होम ग्राउन्डमा मनाङको ह्याट्रिक

अभिषेक अधिकारी २०७८ पुष २५ गते १२:५१

अभिषेक अधिकारी
पोखरा ।
जारी ए डिभिजन लिग अन्तर्गत आफ्नो होम ग्राउन्ड पोखरामा आयोजित ८ औं चरणको खेलमा मनाङ मस्र्याङदी क्लबले च्यासल युथ क्लबलाई ५–० को गोलले पराजित गरेको छ । मनाङको जितमा अफिज ओलावालेले ह्याट्रिक गरे ।


मनाङलाई अग्रता दिलाउन खेलको ३ मिनेटमा नै ओलावालेको पासलाई सदुपयोग गर्दै अलुवावुनमी सोमिडेले गोल गरे । दोस्रो गोलका लागि डिबक्स नजिकै पाएको फ्रिकिक सदुपयोग गर्दै विश्व अधिकारीले गरेको प्रहारलाई ओलावालेले हेडिङ गर्दै गोलमा परिणत गरे । ८६ औं मिनेटमा रुपेश केसीको कर्नरलाई डिफेन्डर दिनेश राजवंशीले हेडिङ गर्दै अग्रता तेब्बर पारे ।

खेलमा ३–० ले पछि परे पनि लगातार अन्तिम समयसम्म आक्रामक खेलेको च्यासल खेलको अतिरिक्त समयमा थप २ गोल व्यहोर्न पुग्यो । ओलावालेले अतिरिक्त समयको ४ र ५ औं मिनेटमा गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । खेलमा उत्कृष्ट खेलाडीको पुरस्कार मनाङका अलुवालाले प्रप्त गरेका छन् भने इमर्जिङ प्लेयरको उपाधि च्यासलका १९ वर्षीय खेलाडी आशीष राई घोषित भाए ।

Advertisement


मनाङ जितसँगै कुल ८ खेलमा ६ जित, १ बराबरी र १ हारका साथ १९ अंकसहित लिगको दोस्रो स्थानमा छ । समान ८ खेल खेलेको च्यासल मात्र १ जित, २ बराबरी र ५ हारका साथ ५ अंकसहित लिगको १३ औं स्थानमा छ । च्यासलमाथिको जितसँगै मनाङले होम ग्राउन्डमा लगातार ३ खेल जितेको छ ।


च्यासलका प्रशिक्षकको रेफ्रीमाथि आक्रोश
च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले खेलको ७० औं मिनेटमा रातो कार्ड खाँदै स्टेडियम छाड्नु प¥यो । मनाङका डिफेन्डरले सामना गर्ने क्रममा कप्तान विराज महर्जनलाई डिबक्स नजिक लडाए पनि रेफ्रीले प्लेअनको इशारा गर्दै खेल रोकेनन् । रेफ्रीले फ्रिकिको मौका नदिएपछि साहुखल आक्रोशित बने । आवेगमा उनी खेलमैदानको लाइन क्रस अघि बढे । उनलाई चेतावनी स्वरुप पहेलो कार्ड दिइयो ।

Advertisement


हाफटाइमअघि नै २–० ले पछि परेको च्यासल पहेलो कार्डसँगै थप आक्रामक देखियो । ७२ औं मिनेटमा रुमेश बर्तैलालाई फेरि मनाङका ओलावाले लडाएपछि प्रशिक्षक साहुखल उत्तेजित बने । उनलाई सम्हाल्न च्यासलका अफिसियललाई निकै सकस परेको थियो । लगातार दोस्रो पटक आक्रोशित बनेपछि रोफ्रीले उनलाई रातो कार्ड देखाए ।


रिसले थामिन नसकेका साहुखल चिच्याउन थाले । उनलाई च्यासलका कप्तान विराज मर्हजनले सम्हाल्दै स्टेडियम बाहिर जान अनुरोध गरे । रेफ्री र कोचको विवादका दौरान दर्शकसमेत चिच्याउन थाले । बाजागाजासहित पोखरा रंगशाला आएका मनाङका फ्यानले समेत च्यासलको आत्मबल बढाउन हुटिङ गरे । फ्यानको हुटिङपश्चात च्यासलका फरवार्ड विकास मोराग्लियाले हुटिङ गर्ने दर्शकलाई सपोर्ट गरिरहन इशारा गरे । कोच र रोफ्र निकै तनावमा भए पनि खेलाडीहरु भने संयमित देखिए ।

तपाईको प्रतिक्रिया