भारी हिमपातसंगै उपल्लो मुस्ताङसहित मुक्तिनाथ सडक अवरुद्ध,७ पर्यटकको उद्दार
जोमसोम—
गत मंगलबारदेखि निरन्तर परेको भारी हिमपातका कारण मुस्ताङको उत्तरी कोरलानाका जोड्ने उपल्लो मुस्ताङ सडकसहित मुक्तिनाथ सडक समेत बुधबारदेखि अवरुद्ध बनेको छ । सडक माथि ३ फिट बढी हिउँ थुप्रिएकाले उपल्लो मुस्ताङ र मुक्तिनाथ जाने सवारी साधनलाई आउजाउमा रोक लगाईएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
भारी हिमपातका कारण वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीदेखि उकालो मुक्तिनाथ रानीपौवासम्मको कालोपत्रे सडक माथि पुरै हिउँ थुप्रिएको हो । हिमपातले सडक यातायात सेवा अवरुद्ध बनेपछि मुक्तिनाथ दर्शनका लागि गएका धार्मिक पर्यटक पैदलै हिडेर मुक्तिनाथ जान बाध्य भएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले हिउँले भरिएको सडकमा सवारी साधन चलाउँदा दुर्घटना हुनसक्ने जोखिम रहेकाले सडक आवागमन बन्द गर्नु परेको उल्लेख गरे ।यस्तै, मुक्तिनाथको मुख्य गेटदेखि मन्दिरसम्मको दुरीमा पैदलयात्रीले हिउँले असहज पू¥याएपछि त्यहा कार्यरत सुरक्षाकर्मीको सहयोगमा बिहिबार सफा गरिएको छ ।
प्रहरीका अनुसार बुधबारबाटै उपल्लो मुस्ताङको सडक आवागमन हिमपातका कारण बन्द गरिएको छ । समून्द्री सतहदेखि करिव ३ हजार मिटर अग्लो उचाईबाट बिस्तार गरिएको जोमसोम —कोरला सडकमा भारी हिमपात भएको थियो । उपल्लो मुस्ताङको ११० किमी ग्राभेल सडकमा पुरै हिउँको चाङ थुप्रिएकाले सवारी साधन चल्नसक्ने अवस्था नरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । मुस्ताङमा परेको भारी हिमपातका कारण अलपत्र परेका ७ जना नेपाली पर्यटकलाई प्रहरीले उद्दार गरेको छ । बाग्लुङबाट जीप चढेर उपल्लो मुस्ताङको भ्रमण गर्न गएको टोली मंगलबार राती हिमपातका कारण मुस्ताङको समर—भेना सडकमा फसेको थियो ।
‘जीप हिउँ फस्यो,चिसोले स्टार्ट हुन सकेन,‘प्रहरी निरीक्षक आशिष अधिकारीले भने,‘जीपका सवै यात्रीलाई समरको होटलमा सुरक्षित राखेका छौं,जीप उतार्न सक्ने अवस्था छैन ।’उनले उपल्लो मुस्ताङ सडक माथि भारी हिमपात भएकाले आवागमन पूर्णरुपमा बन्द गरिएको र जीप निकाल्न केही दिन लाग्ने जानकारी दिए ।यस्तै,अन्नपूर्ण पदमार्गमा यात्रा गरेका ७ जना नेपाली र ८ जना विदेशी पर्यटक पनि भारी हिमपातका कारण मनाङ आधार शिविरबाट फर्किन बाध्य भएका छन् । लमजुङको बेसी सहरबाट मनाङ हँुदै मुस्ताङ आउन लागेका उनीहरु बुधबार उक्त क्षेत्रमा अपलत्र परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।मनाङ हुँदै काठमान्डौबाट आएका ७ जना बिद्यार्थी पर्यटक र ८ जना तेश्रो मुलुकका पर्यटक हिमपातका कारण मुस्ताङ आउन जोखिम हुने भएकाले पूनः मनाङतर्फ फर्किएको थियो ।हिमपातले अलपत्र उनीहरु पहिला मुस्ताङ प्रहरीको सम्पर्कमा आएका थिए । मुस्ताङ र मनाङ प्रहरीको समन्वयमा उनीहरुलाई मनाङ आधार शिविरबाट फकाईएको हो ।प्रहरीका अनुसार मनाङ र मुस्ताङको सीमाना थोरङ्लापासमा बाँक्लो हिमपात भएकाले उनीहरुलाई उतै फर्काउन परेको हो ।
बाँक्लो हिमपातका कारण राष्ट्रिय गौरवको ७६ किमी बेनी—जोमसोम सडक समेत प्रभावित बन्यो । थासाङको लेते,कैकुखोला ,मिसी,घासा,काभ्रेभीर,रुप्से र दाना लगायतका क्षेत्रमा हिमपात भएकाले सवारी साधनलाई आउजाउमा समस्या भएको थियो । बेनी—जोमसोम सडकका सूपरभाईजर ईन्द्रसिंह शेरचनले सडक माथि थुप्रिएको हिउँ बिहिबार बिहान डोजर लगाएर सफा गरिएको जानकारी । उनले सडकको हिउँ सफा गरेपछि अहिले सवारी आउजाउ संञ्चालनमा आएको उल्लेख गरे ।
जलवायु परिवर्तनका कारण केही वर्ष पर्न नसकेको हिउँ यसपटक अनअपेक्षित रुपमा परेपछि स्थानीय किसान उत्साहित बनेका छन् ।बुधबार मुस्ताङका ५ वटै स्थानीय तहमा हिमपात भएको थियो ।हिउँ परेपछि किसानले लगाएको अन्नबालीलाई फाईदा पुग्ने भएकाले हिउँ किसानका लागि बरदान मानिन्छ ।केही वर्षअघि देखि तल्लो मुस्ताङमा हिउँ नपरी वर्षा हुने गथ्र्यो । हिउँले जमिनको उर्वराशक्ति बढाउने र अन्नबालीमा लाग्ने प्रकोप नियन्त्रण गर्ने कृषि ज्ञानकेन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए । गत वर्ष हिउँ नपर्दा स्याउ लगायतका अन्नबालीमा विभिन्न प्रकोपा देखिएको थियो ।
मुस्ताङमा वर्षकै पहिलो अपेक्षा गरिएको हिमपात भएपछि स्थानीय र मुस्ताङमा कार्यरत कर्मचारीमा खुसीयाली छाएको छ । बिहिबार मौसममा सुधार आएको र वरपरका बस्ती,खर्क र डाँडाकाँढा सेताम्मे बनेकाले हिउँ खेल्ने र हिउँसंगै तस्विर खिच्नेको लर्को लागेको छ ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया