सुजन आर्चरी च्याम्पियन

समाधान संवाददाता २०७८ पुष २५ गते १२:३४

निलोब लामिछाने

Advertisement

पोखरा, २४ पुस
म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिताको च्याम्पियन बनेका छन् । उनी म्याग्दीकै उमेश तिलिजालाई फाइनल सेट प्वाइन्ट ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् ।


उनले नगद २५ हजार पुरस्कार प्राप्त गर्दा उमेशले भने नगद २० हजारमा चित्त बुझाए । पुन पहिलो दिनको ¥याङकिङ राउन्डमा २७७ अंक हान्दै नकाउट चरण प्रवेश गरेका थिए । नकाउट चरणमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै अन्ततः च्याम्पियन बन्न सफल भए ।

Advertisement


कास्की जिल्ला आर्चरी संघको आयोजना तथा नेपाल इन्भेस्टमेन्ट बैंकको मुख्य प्रायोजनमा आयोजित स्टान्डर्ड–३० मिटर प्रतियोगिताको पोखरा रंगशालास्थित आर्चरी मैदानमा शनिबार भएको फाइनलमा तेस्रो स्थानमा भने म्याग्दीका राजु खोर्जा पुले कास्कीका पूर्ण गौचनलाई ७–१ को सेट प्वाइन्टले पराजित गर्दै नगद १५ हजार पुरस्कार थाप्दा गौचन भने चौथो स्थानमा रहँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे ।


६० वर्षमाथिको भेट्रान्सतर्फको प्रतिस्पर्धामा मार्फा थकाली समाजका हिरामान लालचनले २३३ अंक जोड्दै प्रथम भए । तीन गाँउले थकाली समाजका बुद्धि थकाली २२५ अंकसहित दोस्रो स्थानमा रहँदा मनाङ समाजका छोर्तेन गुरुङ २२३ अंकसहित तृतीय भए । भेट्रान्स तर्फको प्रतिस्पर्धामा ७ जना खेलाडीले निशाना लगाएका थिए ।


नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्ष्य गर्दै आयोजित प्रतियोगितामा ४ सेमिफाइनलिस्टसँगै अन्य १२ जना गरी १६ जनालाई बन्द प्रशिक्षणमा राखिने कास्की जिल्ला आर्चरी संघले अध्यक्ष योगन्द्र शेरचनले बताए । प्रतियोगिताका संयोजक एवं संघका उपाध्यक्ष बसन्त गौचन(साकुरा)का अनुसार श्याम गुरुङ, प्रदीप पुर्जा, सुविन्द्र गौचन, चोचाङ फगामी, रविन थापा, निशान तुलाचन, प्रकाश घर्ती, उदयकुमार बुढाथोकी, महेश पुर्जा, अम्रिस पुन, भुपेन्द्र घर्ती र दुर्गा घर्तीलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक छनोट गरिएको छ । उनले उनीहरुबाट स्टान्डर्ड ३० मिटरको प्रतिस्पर्धामा ४ जना खेलाडी छनोट गरिने जानकारी दिए ।


प्रतियोगितामा कास्की, बाग्लुङ, पर्वत,म्याग्दी, मुस्ताङ र मनाङका गरी ६९ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विजेता खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, नेपाल आर्चरी संघका उपाध्यक्ष वसन्त थकाली, अन्नपूर्ण आर्चरी क्लबका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन लगायतले नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरे ।

तपाईको प्रतिक्रिया