एमाले कास्की अध्यक्षमा ५ आंकाक्षी, मुख्य प्रतिस्पर्धा गुरुङ र बैरागीबीच

सञ्जय रानाभाट
पोखरा ।
नेकपा (एमाले) जिल्ला १० औं जिल्ला अधिवेशन सम्मुख आइपुग्दा नेतृत्व लिन ५ आंकाक्षी देखिएका छन् । तर मुख्य प्रतिस्पर्धा कार्यबाहक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर बैरागीबीच छ ।
पार्टीको १० औं राष्ट्रिय महाधिवेशनबाट जिल्ला अध्यक्ष कृष्ण थापा केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि उपाध्यक्ष मनबहादुर गुरुङले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।
महाधिवेशनपछि छोटो समयमात्रै जिल्ला पार्टीको नेतृत्व गर्न पाएका गुरुङ अध्यक्षको मुख्य दाबेदारमध्येका हुन् । उनले कार्यकर्ता माझ आफूलाई सोही बमोजिम प्रस्तुत गर्दै भोट माग्न थालिसकेका छन् ।
अहिलेको कार्यसमितिका सचिव दामोदर बैरागी अर्का प्रमुख दाबेदार हुन् । सुकुम्बासी आयोग कास्कीका अध्यक्षसमेत भएका बैरागीले पनि पार्टीका नेता र कार्यकर्ताबीचमा आफूलाई अध्यक्षकै रुपमा प्रस्तुत गर्दै सहयोगका लागि आग्रह गरिरहेका छन् ।
उनीहरुबाहेक अध्यक्षमा अरु ३ जना दीपक पौडेल, बैनबहादुर क्षेत्री र जगन्नाथ बाँस्तोलाले आकांक्षा व्यक्त गरेका छन् । यसअघि एमालेले सबै पालिका र वडा कमिटीहरु सबैमा सर्वसम्मत नेतृत्व टुंगाएको थियो । जिल्ला कमिटीमा पनि सर्वसम्मत गर्ने नेताहरुको प्रयास छ । सर्वसम्मत नेतृत्व चयन गर्ने भए पनि अध्यक्षमा गुरुङ र बैरागीमध्ये १ जनाकै सम्भावना रहेको एमालेका १ केन्द्रीय सदस्यले समाधानलाई बताए ।
कार्यवहाक अध्यक्ष गुरुङका अनुसार लोकतान्त्रिक ढंगबाट विधिसम्मत अधिवेशन हुने छ । ‘म स्वाभाविक रुपमा अध्यक्षको दाबेदार हो । तर, पनि नेता कमरेडहरुसँग सरसल्लाह गरेर अगाडि बढ्छु,’ उनले भने, ‘अधिवेशनले नेता, कार्यकर्तालाई सबैको व्यवस्थापन गर्ने छ ।’ पार्टीको महाधिवेशमा धेरै पदमा सर्वसम्मत भएकाले जिल्ला अधिवेशनबाट सर्वसम्मत छनोट हुने उनले बताए । ‘सर्वसम्मत हुन नसके प्रजातान्त्रिक हिसाबले हाँसेर खुसी साथ निर्वाचन हुन्छ,’ उनले भने ।
जिल्ला कमिटी कास्कीका सचिव बैरागीले सकभर सर्वसम्मत विधिबाट नेतृत्व चयन हुने बताए । ‘निर्वाचनमा जाने वा सर्वसम्मत गर्ने भन्ने विषय टुंगो लागेको छैन,’ उनले भने, ‘निर्वाचनमा भएपनि नभए पनि अध्यक्षमा स्वाभाविक रुपमा मेरो दाबेदारी हुन्छ ।’ उनले अधिवेशन व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरेर काम भइरहेको जानकारी दिए ।
एमाले कास्कीमा १७ हजार ७ सय ३७ पार्टी सदस्य छन् । अधिवेशनका लागि पोखरा महानगरपालिका र सबै गाउँपालिका कमिटी ७२ वडाबाट आइतबार प्रतिनिधि छनोट भएका छन् । भौगोलिक क्षेत्रका अलवा कास्कीको बुद्धिजीवी, विद्यार्थी तथा मजदुर विशेष इलाकाबाट खुला, महिला, उत्पीडित क्षेत्रबाट अधिवेशन प्रतिनिधि छनोटसँगै अधिवेशनको माहौल बढेको छ । जिल्ला कमिटी कास्कीको ४० औं पूर्ण बैठकले तोकेको मापदण्ड अनुसार कास्कीका २१ जनसंगठनले कम्तीमा १ महिला सदस्यसहित २ जनाको दरले प्रतिनिधि छनोट गरेका छन् ।
कार्यवहाक अध्यक्ष गुरुङले निर्वाचित जनप्रतिनिधि तथा कार्यकर्ताको हिसाबले कास्कीमा एमाले सबैभन्दा ठूलो पार्टी भएको दाबी गरे । ‘अहिलेसम्म भएको एमालेका अधिवेशन सबै पाटीले अनुशरण गर्ने खालका छन्,’ कार्यवहाक अध्यक्ष गुरुङले भने, ‘जिल्ला अधिवेशनलाई समेत मर्यादित र व्यवस्थित बनाएर सकारात्मक सन्देश दिने खालको बनाउने छौं ।’
उनले नेकपा एमालेको कार्यकता सभ्य र शिष्ट भएकाले अधिवेशन पनि सोही खालको हुने बताए । ‘कास्की तथा पर्यटकीय नगरी पोखराको समग्र विकास र समृद्धिका लागि पार्टी खेल्ने भूमिका अधिवेशनले मार्गदर्शन गर्ने छ,’ उनले भने, ‘पार्टीको नेतृत्वमा कास्कीलाई देशकै अब्बल र नमुना जिल्ला बनाइने छ ।’
अध्यक्षका प्रत्यासी दीपक पौडेलले अनुभवको हिसाबले स्वाभाविक रुपमा अध्यक्ष आफू हुनुपर्ने दाबी गरे । ‘पोखरा महानगर संगठन कमिटीको अध्यक्षदेखि लामो समयसम्म जिल्ला कमिटीको सचिवालयमा काम गरेको हिसाबलले हेर्दा म अध्यक्षका लागि योग्य छु,’ उनले भने, ‘एमालेलाई एकजुट र बलियो बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने योजना सहित काम गर्ने छु ।’
जिल्ला कमिटी कास्कीका सचिवलाय सदस्य जगन्नाथ बास्तोलाले अधिवेशन सहमतिकै आधारमा नेतृत्व छनोट हुनुपर्ने मान्यता अगाडि सारे । ‘हामी सकेसम्म सहमतिमै जान्छौं । कास्कीलाई एमालेको लाल किल्ला कायम गर्छौं,’ उनले भने, ‘मैले माछापुच्छे« गाउँपालिका कमिटीको अध्यक्षदेखि जिल्ला कमिटीको सचिवालयमा बसेर काम गरिसकेको छु । यस कारण म अध्यक्षको दाबेदार बनेको छु ।’ उनले कास्कीको नेतृत्व पाएको खण्डमा छुट्टिएर गएका साथीहरुलाई फेरि एकसाथ ल्याउन समन्वयकारी भूमिका खेल्ने जानकारी दिए ।
जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले सहमतिमै नेतृत्व चयन गर्ने पार्टीको स्पिरिट भएको बताए । ‘सबैको सहमतिमा सर्वसम्मत नेतृत्व छनोट भए अध्यक्षको दाबी छोड्न तयार छु,’ उनले भने, ‘सर्वसम्मत नेतृत्व छनोट गर्ने क्रममा अर्को व्यक्ति सिफारिस भएको खण्डमा अध्यक्ष छोडेर सचिवमा उठ्छु ।’ उनले सर्वसम्मत नभएर चुनाव भए अध्यक्षमा लड्ने तयारी गरेको बताए ।
जिल्ला कमिटी कास्कीको कार्यालय सचिव भएर पनि काम गरेको अनुभव भएकाले जिल्ला कमिटी हाँक्न सक्ने उनले बताए । ‘पाटीको काम तथा जनप्रतिनिधिको हिसाबले मैले धेरै कार्यकर्ता शुभचिन्तकहरुको मन जितेको छु,’ उनले भने, ‘मेरो दाबीको सम्बन्धमा सबै नेता तथा कार्यकर्ताबाट सकारात्मक प्रतिक्रिया पाएको छु । मैले कसैलाई फुरुंग पार्ने र कसैलाई चिढाउने मेरो स्वभाव छैन ।’ उनले सबै क्षेत्रमा समन्वय कारी भूमिका खेल्ने योजना सुनाए ।
देशभर एमाले जिल्ला अधिवेशन २२÷२३ गते हुँदैछ । पोखराको सभागृहमा कास्की अधिवेशनको उद्घाटन हुने कार्यक्रम छ । ‘अहिलेको अवस्था चुनौतीपूर्ण पनि छ । हामी सबै धेरै विवाद गर्ने अवस्था छैन,’ क्षेत्रीले भने, ‘सत्तागठबन्धनले हामीमाथि नै ठुलो प्रहार गरिरहेको छ । यस कारण हामीहरु मिलेर जानेबाहेकको अर्को विकल्प छैन ।’
एमालेको निर्वाचित जिल्ला कमिटीको कार्यकाल ३ वर्ष हुन्छ । पार्टीको विधान अनुसार सबै जिल्लामा पदाधिकारी ५ जना हुने व्यवस्था छ । जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव हुने व्यवस्था छ । पदाधिकारीमा १ महिला अनिवार्य हुने व्यवस्था छ । जिल्ला कमिटीमा महिलाको ३३ प्रतिशतको सहभागिता सुनिश्चित हुने छ ।
अध्यक्षमा ५ जनाले आकांक्षा जाहेर गरेको अवस्थामा सचिवमा ६ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । एमालेको १० औं जिल्ला अधिवेशनमा वर्तमान उपसचिव तथा गण्डकी प्रदेश सभाका सदस्य प्रभा कोइराला, बैनबहादुर अधिकारी क्षत्रीको अलवा जिल्ला सचिवालय सदस्य तेजनारायण अधिकारी, दर्शन लामा, सिम गुरुङ, झपट रानाभाटले सचिवमा दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया