लेकसाइड २४ सै घन्टा खोल्छौं : गृहमन्त्री खाँण

पोखरा ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा बिहीबारदेखि २३ औं पोखरा सडक महोत्सव सुरु भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले महोत्सव उद्घाटन गरे । त्यस अवसरमा उनले लेकसाइडकलाइ २४ सै घन्टा खुला गर्न सरकारले चाहेको बताए । तर त्यसका लागि स्थानीयको सहयोग चाहिने उनको भनाइ थियो ।
‘व्यवसाय खोल्दा निद्राका रोगीले हामीलाई असर पुग्यो भनेर आउँछन्, त्यसका लागि स्थानीयको सहयोगको आवश्यक पर्छ,’ उनले भने । ठूलो साउन्ड बजाउँदा आसपासका छिमेकीलाई असर पर्ने भएकाले त्यसमा भने हेक्का राख्नुपर्ने उनको भनाइ थियो ।
निश्चित ठाउँलाई ट्रायल फेजमा २४ सै घन्टा खुला गर्न सुरु गर्न सकिने बताए । ‘कहाँकहाँ खुला गर्ने हो, ठाउँ छनोट गर्नोस्, सरकार सहयोग गर्न तयार छ,’ उनले व्यवसायीलाई भने । त्यसका लागि सरोकारवालाको बैठक डाक्न मन्त्री खाँणले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिए । उनले सरकार लगानीकर्ता, कर्मचारी र मजदुरको साथमा रहेको उल्लेख गरे । मन्त्री खाँणले होटल तथा रेस्टुरेन्ट खोल्न प्रहरी प्रशासनले सहयोगी भूमिका खेल्ने विचार राखे ।
गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माले पोखरालाई पर्यटकीय राजधानी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको सुनाए । शर्माले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखरामा पर्यटकको आगमन वृद्धि हुने विश्वास व्यक्त गरे ।
बिहीबारदेखि सुरु भएको महोत्सव तीन दिन चल्नेछ । पोखरामा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न रेबान पोखराले सडक महोत्सव गरेको हो । महोत्सवले कोरोना संक्रमणको मारमा परेको पर्यटक क्षेत्रलाई उकास्नेमा आफूहरु आशावादी बनेको रेबानका अध्यक्ष लक्ष्मण बरालले सुनाए । महोत्सव संयोजक नरेश भट्टराईले तीन दिने महोत्सवले यो अवधिमा मात्र नभई महोत्सवपछिका दिनमा पनि पोखरामा पर्यटक आगमन बढाउने सहयोग गर्ने बताए ।
तपाईको प्रतिक्रिया