गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा ३ जनाको उम्मेदवारी दर्ता

सञ्जय रानाभाट २०७८ पुष २० गते १५:४७

सञ्जय रानाभाट । पोखरा


राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेससहित सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । माओवादीका भुवन सुनार र सुरेश आलेमगरसहित कांग्रेस नेतृ कमला पन्तले मंगलबार अपराह्न मनोनयन दर्ता गराए । महिला क्लस्टरमा पन्त, दलितमा सुनार र खुलामा आलेमगरको उम्मेदवारी परेको हो । उनीहरु कांग्रेस र माओवादी नेताहरुको टोलीसहित उम्मेदवारी दर्ताका लागि अपराह्न निर्वाचन अधिकृतको कार्यालय पोखरा आइपुगेका हुन् ।


गण्डकीबाट ३ जना निर्वाचित हुनेमा माओवादीबाट २ र कांग्रेसले १ जनालाई उम्मेदवार बनाउने सहमति सत्ता गठबन्धनबीच भएको छ । मंगलबार नै एमालेका उम्मेदवारहरु पुण्यप्रसाद पौडेल, अर्जुन सुनाम र लीला थनेतले क्रमशः खुला, दलित र महिला क्लस्टरबाट उम्मेदवारी दर्ता गराए ।

Advertisement


यसअघि गण्डकीबाट निर्वाचित माओवादीका दिननाथ शर्मा र खिमबहादुर विक तथा नेकपा एसकी शान्तिकुमारी अधिकारीको राष्ट्रिय सभाको सदस्यको पदावधि सकिँदैछ । उनीहरुसहित १९ जनाको पदावधि सकिँदैछ ।


राष्ट्रियसभा चुनावका लागि प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता हुन्छन् । गण्डकी प्रदेशमा ६० प्रदेशसभा सदस्य छन् । एमाले २७, कांग्रेस १५, माओवादी १२, जसपा २, जनमोर्चा २ र स्वतन्त्र १ छन् । सत्तारुढ दलको भागबन्डामा नेकपा एसलाई गण्डकीमा उम्मेदवार परेको छैन । राष्ट्रिय सभाको निर्वाचन आउँदो माघ १२ गते हुँदैछ । गण्डकीमा नेकपा एसका प्रदेश सांसद छैनन् । गाउँपालिकामा पनि एकजनामात्रै उपाध्यक्ष एसमा छिन् ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया