पात्ले तमु समाजले मनायो ल्होछार
पात्ले गाउँको चिनारी गीतको भिडिओ विमोचन

पोखरा ।
पोखरा महानगर पालिकाको वडा नम्बर २८ मा पर्ने माझठाना पात्ले गाउँका गुरुङ समुदायको समाज पात्ले तमु समाजले तो ल्होछार मनाएको छ । पोखरा १० मा शनिबार विभिन्न साँंस्कृतिक कार्यक्रमका साथ समाजले ल्होछार मनाएको हो ।
त्यस अवसरमा समाजका आफन्त, चेलीबेटी र इष्टमित्र तथा दाजुभाइ दिदीबहिनीहरुको भेला भएको थियो । पात्ले गाउँको पर्यटकीय प्रवर्धन गर्ने उद्देश्यले निर्मित चिनारी गीत पनि सोही अवसरमा विमोचन गरियो । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले पात्ले गाउँको चिनारी गीतको भिडिओ विमोचन गरे ।
उक्त गीत समाजका सचिव खिमबहादुर गुरुङले लेखेका हुन् । भिडिओको गीतको कोरियोग्राफी पवित्रा गुरुङले गरेकी हुन् । माओत्से फिल्म प्रोडक्सनबाट निर्मित भिडिओको निर्देशन ओम गुरुङले गरेका हुन् । राजु गुरुङ र तारा श्रीस मगरको स्वर रहेको गीतको भिडिओ प्रकाश गुरुङले छायांकन गरेका हुन् । प्रोडक्सन कन्ट्रोल बिबी गुरुङले गरेका थिए । गीतमा गाउँका स्थानीयसहित पवित्रा गुरुङ, बुद्ध गुरुङ, विशाल गुरुङ, सुविना गुरुङ लगायतले नृत्य गरेका छन् । उनीहरु सबैलाई शनिबारको कार्यक्रममा सम्मान गरिएको थियो ।
ल्होछारको अवसरमा बुद्ध, विशाल, सुविना र प्रतीक्षा गुरुङ लगायतले नृत्य प्रस्तुत गरेका थिए । भिडिओमा योगदान पुर्याएको टिमका सबैजना र कलाकार माओत्से गुरुङलाई पनि सम्मान गरियो ।
मन्त्री राजीव गुरुङले पात्ले तमु समाजका सल्लाहकार तथा मणि युवा क्लबका संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङ, समाजसेवी नरबहादुर गुरुङ, वयोवृद्धा चिजा गुरुङ र चिजकुमारी गुरुङ, समाजका सचिव तथा समाजसेवी खिमबहादुर गुरुङलाई सम्मानपत्रसहित सम्मान गरे ।
कार्यक्रममा कलाकारहरु खिमा गुरुङ, सुविना गुरुङ, प्रतीक्षा गुरुङ, विशाल गुरुङ, बुद्ध गुरुङ र रश्मि गुरुङलाई समाजसेवी नरबहादुर गुरुङ र समाजका अध्यक्ष मनबहादुर गुरुङले सम्मान गरे । समाजका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको माझठाना पोखरा सम्पर्क समाजका अध्यक्ष दयाराम तिवारीले गाउँको पर्यटकीय सम्भावना अत्यधिक भएको हुँदा त्यसलाई प्रवद्र्धन गर्नुपर्ने बताए । पत्रकार सुरेश रानाभाट गीतमाथि समालोचना राखे ।
माझठानाका स्थानीयसमेत रहेका पत्रकार केशवशरण लामिछानले बेलायती राजकुमार चाल्र्सले पदयात्रा गरेपछि रोयल ट्रेकका रुपमा चिनिएको पदमार्गमा पर्ने पात्ले गाउँको पर्यटन प्रवद्र्धन गर्न गाउँको चिनारी गीत बनाउनु प्रशंसनीय रहेको उल्लेख गरे । कार्यक्रममा पत्रकारहरु बासुदेव मिश्र र सुरेश रानाभाटलाई मायाको चिनो प्रदान गरियो । कार्यक्रमको सञ्चालक चित्रकारसमेत रहेका पात्लेका ऋक गुरुङले गरेका थिए । ऋक पोखरा महानगरपालिकाको लोगो बनाएका कलाकार हुन् ।

तपाईको प्रतिक्रिया