नयाँ मतदाताको भोट भिजनरी नेतालाई

सञ्जय रानाभाट २०७८ पुष १७ गते १९:४७

सञ्जय रानाभाट
पोखरा ।
स्याङ्जाकी समीक्षा शर्मा १८ वर्ष पूरा भएर १९ वर्षमा लागिन् । उनी पोखरामा बसेर पढ्छिन् । समीक्षा आफ्नै जिल्लामा गतिलो क्याम्पस भइदिएको भए पोखरा आउनुपर्दैनथ्यो भन्छिन् । शिक्षाका लागि मात्रै होइन सानोतिनो उपचारका लागि पनि समीक्षाको जिल्लाबाट बासिन्दा पोखराकै भर पर्नुपर्छ । शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका बारेमा धेरै नेताले भाषण गरेको उनलाई थाहा छ । तर विकासको अनुभव गर्न नपाएकी समीक्षा आउँदो निर्वाचनमा गतिलो नेताले जितेर जिल्ला र देशको विकासमा योगदान गरेको हेर्न चाहन्छिन् । त्यही भएर उनी मतदाता बन्न निर्वाचन कार्यालय गण्डकी प्रदेशको कार्यालय आइपुगेकी छन् ।


समाधासँगको भेटमा समीक्षाले नेताहरुले झुठा अस्वासन दिएर यसभन्दा अघिका चुनाव जित्दै देशलाई भड्खालोमा पुर्‍याएको बताइन् । आफ्नो एक भोट अब आउने चुनावमा देशविकास गर्ने अठोट बोकेर आएको भिजिनरी नेतालाई दिने उनको भनाइ छ । भन्छिन्, ‘जसले समाज हितका लागि गर्छ । त्यसैलाई मेरो भोट हुन्छ । विकास त जसले पनि गर्छु भन्छ, यसलै अब भोट विकास यसरी गर्छु भनेर आधार बोकेर आउनुप¥यो ।’
पोखराका पुम्दीकोटका सुमन गिरीले अब आउने चुनावमा युवा नेतृत्वलाई भोट दिने मनसाय बनाएका छन् । २५ वर्षीय उनी यसअघि वैदेशिक रोजगारमा थिए । देशमा रोजगारीको अवस्था र श्रमअनुसारको पारिश्रमिक नपाइने भन्दै केही वर्ष विदेश गएका थिए । अब आउने चुनावमा भने उनले देशभक्तमात्र हैन, गाउँठाउँ समाज देश विकास गर्ने सक्ने भ्रष्टाचार मुक्त समाज बनाउने नेतृत्वलाई भोट हाल्ने बताए । भन्छन्, ‘देश विकास गर्ने त सबैले भन्छन्, अहिलेको समाजमा भ्रष्टाचार र जनताको आवाजलाई सर्वोपरी सम्झन्छ त्यस्तो नेतालाई भोट हाल्छु ।’


पोखरा महानगरपालिका वडा नम्बर १९ का सन्देश अधिकारी सक्षम नेतृत्वको खोजीमा छन् । आजसम्मका चुनावमा जसले जतिसुकै झुठा आसवासन बाँडे पनि आफ्नो मत युवा नेतृत्वलाई मत दिने उनले बताए । उनले २०७६ सालमा नागरिकता बनाएका थिए । तर निर्वाचन कार्यालयले जारी गरेको नामवलीमा नाम नपरेपछि के भएछ भनेर बुझ्न आएको उनले सुनाए ।

Advertisement

‘विकास त जसले पनि गर्छु भन्छ, यसलै अब भोट विकास यसरी गर्छु भनेर आधार बोकेर आउनुप¥यो’


‘अब आउने निर्वाचनमा भोट हाल्न पाए जस्ले एजेन्डा राम्रो जस्ले ल्याएर भोट माग्छ त्यसैलाई मेरो भोट हुन्छ,’ उनले भने, ‘गाउँतिर बाटोघाटो राम्रो हुनुप¥यो । मानिसका आधारभूत आवश्यकता सबै पाउनुप¥यो ।’ २१ औं शताब्दीमा आइपुग्दा पनि अब कुनै नेताको पछाडि लाग्नुभन्दा देश कसरी विकास गर्न सकिन्छ यतातिर सोच्नुपर्ने उनले बताए । ‘अखिर जुनसुकै पार्टीमा लागे पनि सबैको उद्देश्य त देश विकास गर्नु नै हो,’ उनले भने, ‘व्यक्तिगत विचारभन्दा माथि देशलाई राख्ने नेतालाई मेरो भोट हुन्छ ।’

Advertisement


समीक्षा, सन्देश र सुमन जस्तै नयाँनयाँ मतदाता अहिले निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम लेख्न गएका छन् । नागरिकता बनाउँदा प्रशासन कार्यालयबाट सिधैं निर्वाचन आयोगमा जानकारी जान्छ । र उमेर पुगेपछि मतदाता नामावलीमा नाम आउँछ । तर पहिल्यै नागरिकता बनाएका तर मतदाता नभएका थुप्रैजना पनि अहिले आयोगको पोखरा कार्यालयमा पुगेका छन् ।


नजिकिएको चुनावका कारण प्रदेश निर्वाचन कार्यालय, गण्डकी प्रदेश पोखरामा मतदाता नामवलीमा दर्ता गर्न आउनेको लर्को लाग्ने गरेको हो । नेपालमा संघीय शासन प्रणालीको व्यवस्था भएपछि यसअघि स्थानीय तहको पहिलो चरणको निर्वाचन २०७४ वैशाखमा भएको थियो । स्थानीय सरकार गठन भएको पनि ४ वर्ष पूरा भइसकेको छ । संविधान अनुसार ५ वर्षभित्रमा स्थानीय तहको चुनाव हुनुपर्ने हुन्छ । यसरी हेर्दा स्थानीय तहको चुनाव आउन अब केही महिनामात्रै बाँकी छ । चुनाव घोषणा हुनुअघिसम्म मतदातामा नाम लेखाउन सकिन्छ ।


निर्वाचन कार्यालय गण्डकी अचेल दैनिक ३ सयभन्दा बढी नयाँ मतदाता थपिने गरेको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जनाकारी दिए । ‘जिल्लामा मतदाता नामावली संकलन कार्य तीव्र पारिएको छ । यसका लागि विषेश कार्यक्रम नै सञ्चालन गरिएको छ,’ उनले भने । विशेष कार्यक्रम अन्तर्गत हालसम्म मंसिरयता कास्कीमा ६ हजार ७ सय २६ नयाँ मतदाता थपिएका पराजुलीले जानकारी दिए ।


२०७७ असारसम्म कास्कीमा २ लाख ६५ हजार ७ सय ३० जना मतदाता थिए । २०७४ सालमा भएको स्थानीय प्रदेश र संघीय निर्वाचनमा कास्कीमा २ लाख ५५ हजार ४ सय ५२ जना रहेकोमा अहिले मतदाता बढेको पराजुलीले बताए । स्थानीय प्रदेश र संघीय चुनाव नजिकिँदा मतदातामा नाम टिपाउनेको संख्या बढ्न थालेको पराजुली सुनाउँछन् । २०७४ सालदेखि ०७८ पुस १२ सम्म आइपुग्दा कास्कीमा २ लाख ७५ हजार ४ सय ४७ जना मतदाता पुगेको पराजुलीले बताए ।


प्रदेश निर्वाचन कार्यलय पोखराले विशेष कार्यक्रम नै सञ्चालन गरेर मतदाता नामावली बनाउन प्रेरित गरिरहेको छ । नामावली दर्ता गर्न आउनेहरुका लागि सहज वातावरण सिर्जना गरिरहेको छ । निर्वाचन कार्यालय कास्कीमा मतदाता नामवलीमा दर्ता गर्न आउनेहरु छुटेका र वैदेशिक रोजगारमा गएर फर्केका साथै बसाइसरेर गरेर आएका धेरै छन् । विशेष कार्यक्रम सञ्चालन अन्तर्गत मतदाता नामवली बढेको पराजुलीले बताए ।


पराजुलीका अनुसार मतदाता नामावलीमा नाम दर्ता गर्न फाराम लाने, फाराम भरेर मतदाता ल्याउने काम भइरहेको छ । निर्वाचन कार्यालयमै २ वटा डेक्स राखेर नामवली संकलन भइरहेको छ । मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि सक्कल नागरिकता, बसाइसराइको प्रमाणपत्र, विवाह दर्ता जस्ता आवश्यक कागजपत्र अनिर्वाय पर्छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया