टाइगर कप च्याम्पियनलाई ३ लाख
पोखरा ।
पोखरामा हुने दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक टाइगर ग्रुप पोखराले शनिबार पोखरा रंगशालामा पत्रकार सम्मेलन गरी सो जानकारी दिइएको हो ।
यही पुस २६ देखि आगामी माघ १ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा आयोजना गरिएको प्रतियोगिताका सहभागी टोली आउन सुरु भएको र तयारी अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी दिइयो । प्रतियोगिताले नेपालको राष्ट्रिय खेल भलिबलको विकाससँगै आगामी दिनमा पोखरालाई अन्तर्राष्ट्रिय भलिबल केन्द्रका रूपमा विकास गर्न मद्दत पुग्ने विश्वास आयोजकको छ ।
प्रतियोगितामा महिला तथा पुरुषका गरी पाँच÷पाँच टोलीको सहभागिता रहने टाइगर गु्रप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगितामा सुश्री मिडिया प्रालिको मुख्य प्रायोजन छ । अध्यक्ष शर्माले भने, ‘यस क्षेत्रमा भलिबलको लोकप्रियतासँगै राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट उत्पादित खेलाडीको लामो समयदेखिको उपस्थितिका साथै भलिबल खेलको विकासमा योगदान दिन प्रतियोगितालाई निरन्तरता दिएका छौं ।’
प्रतियोगितामा महिलातर्फ विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबसहित न्यु डायमन्ड एकेडेमी र आयोजक संस्था टाइगर ग्रुप अफ पोखराको टोली सहभागी हुनेछन् । पुरुषतर्फ विभागीय टोलीहरू नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी क्लबको एपिएफ क्लबसहित टिपटप हेल्पलाइन स्पोर्टस क्लब र गण्डकी प्रदेश टोलीको सहभागिता रहने जनाइएको छ । अध्यक्ष शर्माका अनुसार ‘राउन्ड रोविन लिग’ का आधारमा प्रतियोगिता सञ्चालन हुनेछ ।
विजेतालाई दिइने पुरस्कार राशिमा अघिल्लो संस्करणमा भन्दा दोब्बर वृद्धि गरिएको प्रतियोगिताका प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फको विजेतालाई ट्रफीसहित समान ३ लाख, उपविजेता महिला तथा पुरुष टोलीलाई समान १ लाख ५० हजारका पुरस्कार प्रदान गरिनेछ ।
तृतीय हुने टोलीलाई समान ७५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने महिला पुरुष दुवै टोलीलाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । हरेक विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजारका दरले पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा आयोजकका तर्फबाट सहभागी महिला टोलीको नेतृत्व नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा शाहीले गर्ने छिन् । सो टोलीमा श्रीलंकाको महिला भलिबल टोलीका क्याप्टेनसहित तीन खेलाडीको सहभागिता रहनेछ । पत्रकार सम्मेलनमा कप्तान अरुणाले आफ्नो टिमको तयारी पूरा भएको जनाउँदै उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताइन् । उनले भनिन्, ‘टिममा गण्डकीका केही खेलाडी र विदेशी अनुभवी खेलाडीको समिश्रण छ, त्यसैले टिम बलियो भएको छ ।’
दर्शकहरूका लागि अस्थायी प्याराफिट निर्माण, ज्येष्ठ नागरिक लगायत फरक क्षमता भएका दर्शकलाई खेल हेर्न छुट्टै व्यवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई बस्नको लागि विशेष व्यवस्था गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सोमबार दिउँसो १ बजे पुरुषतर्फको डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लब आमनेसामने हुने प्रतियोगिता संयोजक शिव श्रेष्ठले बताए ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्ने तय भएको छ । प्रतियोगिता अवलोकनका लागि साउथ एसिया सेन्ट्रल भलिबलका अध्यक्ष मोहमद लतिफ पोखरा आउने आयोजकले जनाएको छ ।
खेल हेर्नका लागि २ सय र ३ सय दरका टिकटको व्यवस्था गरिएको छ । प्रतियोगिता अवधिभर नेपाल टेलिकमले ५० रुपैयाँ ब्यालेन्स सहितको सिम निशुल्क वितरण गरिनेछ । इसेवा रेमिटबाट प्रत्येक दिनको म्याचको ‘म्यान अफ द म्याच’को पुरस्कार राशि नगद ५ हजार खेलाडीले प्राप्त गर्ने छन् । केएफसीले महिला तथा पुरुष विजेता टिमका खेलाडीलाई गिफ्ट स्वरुप डिनरको व्यवस्था गरेको छ ।
प्रतियोगितालाई सफल बनाउन शिव श्रेष्ठ संयोजक, सहसंयोजक गोविन्द थापासहितको विभिन्न उपसमिति गठन गरी सम्पूर्ण काम पूरा गरेको क्लबका सचिव प्रकाश बरालले उल्लेख गरे ।
तपाईको प्रतिक्रिया