१ महिनापछि मणिपालको ताला खुल्यो

विद्यार्थीसँग असुलेको अतिरिक्त शुल्क फिर्ता गर्न सम्झौता

सञ्जय रानाभाट २०७८ पुष २१ गते २०:०१

पोखरा ।
विद्यार्थीसँग बढी शुल्क लिएको भन्दै अनेरास्ववियुले मणिपाल मेडिकल कलेजमा १ महिनाअघि लगाएको ताला बुधबार खुलेको छ । चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न कलेज सहमत भएपछि अनेरास्ववियुले प्रशासनमा लगाएको ताला खोलिदिएको हो ।


मनिपालले विद्यार्थीसँग ६ लाख रुपैयाँ नियमभन्दा बढी शुल्क असुलेको भन्दै एमालेको भातृसंस्था अनेरास्ववियुको गण्डकी प्रदेश कमिटीले तालाबन्दीसहित आन्दोलन गर्दै आएको थियो । विद्यार्थीबाट बढी असुलिएको रकम अर्काे वर्ष उनीहरुले तिर्नुपर्ने शुल्कमा समायोजन गर्ने गरी कलेजले बुधबार अनेरास्ववियुसँग सम्झौता गरेको अनेरास्ववियु गण्डकीका सचिव आरके पोखरेलले जानकारी दिए ।

Advertisement


विद्यार्थीहरुसँग आयोगले तोकेभन्दा बढी कुनै पनि अतिरिक्त शुल्क नलिने भएपछि १ महिना लामो आन्दोलन स्थगित भएको अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले बताए ।


कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, पोखरा १६ का वडा सदस्य राजेश गुरुङ र मनिपाल २०२०÷२१ रितेशकुमार यादव र अनिल महतोको रोहबरमा बुधबार मणिपाल कलेजले अनेरास्ववियुसँग सम्झौता गरेको छ । सम्झौतामा अनेरास्ववियु गण्डकी संयोजक प्रकाश पौडेल र कलेजका प्रशासन प्रमुख भानु भारद्वाज, भर्ना निर्देशक गौरव यादव नेसनल मेडिकल एसोसियसन गण्डकीका उपाध्यक्ष अनिल सिन्हाले ५ बँुदे सम्झैतापत्रमा हस्ताक्षर गरेका छन् ।

Advertisement


‘आगामी दिनमा मणिपाल कलेज र स्थानीय समुदायसँग सहकार्य र हार्दिकतासहित आवश्यक समन्वय गरी अगाडि बढ्ने सम्झौता भयो । अनेरास्ववियुले लगाएको ताला ताल्चा खुल्यो,’ पौडेलले भने । ‘यो लुटको संज्ञा देशभर फैलिएको छ । यो लुटको जरो उखेलेर फाल्ने छौं । लुटको जरा फ्याँकिएको छ,’ सम्झौतापछि उनले भने, ‘हामी मणिपालबाट निस्कदै छौैं । तर हामीले अनेरास्ववियुको झण्डालाई गाडेर निस्केका छौं ।’ आगामी दिनहरुमा विद्यार्थी अन्याय भए । अन्याय महसुस भए । अनेरास्ववियुतर्फ फर्केर आउने उनले बताए ।


कानुन विपरीत शुल्क लिएको हुँदा फिर्ता गर्न मनिपाललाई पत्राचार गर्दासमेत बेवास्ता गरेको भन्दै अनेरास्ववियु गण्डकी प्रदेशले मंसिर २० गतेदेखि कलेज प्रशासनमा तालाबन्दी गरेको थियो । चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रको स्नातकका लागि काठमाडौं उपत्यकाभित्र ४० लाख र उपत्यका बाहिर ४४ लाख रुपैयाँ शुल्क तोकेको छ । तर मनिपाल कलेजले प्रतिविद्यार्थी ६ लाख रुपैयाँ बढी लिएको पुष्टि भएको थियो । विद्यार्थीले पहिलो किस्ताबापतको शिक्षण शुल्क कलेजको खातामा जम्मा गरिसकेका थिए । तर कलेजले अरु बहाना बनाएर विद्यार्थीसँग ६ लाख रुपैयाँका दरले असुली गरेको थियो ।


मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा पास भएर विश्वविद्यालयमै भर्ना भएर पढ्न गएका विद्यार्थीसँग पनि अतिरिक्त शुल्क मागेको अभिभावकले गुनासो थियो । मणिपालले कलेजले विभिन्न शीर्षकमा शुल्क उठाएको विद्यार्थीहरुको गुनासो थियो । एक विद्यार्थीका अनुसार चिकित्सा आयोगले निश्चित शीर्षकमा मात्र शुल्क लिनु भने पनि मणिपालले मनलाग्दी शुल्क लिएको थियो । केयुअन्तर्गत चिकित्सा पढाइ भइरहेको मणिपाल शिक्षण अस्पतालले विद्यार्थीहरुलाई आन्दोलन नगर्न, गरे पढाइ छाडेर जान धम्की दिइरहेको विद्यार्थीहरुले गुनासो गरेका थिए ।


केयू अन्तर्गतका देशभरका सबै मेडिकल कलेजले बढी शुल्क लिएपनि विरोधपछि पछि हटेका छन् । मणिपालमा यसबर्षभन्दा अघि समूहमा बस्न पाइने साथै छात्राबास अनिवार्य नभएको तर, यसवर्ष भने अनिर्वाय व्यवस्था भएको भन्दा विरोधमा उत्रिएका थिए । व्यवस्था भएपनि यस वर्षभने नर्सिङ पढ्ने विद्यार्थी कलेलमा नआएपछि अनिवार्य छात्रावासको व्यवस्था गरिएको उनीहरुले गुनासो गरेका थिए । विद्यार्थीहरुले अनावश्यक रुपमा डेढ लाख देखि २ लाख ५० हजारसम्म अनावश्यक शुल्क बुझाउनुपरेको बताएका थिए ।


विद्यार्थीले पहिलो किस्ताबापतको १३ लाख ४१ हजार ८३ रुपैयाँ काठमाडौं विश्वविद्यालयको खातामा जम्मा गरिसकेका थिए । जसमा होस्टल फर्निसिङ शीर्षकमा २० हजार, होस्टलबापत १ लाख ३८ हजार, मेस शुल्क १ लाख ५० हजार, मणिपालले खेलकुद, सूचना प्रविधि शीर्षकमा २० हजार, डकुमेन्टेसन शुल्क २ हजार, धरौटीबापत २ लाख ३०, काठमाडौं विश्वविद्यालय रजिस्ट्रेसनबापत २५ हजार, नेपाल मेडिकल काउन्सिल शुल्क ५ हजार, इन्स्योरेन्स र मेडिकेयर शीर्षकमा ६५ हजार शुल्क लिएको छ । त्यसबाहेक परीक्षा शुल्क भनेर छुट्टै मागिएको छ ।

होस्टल र खानाबाहेक पैसा नलाग्ने, होस्टल बस्न पनि अनिवार्य नभएको भनिए पनि विभिन्न शीर्षकमा पैसा मागिएको विद्यार्थीले बताएका थिए । विद्यार्थीसँग सेक्युरिटी डिपोजिट पनि मागिएको उनीहरुको गुनासो थियो । होस्टेलमै रुम सेयर बस्न नदिएको उनीहरुको गुनासो थियो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया