्याएको छ—मात्र १० लाख रुपैयाँ ।


नर्वेको ओस्लोको एक विश्वविद्यालयमा प्राध्यापनरत नेपाली प्राध्यापक डा. कृष्णकान्त पन्थीले हेमजादेखि पातीचौरसम्म सुरुङ मार्ग बनाउन सकिने सुनाउँछन् । उनकै भनाइमा सुरुङ मार्ग बनाउँदा उक्त दुरी १५ मिनेटको यात्रामा छोटिन्छ । अहिले भने डेढ घन्टासम्म लाग्छ ।
प्राध्यापक डा. पन्थी पोखरामा इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसद्वारा शुक्रबार आयोजित गोष्ठीमा नर्वे र नेपालमा सुरुङ निर्माणको अनुभव र सम्भावना प्रष्ट्याउँदै थिए । उनले हेमजाबाट पातीचौर सुरुङमार्ग १३ किलोमिटर हुने पनि सुनाए । नयाँपुलसम्म भन्दा २ किलोमिटर परै पातीचौरसम्म सुरुङमार्ग बनाउन सकिने उनको भनाइ थियो । ‘नयाँपुलसम्म जानु जोखिम हुन्छ, २ किलोमिटर धेरै भए पनि पातीचौरसम्म सुरुङ मार्ग बनाउनु राम्रो हुन्छ,’ उनले भने ।


कुनै पनि ठाउँमा सुरुङ मार्ग निर्माण गर्दा त्यहाँको चट्टानको अध्ययन गरिनुपर्ने जानकारी पन्थीले दिए । आफ्ना विद्यार्थी÷शोधार्थीहरुले हेमजा—पातीचौर सुरुङ मार्गको सम्भावनाका लागि त्यहाँका पहाडहरुको चट्टानको अध्ययन लगाउने योजना पनि उनले सुनाए ।

Advertisement


प्राध्यापक पन्थीका भनाइमा सुरुङ मार्ग निर्माण नेपाललाई अपरिहार्य छ । उनले नेपालजस्तै नर्वेमा पनि धेरै पहाडहरु भएको हुँदा सुरुङ मार्ग निर्माण गरिएको जानकारी दिए । ‘नर्वेमा ४५ सय किलोमिटर सुरुङमार्ग सडक छ,’ उनले भने, ‘हाइड्रो पावरहरुमा २५ सय किलोमिटर छ ।’ तर नेपालमा भने अहिलेसम्म हाइड्रो पावर लगायतमा गरी केवल २५० किलोमिटर सुरुङ निर्माण भएको जानकारी प्राध्यापक पन्थीले दिए ।


नर्वे वा अरु कुनै पनि देशको सुरुङ मार्ग निर्माणको पूरापूर अनुभव नेपालमा नक्कल गर्न नसकिने प्राडा पन्थीले बताए । उनले भने, ‘हाम्रो आफ्नै भौगर्भिक संरचना छ, जुन अरु देशसँग मिल्दैन, नर्वेमा हाम्रोमा भन्दा कडा चट्टान छ ।’ नेपालमै सुरुङ शिक्षा लिने र यहीं व्यावहारिक अभ्यास गर्ने गरी जनशक्ति तयार पार्नुपर्ने उनले सुझाए । अहिले डब्लुआरसीमा सुरुङ इन्जिनियरिङ सम्बन्धमा स्नातकोत्तरको पढाइ पनि भइरहेको छ । जसको सुरुआतका लागि प्राडा पन्थीले पहल गरेको गोष्ठीमा सुनाइयो । नर्वबाट नोरहेड प्रोजेक्टलेसमेत उक्त पढाइलाई सघाइरहेको छ । गण्डकी प्रदेश सरकारले पनि साथ दिएको छ । नोरहेड प्रोजेक्टमार्फतै २ जना प्राध्यापकलाई सुरुङ इन्जिनियरिङमा विद्यावारिधिका लागि नर्वे लैजाने जानकारी प्राडा पन्थीले दिए ।

Advertisement


प्राडा पन्थीले सुरुमा ठूलो लगानी लाग्ने भए पनि सुरुङ मार्ग सडक टिकाउ, दीर्घकालका लागि सस्तो र सुरक्षित हुने बताए । एकपटक सुरुङ निर्माण गरेपछि सयौं वर्षलाई हुने जानकारी उनले दिए । ‘सुरक्षित पनि हुन्छ, २०७२ सालको भूकम्प जाँदा हाम्रो नेपालका कहिँका सुरुङमा पनि केही भएन नि,’ उनले भने ।


गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले सुरुङ मार्ग आवश्यक भए पनि प्रदेश सरकारको आर्थिक हैसियतले नभ्याउने वास्तविकता रहेको सुनाए । ‘तर नपालको भूगोललाई हेर्ने हो भने सुरुङ मार्ग अन्तिम र निर्विकल्प हो,’ उनले भने ।
ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव इन्जिनियर रामकुमार श्रेष्ठले मेलम्ची आयोजनामा सुरुङ बनाउँदा २६ किलोमिटरका लागि ३० अर्ब लागेको सुनाए । उनले अब लार्के र याङ्ग्री खोलाको पानी मेलम्चीमा ल्याउन ९ किलोमिटर सुरुङ निर्माणका लागि ११ देखि १६ अर्ब लाग्ने देखिएको पनि उनले बताए । तर प्राडा पन्थीले व्यवस्थापन कमजोर हुँदा त्यति महँगो पर्ने गएको भन्दै अझै धेरै सस्तोमा सुरुङ मार्ग निर्माण गर्न सकिने बताए । ‘कुन उपायले खन्दा किफायती हुन्छ भनेर बुझ्न जरुरी छ,’ उनले भने,


प्राडा पन्थीले सुरुङ मार्ग सडकबाहेक अरु थुप्रै कामका लागि पनि जमिनमुनिको भूभाग प्रयोग गर्न सकिने नर्वेली अनुभव बाँडे । उनले डाटा भण्डारणका लागि नर्वेमा सुरुङ खनेर जमिनमुनिको भाग प्रयोग गर्ने गरिएको र चीन लगायत देशहरुले नर्वेमा डाटा भण्डार गर्न पैसा खर्चिएको सुनाए । ‘१५÷२० मिटर जमिनभित्र गएपछि त्यहाँ औसत तापक्रम हुन्छ, त्यहाँ थोरै ऊर्जाबाट पनि डाटा भण्डार गर्न सकिन्छ,’ उनले भने, ‘फलफूल भण्डारण पनि गर्न सकिन्छ, अब जमिनमाथिको ठाउँ कम भइरहेको बेला भूमिगत ठाउँ उपयोग गर्नु उपयुक्त हुन्छ ।’ प्राडा पन्थीले कडा चट्टान नभई माटैमाटोमात्रै भएको रसियाको राजधानी मस्को सहरमा समेत सुरुङ मार्ग बनाएर रेल कुदाउन सम्भव भएको उदाहरणसमेत दिएका थिए ।


इन्जिनियरिङ अध्ययन संस्थानका डीन शशिधरराम जोशीले सुरुङ इन्जिनियरिङ सम्बन्धी शोध केन्द्र डब्लुआरसीमा राखिनुपर्ने सुझाए । डब्लुआरसी प्रमुख निर्मल बरालले स्नातकोत्तर तहका ५ वटा र स्नातकका ७ वटा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । प्रोजेक्ट कोअर्डिनेटर रामप्रसाद पौडेलले नेपाल पहाडै पहाडको मुलुक भएको जथाभावी निर्माणले विनास निम्त्याउने हुँदा सुरुङ मार्ग अपरिहार्य भएको बताए ।

केशव शरण

समाधानकर्मी शरण लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिताका उपप्राध्यापक पनि छन् ।

तपाईको प्रतिक्रिया