मनाङ एएफसी कपबाट बञ्चित

मच्छिन्द्रको एएफसी खेल्ने सपना पूरा

समाधान संवाददाता २०७८ पुष १८ गते २०:३१

पोखरा ।
जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आइतबार दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबलाई १–०ले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब एएफसी कपका लागि छनोट भएको छ । मच्छिन्द्रको जितसँगै मनाङ मस्र्याङ्दी क्लबको एएफसी कप खेल्ने सपना भने अधुरो रह्यो ।


मच्छिन्द्रलाई जित दिलाउन २१औं मिनेटमा विशाल राईले प्रहार गरेको फ्री किकलाई सुनील बलले हेडिङ गर्दै गोलमा परिणत गरे । गोल पश्चात निरन्तर आक्रामक खेलेको मच्छिन्द्रले थप अग्रता बढाउन सकेन । अन्त्यमा सुनीलले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।


एएफसी छनोटका लागि सम्पूर्ण खेल खेल्न पर्ने भएता पनि समय अभावका कारण ७ औं चरणको खेलसम्म शीर्ष स्थानमा रहने टोली एएफसी छनोटका लागि उपयुक्त हुने सहमति जुटेको थियो । हाल ७ औं चरणको खेल सकिँदासम्म मच्छिन्द्र ५ जित र २ बराबरीका साथ १७ अंक जोड्दै लिगको शीर्ष स्थानमा छ । मनाङ ५ जित १ बराबरी र १ हारका साथ १६ अंक जोड्दै दोस्रो स्थानमा छ । जारी लिगमा हालसम्म १ खेलमात्र जितेको नेपाल पुलिस क्लब ३ हार र ३ बराबरीका साथ ६ अंक जोड्दै ११औं स्थानमा छ । दुई वर्षअघि पहिलोपटक लिग जितेको मच्छिन्द्रले एएफसी क्लब लाइसेन्स नपाएका कारण एएफसी कप खेल्न बञ्चित भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया