तमु ल्होछार
तमुहरु सक्षम बन्नुपर्दछः प्रदेश प्रमुख
तमु ल्होछारको अवसरमा तमु धिंमा जोर्ज जोन लगायत सम्मानित
पोखरा ।
तमु जातिको नयाँ वर्ष, महान चाड तमु ल्होछार(तो ल्हो)–२०७८ को अवसरमा तमु धि नेपालले बुधवार आयोजना गरेको ल्होछार शुभकामना आदानप्रदान, सम्मान एवम साँस्कृतिक कार्यक्रमम र तम ह्युलचोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तमु ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको सचेत हुनुपर्नेमा जोड दिनुभयो। प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्र स्थापित मुलुकमा विभेदहरुको अन्त्य गदै सबैले प्रतिस्पर्धाबाट अघि बढ्ने क्रममा तमुहरु सचेत भई तमुहरुमा प्रतिस्पर्धामा उत्कृष्ठता हासिल गर्नुपर्ने बताउनुभयो। आन्तरिक राष्ट्रियता बलियो बनाउन सबै जाति, समुदाय, वर्ग, लिंग, क्षेत्रलाई समानता प्रदान गर्नुपर्ने उहाँको भनाई थियो। तमु धिं नेपालले तमुहरुको संस्कार, सस्कृति, सामुहिकतालाइ संरक्षण र विकास गर्दै आएकाले यसको महिलामा कतै बिलय गर्न नहुने उहाँले बताउनुभयो।
कार्यक्रममा तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमु, नेपाल तामाङ घेदुङ केन्द्रिय सचिवालय सदस्य दिपक वाइवा तामाङले शुभकामना व्यक्त गर्नुभएको थियो। सम्मानित व्यक्तित्व शिक्षा सेवी जोर्ज जोनले समेत बोल्नु भएको थियो।
कार्यक्रममा शिक्षाविद, वरिष्ठ समाजसेवी पृथ्वीनारायण क्याम्पसका पुर्व क्याम्पस प्रमुख, राजसभा स्थायी समिति सदस्य, तमु धिं नेपालका सल्लाहकार संयोजक स्व.गणेशबहादुर गुरुङको स्मृतिमा परिवारद्धारा स्थापित र तमु धिं नेपालद्धारा संचालन हुने शिक्षाविद्, बरिष्ठ समाजसेवी गणेश बहादुर गुरुङ स्मृतिकोषबाट पहिलो पटक यस क्षेत्रको शैक्षिक धरोहर, वरिष्ठ शिक्षासेवी, पृथ्वी नारायण क्याम्पसका संस्थापक प्रमुख जोर्ज जोनलाई १ लाख ११ हजार १११ रुपैयासहित सम्मान अर्पण गरिएको थियो।
कोषबाट सम्मानित व्यक्तित्व छनौट समितिमा संरक्षक समिर गुरुङ, सदस्यहरु शिक्षासेवी महेन्द्र गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, महासचिव जुनाकुमारी गुरुङ, कोषाध्यक्ष गमबहादुर गुरुङ रहनु भएको थियो। शैक्षिक एवम सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्व सम्मानका लागि स्वर्गीय गुरुङको परिवारले २० लाख रुपैयाको अक्षयकोष स्थापना गरेको छ।
यसरी नै तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृतिकोषबाट समाजसेवा तर्फ समाजसेवी रुद्रकुमारी गुरुङ मैना, साहित्यतर्फ काठमाण्डौंकी उमा गुरुङ, विदेशमा रहनु भई समाजसेवी व्यक्तित्व इशा गुरुङ(युके), साहित्यतर्फ केहरसिंह गुरुङ(क्यानडा)लाई सम्मान गरिएको थियो।
यस्तै गरी तमु कर्णेल तिर्थकुमारी गुरुङ समाजसेवा पुरस्कारबाट समाजसेवी मेजर लक्ष्मीप्रसाद गुरुङ, सन्तबहादुर गुरुङ स्मृति समाजसेवा पुरस्कारबाट युवा समाजसेवी गोपाल गुरुङ, स्व.घनबहादुर लामिछाने साहित्यिक पुरस्कारबाट साहित्यकार तेजबहादुर चाक्ली तमु, डा.हर्क–डा.चन्द्र–प्रा.सन्त गुरुङ शैक्षिक एवम समाजसेवा पुरस्कार समाजसेवी देवीराज गुरुङ पुरस्कृत हुनुभएको छ।
यस्तै गरी सुनिल गुरुङ स्मृति छात्रवृत्ति शान्ति रुपा बराहथोक तमु समाजकी स्नेह गुरुङ, भुलभुला तमु समाजका सुशिल गुरुङ र हल्जेभाई तमु समाजका आयुष गुरुङलाई प्रदान गरिएको छ भने आकृति स्मृति अक्षयकोषबाट खिलाङ गुरुङ समाजकी लिला गुरुङ, चिउली पार्चे तमु समाज सिक्लेसकी दुर्गा गुरुङ र चारभञ्ज्याङ तमु समाज पर्वत भँगराकी बिन्ती गुरुङलाई गरिब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभयो।
कार्यक्रममा चर्चित कलाकार दुर्गा गुरुङ, ओम गुरुङले साँगितीक प्रस्तुति र तमु धिं नेपाल केन्द्रिय आमा समितिको तर्फबाट साँस्कृतिक प्रस्तुति गरेका थिए।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ र सञ्चालन महासचिव जुनाकुमारी गुरुङले गर्नुभएको थियो।
यसैबिच तमु धिं नेपालद्धारा प्रकाशन गरिएको वार्षिक स्मारिका तमु सुँ प्रमुख अतिथि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिमोचन गर्नुभएको थियो।
यसै गरी तो ल्हो आगमनको अवसरमा तमु ह्युला चोकमा शुभकामना आदानप्रदान एवम दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। बुधवार बेलुका तमु सहयोग समिति पार्दीद्धारा आयोजित कार्यक्रममा प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो। पार्दी तमु समाजका अध्यक्ष क्या.तमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव नासु.मेखबहादुर गुरुङले गर्नुभएको थियो।
तपाईको प्रतिक्रिया