एमाले कास्कीको नेतृत्व चयन आज

समाधान संवाददाता २०७८ पुष २५ गते १२:५५

पोखरा ।
नेकपा (एमाले)कास्कीको १० औं जिल्ला अधिवेशनअन्तर्गत आइतबार नेतृत्व चयन हुने भएको छ । शनिबार दिनभर भएको बन्दसत्रमा कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङको राजनीतिक प्रतिवेदन, सचिव दामोदर बैरागीले पेश गरेको संगठनात्मक प्रतिवेदन र आर्थिक विभाग प्रमुख आरपी शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन उपर विभिन्न ८ समूहले सुझाव पेश गरेका छन् ।

Advertisement


कास्कीका सबै पालिका, कास्कीका ३ निर्वाचन क्षेत्रका पोखरा महानगरका वडा, बुद्धिजीवी,मजदुर र विद्यार्थी तथा जनसंगठनको तर्फबाट उठाइएका सवालको कार्यवहाक अध्यक्ष गुरुङ, सचिव बैरागी र आर्थिक विभाग प्रमुख शर्माले उत्तर दिएका छन् । अधिवेशन प्रतिनिधिले दिएका सुझावलाई समेटेर पूर्ण बनाउने गरी प्रतिवेदन पारित गरिएको छ ।


सबै प्रतिवेदन पारित भएपछि आइतबार नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सुरु हुने अध्यक्ष मण्डल अध्यक्ष जगतबहादुर विश्वकर्माले जानकारी दिए । प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले आइतबार बिहान मतदाता नामावली प्रकाशनदेखि निर्वाचन कार्यक्रम सुरु गर्ने बताए । त्यसपछि उम्मेद्वारी दर्ता तथा फिर्ताको प्रक्रिया सकिएपछि निर्वाचनका थप कार्यक्रमअघि बढ्ने छन् ।

Advertisement


१० औं जिल्ला अधिवेशनमा अध्यक्षका लागि कार्यवहाक अध्यक्ष गुरुङ र सचिव दामोदर बैरागीले सामाजिक सञ्जालमार्फत मत माग्न थालेका छन् ।उपाध्यक्षमा सचिवालय सदस्यहरु तेजनारायण अधिकारी र युवराज पौडेलले उम्मेद्वारी दिने तयारी गरेका छन् ।


सचिवमा उपसचिव प्रभा कोइराला, सचिवालय सदस्य बैनबहादुर अधिकारी र झपटबहादुर रानाभाटले सामाजिक सञ्चालमार्फत उम्मेद्वारी घोषणा गरेका छन् । दुई उपसचिवका लागि नवराज ओझा, दर्शन लामा र इमानराजपौडेलले उम्मेद्वारी घोषणा गरेका छन् ।


अधिवेशनले कास्कीका भौगोलिक क्षेत्र, गैर भौगोलिक क्षेत्रको बुद्धिजीवी, मजुदर, विद्यार्थी, इलाकाबाट १सय २० सदस्यीय कमिटी निर्माण गर्ने छ । अधिवेशनको बन्दसत्रमा केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारीले एमाले जिल्ला कमिटी कास्कीले नेकपा कालको संक्रमणकालीन अवधिमा समेत राम्रो लेखा परीक्षणको काम गर्नु सुन्दर पक्ष भएको बताए ।


आफ्नै सफ्टवेयर बनाएर अरु जिल्लालाई समेत सिक्नुपर्ने काम गरेको जानकारी दिँदै उनले पार्टीका ५० प्रतिशत काम आर्थिक परिचालनसम्बन्धी हुने चर्चा गरे । उनले जिल्ला कमिटी कास्कीका लेखा परीक्षणमा ९ सकारात्मक र ६ सुधारका पक्ष रहेको जानकारी दिए । उनले पार्टीको स्थिर सम्पत्ति तथा भवनको बिमा गर्न सुझाव दिए । सचिव अधिकारीले प्राप्त उपहार र अनुदानको अभिलेखलाई व्यवस्थित गर्न र पुराना पेश्कीको बारेमा ठोस निर्णय गर्न आग्रह गरे ।


पोखरा सभागृहमा ३ दिनसम्म सञ्चालन हुने अधिवेशनमा कास्कीका पोखरा महानगरसहित ५ पालिकाका ७२ वडा, विशेष इलाकाका शाखा कमिटी, जनवर्गीय संगठन, सल्लाहकार परिषद् आयोजक कमिटीका पदाधिकारी तथा सदस्य गरी ९सय १४ प्रतिनिधिले भाग लिएका छन् ।
गत असोज ६ र ९ गते भएको पालिका, इलाका, वडा तथा शाखा कमिटीको अधिवेशनमा सर्वसम्मत विधिबाट नेतृत्व चयन भएको छ । वडादेखि सबै माथिल्लोतहको नेतृत्व निर्माणमा प्रजातन्त्रको सर्वोत्तम सर्वसम्मत विधि एमालेले अवलम्बन गरेको छ । सबै नेताले अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने प्रतिवद्धता जनाएका छन् ।‘दक्षिणपन्थी अवसरवादर संगठनात्मक अराजकतालाई अन्त्य गरौं, जनताको बहुदलीय जनवादको मार्ग दर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने नाराका साथ अधिवेशन भएको छ ।

तपाईको प्रतिक्रिया