१५ वर्षअघिको हत्याका आरोपित पोखराका अशोक बहराइनमा पक्राउ

समाधान संवाददाता २०७८ पुष १३ गते १३:०५

पोखरा ।
पोखरामा १५ वर्षअघि भएको एक हत्यामा संलग्न व्यक्ति बहराइनमा पक्राउ परेका छन् । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसिबी) नेपालको सहयोगमा फरार भएका अभियुक्तलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए ।

Advertisement


कुँवरका अनुसार एनसिबीमार्फत २७ मंसिरमा रेड नोटिस जारी भएका पोखराका अशोक गुरुङ त्यसको दुई दिनपछि बहराइनमा पक्राउ परेका हुन् । २९ वैशाख २०६३ मा पोखरा ३२ सातमुहानेमा भएको रोजन राईको हत्यामा उनी संलग्नता देखिएको थियो ।


त्यसबेला हत्यामा गुरुङको संलग्नता नखुल्दा भागेर वैदेशिक रोजगारीका लागि बहराइन पुगेका थिए । पछि उनी संलग्न देखिएपछि इन्टरपोलमा नेपाल प्रहरीले रेड नोटिस जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले पुराना जघन्य अपराधमा संलग्नहरुको खोजी तीब्र बनाएका थिए । यही क्रममा रोजन राई हत्याकाण्डका फरार अभियुक्तको खोजी सुरु भएको थियो । एसपी थापाले पुराना फाइल खोतल्ने क्रममा फरार अशोक गुरुङको खोजी सुरु भएको बताए ।

Advertisement


एसपी थापाका अनुसार गुरुङले सामान्य विवादमा रोजन राईलाई दाउराको चिर्पट प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । घाइते राईले उपचारका लागि अस्पताल पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । गुरुङलाई कूटनीतिक माध्यमबाट सुपुर्दगी गरेर काठमाडौं ल्याउने प्रयास भइरहेको छ । उनी संलग्न रहेको अदालती प्रमाणसहित ३० दिनभित्र उनलाई लिन टोली पठाउन भनिएको छ । उनलाई सपुर्दगीमार्फत नेपाल फिर्ता ल्याउन कूटनीतिक माध्यमद्वारा आउन अनुरोध गरिएको प्रवक्ता कुँवरले बताए ।


हत्या भएका रोजन राई सुनसरी जिल्लाको भएको प्रहरी रेकर्डले देखाएको छ । हत्या हुँदा उनी २० वर्षका थिए । सातमुहानेमा राईले मजदुरी गरेका थिए । तर अहिलेसम्म सुनसरीमा राईको घर कहाँ हो भन्ने खुल्न सकेको छैन । उनका आफन्तजनले समेत खोजी गरेका छैनन् । कास्की प्रहरीले त्यति बेला राईसँगै मजदुरी गरेका र स्थानीय बासिन्दासँग सोधपुछ गरी उनका आफन्त पत्ता लगाउने प्रयास गरिरहेको छ । कास्की प्रहरीले सुनसरीमा समेत सम्पर्क गरी रोजन राईका आफन्त खोजी गरेको छ ।


एनसीबी नेपालले यही वर्ष सरकारी कागजात कीर्ते कसुरका आरोपी केदार ढुंगानालाई सुपुर्दगी गरेर पोर्चुगलबाट नेपाल ल्याइसकेको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणका कृष्ण गोपाल अग्रवाल पनि इन्टरपोलकै सहयोगमा पक्राउ परेका थिए ।


प्रहरी प्रधान कार्यालयले सोमबार आर्थिक वर्ष २०७८÷७९ को पाँच महिने प्रगति विवरण सार्वजनिक गर्ने क्रममा पोखराका अशोक गुरुङ बहराइनमा पक्राउ परेको जानकारी दिएको थियो । चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म जघन्य प्रकृतिका घटनाहरु (कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग) बढेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी कुवँरले बताए ।
अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा कर्तव्य ज्यानको मुद्दा १५.१७ प्रतिशतले घटेको छ । ज्यान मार्ने उद्योगको घटना पनि ३.९२ र आत्महत्या ११.१६ प्रतिशतले घटेको छ । तर, चोरी, ठगी, आपराधिक विश्वास घात, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुर र बैंकिङ कसुरको घटना भने डरलाग्दो गरी बढेको छ ।

तपाईको प्रतिक्रिया