पाेखरामा १ वर्षमै घरजग्गा जोड्ने लोभ देखाएर जागिर लगाइदिने नाममा ठगी

सञ्जय रानाभाट २०७८ पुष १२ गते १३:१९

सञ्जय रानाभाट
पोखरा ।
धादिङ घर भएकी निशा थापा मगरले गत वर्ष पोखरामा बसेर १२ कक्षा पास गरिन् । परीक्षा दिएपछि उनलाई जागिर गर्न मन थियो । दुर्भाग्य खोजेको र रोजेको जागिर पाइनन् । कोठामा बस्दाबस्दै उनको समय गयो । कक्षा १२ को रिजल्ट आयो । पास पनि भइन् । थप पढाइका लागि ब्याचलर जोइन भइन् । प्रथम वर्षको ब्याचलर पढाइ गर्दै थिइन् । चिनेजानेकै साथीबाट उनलाई आकर्षक आफर आयो—१ वर्षभित्रमै लाखौं कमाउन सकिने, पोखरामा घरजग्ग किन्ने कमाइ हुने । उनी खुसीले गधगध भइन् । अफरलाई उनले गुमाउन चाहिनन् । कार्यालय पुगिन् ।

Advertisement


गत वर्ष फागुन १९ गते कुरा थियो । निशा जागिरका लागि नयाँबजार ग्लोबल ओरियन्स नेपाल प्राइभेट लिमिटेडको कार्यालयमा पहिलोपटक पुगेको । कार्यालयमा जागिरका लागि आएका मान्छे देखेर दंग परिन् । ‘त्यति ठूलो भिड देखिन मैले जागिर पाउँदिनँ कि जस्तो पनि लाग्यो,’ उनी भन्छिन् । तै पनि उनले हार मानिनन्, लाइनमा बसेर कुरेर सबै कुरा बुझिन् । उनलाई एकपछि अर्को प्रक्रिया पूरा गराउन लगाइयो । ‘जागिर पाए पैसा कमाउँछु कि । एक वर्षमै पोखरामा स्थापित हुन्छु भनेर एकपछि अर्को प्रकृया पुरा गर्दै गएँ,’ उनले भनिन्, ‘मार्केटिङ गर्न पर्दैन भनेपछि थप उत्साहित भएँ । विस्तारै म फस्दै गएको रैछु । पहिला २ दिनको ट्रेनिङ लिएँ । यसका लागि मैले ७ सय रुपैयाँ र २ वटा नागरिकता बुझाएँ ।’


ट्रेनिङपछि फेरि मेडिकलका लागि पैसा मागेको उनी बताउँछिन् । ‘मैले मेडिकल गरिनँ । मलाई अफिसबाट निकै पछ्याइयो,’ उनले भनिन् । एकपछि अर्को प्रक्रियामा जान पैसा ल्याएमात्र पैसा कमाउनका लागि काबिल हुने उनलाई बताइयो । ‘मेरा पछि यति मान्छे कि पैसा नल्याई मैले सुख पाइनँ । लोभ पनि लाग्यो पैसा कमाइन्छ कि लाग्यो,’ उनले भनिन्, ‘घरमा ४ दाजुभाइले गर्नुपर्दैैन भने पनि कान्छो दाइले राम्रो हुन्छ भने गर भनेर पैसा दिनुभयो । मैले धेरै प्याकेजहरुमध्ये दोस्रो प्याकेज लिएँ । ३५ हजार रुपैयाँ बुझाएँ । यसपछि भने मैले केही पाइनँ । अफिसबाट मलाई वास्ता गर्न छाडियो । यसपछि म ठगिएको भान भयो । नभन्दै ठगिएको रैछ ।’


पैसा बुझाएपछि कुनै आम्दानी भएन । आजभोलि घरबाट पैसा माग्न पनि डर लाग्ने उनी सुनाउँछिन् । महिना दिनसम्म कार्यालयमै गएर काम गरिन् । पैसा दिएपछि एउटा डिटोल साबुन, तिनटा टुथपेस्ट, डेक्रिम र नाइट क्रिम ४ वटा उनले पाइन् । पछि लकडाउन भएपछि भने उनी गाउँ गइन् । लकडाउन खुलेसँगै उनी कार्यालयमा पुगेर रिसेप्सनिस्टको काम गरिन् तर पैसा पाइनन् । करिब १ वर्षको अवधिमा उनले गुमाइन्मात्र पाउन भने केही पाइनन् । मात्र दुख पाइन् । ‘मैले बारम्बार पैसा खोज्दा अरु मान्छे पनि जोड्न मलाई प्रेसर दिइयो । मैले मान्छे त जोडिनँ । तर, १० जना मान्छेहरु चाहिँ कार्यालयमा लगेर मिटिङमा भेटाइदिएँ,’ उनले भनिन् । भेटाइदिएका कोही पनि अफिसमा नजोडिएको उनी बताउँछिन् । ‘घरबाट पैसा माग्नै लाज भयो । जागिर खाएको मान्छेको पैसा खोई त भन्छन् । मैले के जावाफ दिने घरमा थाहा भयो भने मार्छन्,’ उनले सुनाइ्न्, ‘घरमा खाता खोल्न नमिलेर पैसा नआएको आमाबुबालाई बताएको छु । मैले १७ वर्ष छँदै जोइन् गरेकी थिएँ । अहिले १९ लागेँ । अब त पैसा आउँछ भनेर घरमा आस छ । म यता फसेकी छु ।’


