२३ गतेदेखि प्रदेश स्तरीय आर्चरी प्रतियोगिता

प्रदेशको खेल लक्ष्य ओलम्पिक

अभिषेक अधिकारी २०७८ पुष २१ गते २१:०७

अभिषेक अधिकारी । पोखरा ।

कास्की जिल्ला आर्चरी संघले पोखरामा प्रथम प्रदेश स्तरीय खुला आर्चरी प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता पुस २३ र २४ गते हुनेछ । प्रतियोगिता ३० मिटर दुरी अन्तर्गतका खेलमात्र हुने संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए ।


संघका उपाध्यक्ष वसन्त गौचनले मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ र कास्कीका ७५ जना नयाँ आर्चरी खेलाडीहरु सहभागी रहने जानकारी दिए । ‘प्रदेशभर फैलिएर रहेका खेलाडीलाई आधुनिक आर्चरीमा खेलाउन सहर ल्याउँदै छौं । राष्ट्रिय खेलकुदमा पाँचौं संस्करणदेखि समावेश आर्चरीमा लगातार ८ औं चरणसम्म हामीले उपाधि जितेका छौं, बर्चस्वलाई कायम गर्न प्रतियोगिता फलदायी हुनेछ,’ अध्यक्ष शेरचनले भने ।

Advertisement


८ औं राष्ट्रिय खेलकुदमा गणडकी प्रदेशले आर्चरीमा स्वर्ण ५, रजत ४ र कास्य ३ गरी सर्वाधिक १२ पदक जितेको थियो । आयोजकले खेलाडीहरुलाई उमेर हदबन्दी तोकेको छैन तर आधुनिक आर्चरीका नयाँ खेलाडीहरुले मात्र भाग लिनेछन् । उपाध्यक्ष वसन्त गौचनले उत्कृष्ट १० खेलाडीलाई ९ औं राष्ट्रिय खेलकुदका लागि संघले विशेष प्रशिक्षण दिने बताए ।


प्रतियोगिता विश्व आर्चरी संघको नियम अनुसार खेलाइने भएको छ । विजेताले २५ हजार, उपविजेताले २० हजार, तेस्रोले १५ हजार र चौथोले १० हजार नगद, मेडल पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको नम्बर एक र्‍याङ्किङ खेलाडीले ५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजन नेपाल इन्भेस्टमेन्ट बैंकले गरेको छ ।

Advertisement


परम्परागत रुपमा थकाली, मगर, गरुङ र अन्य जातिहरुबीच आर्चरी धनुष वाण/तारा खेलले नामले परिचित छ । २०४० सालमा पहिलोपटक आधुनिक आर्चरी भिœयाएका किशोरकुमार गुरुङ प्रतियोगिताका निर्देशक छन् । आर्चरीका खेलाडीहरुलाई तालिम दिरहेका गुरुङले सम्पूर्ण दर्शकहरुलाई मंगलबार र बुधबार पोखरा रंगशालामा रहेको आर्चरी ग्राउन्डमा आई दर्शकहरुलाई खेल हेरिदिन अनुरोध गरेका छन् ।

आर्चरी खेल सिक्न इच्छुक व्यक्तिलाई संघमा सम्पर्क गरी निशुल्क तलिम र आधारभूत उपकरणसमेत संघले नै उपलब्ध गराउने गुरुङले बताएका छन् । गुरुङले ओलम्पिकलाई समेत लक्ष्य गरेर यो प्रतियोगिता गर्न लागिएको बताए । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गर्नेछन् ।

तपाईको प्रतिक्रिया