राष्ट्रिय सभा निर्वाचनलाई गण्डकीबाट एमाले उम्मेदवार सिफारिस

समाधान संवाददाता २०७८ पुष १८ गते १४:०७

पोखरा ।
राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले उम्मेदवार छनोटका लागि सूची तयार पारेको छ । ३ जना उम्मेदवारका लागि प्रदेश कमिटीले ९ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि २० गते मनोनयन दर्ता गराउनुपर्नेछ । गण्डकीबाट ३ जना निर्वाचित हुनेछन् । नेपाली कांग्रेसले भने आइतबार टुंगो लगाउने भएको छ ।


कांग्रेस गण्डकी प्रदेश समितिको बैठक शनिबार पोखरामा बसेको थियो । समितिका महामन्त्री विष्णु लामिछानेले उम्मेदवारीका लागि जिल्लाबाट नाम मागिएको र आइतबार फेरि बैठक बसेर टुंगो लगाउने जानकारी दिए ।


आगामी माघ १२ मा हुन लागेको राष्ट्रियसभा सदस्यको चुनावका लागि गण्डकीबाट ३ ‘कलस्टर’ मा ९ जनाको नाम एमालेमा सिफारिस भएको हो । एमाले प्रदेशले दलिततर्फ बागलुङका गोविन्दबहादुर नेपाली, गोरखाका कृष्ण नेपाली र मनाङकी शान्तिमाया परियार सिफारिस भएकी छन् ।


महिला क्लस्टरका लागि कास्कीकी मीनाकुमारी गुरुङ, गोरखाकी सम्झना देवकोटा र नवलपुरी लीला थारु थन्नेत सिफारिस भएकी छन् । खुलाका लागि कास्कीका पुण्यप्रसाद पौडेल, बागलुङका लीलाबहादुर थापा र गोरखाका प्रेम गुरुङ सिफारिस भएका छन् ।


एमाले गण्डकी प्रदेश कमिटीका पदाधिकारीको बैठक १३ पुसमा बसेको थियो । उक्त बैठकले उम्मेदवार सिफारिस गर्न ११ वटै जिल्लाका वरिष्ठ नेताहरुको नाम इन्चार्ज र सहइन्चार्ज र दिने र उनीहरुले नै केन्द्रमा नाम सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसपछि इन्चार्ज, सहइन्चार्जहरुले ९ जनाको नाम टुंग्याएका हुन् । त्यो नाम १९ गते बस्ने प्रदेश कमिटीको सचिवालय बैठकले अनुमोदनसहित केन्द्रमा पठाउने छ । केन्द्रले ९ जनामध्येबाट ३ जनालाई राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार बनाउनेछ ।


संसदको उपल्लो सदन राष्ट्रिय सभामा निर्वाचितमध्ये ४ वर्षे पदावधि सकिनेमा गण्डकीका ३ जना सांसद पनि परेका छन् । गण्डकीबाट खिमबहादुर विक, दीनानाथ शर्मा र शान्तिकुमारी अधिकारी जिसीको पदावधि सकिँदै छ । खिमबहादुर विधायन समिति सदस्य छन् । विक र शर्मा माओवादी केन्द्र र अधिकारी नेकपा समाजवादीकी सांसद हुन् । उनीहरुको पदावधि सकिएकैले १२ माघमा चुनाव हुन लागेको हो ।
विसं २०७५ असार ४ गते भएको गोला प्रथाद्वारा ४ वर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको छ । कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रियसभा निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।


स्थायी सदन भएकाले राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि प्रत्येक २ वर्षमा सकिन्छ । ४ वर्षे पदावधि सकिनेमा ७ महिला, ३ दलित समुदाय, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकबाट २ र अन्य समुदायका ७ सदस्य छन् । माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुन्छ ।


राष्ट्रिय सभामा निर्वाचन र मनोनयबाट छनोट भएका ५९ जनाबीच गोलाप्रथा गरी २, ४ र ६ वर्ष कार्यकाल निर्धारण गरिएको थियो । पहिलो पटकका लागि त्यसो गरिएकोमा २ वर्ष कार्यकाल पूरा भएकाहरुको ठाउँमा अरु निर्वाचित भइसकेका छन् । यसपालि ४ वर्षे कार्यकाल पूरा भएकाहरुको पदावधि सकिएको हो । अब उनीहरुको सट्टा निर्वाचित हुनेहरुको कार्यकाल भने ६ वर्ष नै हुनेछ । २०७४ माघ तेस्रो साता भएको राष्ट्रिय सभा निर्वाचनमा गण्डकीबाट माओवादी केन्द्रका दीनानाथ शर्मा खुलातर्फ विजयी भएका थिए । सोही पार्टीका खिमबहादुर विक दलिततर्फ निर्वाचित भएका हुन् भने एमालेकी शान्ति अधिकारी महिला सदस्यमा निर्वाचित भएकी हुन् । खुलामै कांग्रेसका सुरेन्द्र पाण्डे र एमालेका गणेशप्रसाद तिमिल्सिना पनि विजयी भएका थिए । पाण्डेको कार्यकाल २ वर्ष परेको थियो । ६ वर्षे पदावधिका लागि गोलप्रथामा छनोट भएका तिमिल्सिना राष्ट्रिय सभा अध्यक्ष छन् ।


राष्ट्रियसभा चुनावका लागि प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । अधिकारीले पछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी छन् । त्यति बेला महिला सदस्यमै कांग्रेसकी विन्दादेवी आले र एमालेकी दीपा गुरुङ पनि निर्वाचित भएका थिए । गोलाप्रथा गर्दा दीपालाई ६ वर्षे कार्यकाल परेको थियो । उनको पदावधि अझै बाँकी छ । रानाले आफूलाई परेको २ वर्षे कार्यकाल पूरा गरेको नै झन्डै २ वर्ष भएको छ ।


विश्वका ७९ मुलुकमा द्विसदनात्मक व्यवस्थापिका छ । माथिल्लो सदनमा सदस्यता पूर्ण रुपले रिक्त नहुने, खास समयमा निश्चित प्रतिशत सदस्यको पदावधि समाप्त भए पनि पुनः निर्वाचित हुने हुनाले यसलाई स्थायी सदनका रुपमा लिने गरिन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय सभा प्रत्येक २ वर्षमा एक तिहाई सांसदको अवधि समाप्त हुने र पुनः सोही प्रक्रियाबाट सांसद चुनिने संवैधानिक व्यवस्था छ ।


राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । जस अनुसार देशभरका ७ सय ५३ स्थानीय तहबाट १ हजार ५ सय ६ र सात प्रदेशबाट ५ सय ५० प्रदेशसभा सदस्यले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न पाउँछन् । गण्डकी प्रदेशमा ६० प्रदेशसभा सदस्य छन् । एमाले २७, कांग्रेस १५, माओवादी १२, जसपा २, जनमोर्चा २ र स्वतन्त्र १ छन् ।


प्रदेशसभाका सदस्यको मतभार कायम गर्दा नेपालको कुल जनसंख्यालाई प्रदेशसभाका सदस्यको कुल संख्याले भाग गरिन्छ । यस आधारमा प्रदेशसभाका १ सदस्यको मतभार ४८ हुन्छ । ७ प्रदेशमा ५ सय ५० प्रदेश सांसद छन् । ७ सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख गरी १ हजार ५ सय ६ जना छन् । स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १८–१८ छ ।


निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावका निम्ति सम्बन्धित जिल्ला न्यायाधीशलाई तत्तत् जिल्लामा निर्वाचन अधिकृतमा नियुक्त गरिसकेको छ । माघ १२ गते हुने निर्वाचनका लागि गण्डकी प्रदेशको निर्वाचन अधिकृतमा कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराई नियुक्त भएका छन् ।


गण्डकी प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यका लागि पोखरामा चुनाव हुने यसअघि नै तय भइसकेको थियो । चुनावस्थल पोखरा भएको हुँदा आयोगले कास्की जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको हो । अरु प्रदेशमा पनि निर्वाचन केन्द्र भएकै जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ ।


५९ सदस्यीय राष्ट्रिय सभामा प्रदेश सभाका सदस्य, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा ३ महिला, १ दलित र १ अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित ८ गरी निर्वाचित ५६ जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा १ जना महिलासहित ३ सदस्य रहन्छन् ।

तपाईको प्रतिक्रिया