संखुवासभाका सुजय तामाङको पनि १ लाख १५ हजार फसेको छ । कक्षा १२ पढ्ने उनलाई पनि लाखौं कमाउने लोभ देखाइएको थियो । १८ वर्षे उनी उनलाई ग्लोबल ओरियन्स नेपाल पोखरा नयाँबजार शाखाले महिनामा कम्तीमा १५ हजार रुपैयाँ कमाउने र धेरै काम गरे धेरै कमाइने प्रलोभन देखाइएको थियो । ‘मलाई पनि साथीले राम्रो कमाइ हुने सुनाएपछि म जोडिएँ । धेरै लोभ देखाइयो । महिनामै लाखौैं कमाउन सक्ने पोखरामा १ वर्षमा घर, गाडी किन्न सक्ने लोभ देखाइयो,’ तामाङले भने, ‘पोखरामा अफिसमा काम गर्नेहरुले पनि ३ स्टारको १ लाख १५ हजारको प्याकेज लिएका रैछन् । मैले पनि सुरुमै माथि पुगिने आशमा यो प्याकेज लिएँ । मलाई ४०÷५० हजार रुपैयाँको औषधी पनि दिइएको छ तर के गर्ने बिक्री नै हुन्न । पैसा पनि आजसम्म १५ सयभन्दा फिर्ता पाएको छैन ।’

Advertisement


पैसा लिएँपछि कन्ट्याक्ट लेस रहेको उनले बताए । ‘मैले त पैसाको आस मारेको थिएँ । फेरि साथी सबै जनाले एकचोटि अन्यायका विरुद्ध आन्दोलनमा सहभागी भएको हो,’ उनले भने । आमालाई चुरोट छुटाउनेदेखि २१ प्रकारका दबाई त पाए पनि महिनाको पैसा नपाएको उनले बताए ।


ग्लोबल ओरियन्स नेपाल प्राइभेट लिमिटेडले पोखरामै ३ ठाउँमा कार्यालय सारेको पीडितहरु बताउँछन् । अहिले भने पोखरामा कहिँकहिँ कार्यालय नभएको उनीहरु सुनाउँछन् । यसअघि पोखराको नयाँबजार बुद्धचोक र रामबजारमा कार्यालय स्थापना गरेर हजारौं मान्छेलाई ठगेको पीडितहरु बताउँछन् ।


रामबजारमा कार्यालयबाट भागेपछि भने पीडितहरुले घरबेटी वेदकुमार श्रेष्ठलाई मिलेको आरोप लगाउँदै आएका छन् । दैनिक ३÷४ जना मान्छे अफिस खोज्दै आउने गरेको उनी सुनाउँछन् । भन्छन्, ‘मेरो नै घरको भाडा नतिरी भागेका थिए । मैले बल्लबल्ल धेरै प्रयास गरेपछि उठाएँ । धेरै पीडित आएपछि मैले नै उनीहरुलाई पत्रकारहरुसँग भेटाएको हुँ । मैले भाडा कस्ले दिने भनेर यहाँको प्रमुख विजय गुरुङलाई सोधेँ, उनले काठमाडौंको मान्छेको नम्बर दिनुभयो । उहाँ वसन्त पण्डित हुनुहुँदो रैछ, मैले फोन गर्दा उठेन तर म्यासेज गर्नुभएको थियो । पछि मैले प्रहरीलाई खबर गर्दिन्छु । पत्रकारहरु बोलाउँछु भनेपछि धेरै मेहनत गरेपछि पैसा पाएँ ।’


श्रेष्ठका अनुसार उक्त संस्थाबाट पोखरामा ९ सय २९ जना प्रत्यक्ष ठगिएका छन् । ‘दैनिक मेरो घरमा भिड लाग्छ । म हैरान भइसकेँ । मैले भाडा नदिएपछि कम्पनीको आधिकारिकता मागेको थिएँ । पेपरहरुको फोटोकपी प्यान नम्बर, रजिस्टर नम्बरका फोटोकपी मसँग सुरक्षित छन्,’ उनले भने, ‘सरसर्ती हेर्दा २०७६÷७७ मा इजाजत पत्र पनि लिएका छन् । तर, उद्देश्य एकातिर काम एकातिर छ ।’


ग्लोबल ओरियन्स नेपाल प्राइभेट लिमिटेडले वाणिज्य आपूर्ति उपभोक्ता विभागबाट बिक्री कक्षा रहने गरी धरान, इटहरी पोखरा, लमही, कोटेश्वर लगनखेल गरी देशभर २४ शाखा खोल्ने अनुमति लिएको छ । काठमाडौं महानगरपालिकाबाट खाद्यवस्तु र कस्मेटिक उत्पादनहरुको आयात तथा निर्यात गर्ने भने अनुमति लिएको छ । तर जागिर लगाइदिने र ठग्ने गरेको खुलेको हो । रामबजारमा रहेको कार्यालयमा घरमा रहेका सामानहरु प्रयोग गरेर कार्यालय सञ्चालन गरेको घरबेटी श्रेष्ठ बताउँछन् । ‘केही फर्निचर थिए । ती सबै मेरो हुन् । कोठा सर्दा एक बोरा औषधी बाहेक केही लगेनन्,’ उनले भने, ‘म एक रिटाएर लाहुरे हुँ ।

अहिले समाजसेवा गरिरहेको छु । अन्याय देखेरै पत्रकार सम्मेलन मैले गर्न लगाएकोे हो ।’ हालसम्म भने जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी परेको छैन । आइतबार पीडितहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए । आइतबार अबेर भएकाले सोमबार उजुरी दर्ता गर्ने पीडितहरुको तयारी छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया