तेक्वान्दो संघ गण्डकीमा जगन
पोखरा
नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश समिति अध्यक्षमा जगन गुरुङ निर्वाचित भएका छन् । संघको आइतबार पोखरामा भएको अधिवेशनबाट जगन अध्यक्षमा सर्वसम्मत भएका हुन् ।
समितिका उपाध्यक्षद्वयमा विष्णुहरि गौतम र कमल पराजुली, महासचिवमा रमेश पौडेल, सचिवमा गंगाबहादुर गुरुङ र कोषाध्यक्षमा माइकल कर्माचार्य छन् । प्रथम अधिवेशनबाट सदस्यमा कुलबहादुर तामाङ ‘दोर्जे’, विकल्प बोगटी, राजु थापा, योगराज अधिकारी, लक्ष्मी पाण्डे, शिवराज वाग्ले, नरेश भट्टराई, शिवराज वाग्ले र सर्फुदिल मियाँ चुनिएका छन् । २७ सदस्यीय कार्यसमितिमा १४ जना सर्वसम्मत भए । बाँकी सदस्यपछि मनोनित गरिनेछ ।
कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारले खेलकुदलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने खाँचो औंल्याए । उनले भने, ‘राज्य सञ्चालन गर्नेहरु आआफैं अल्मलिएकाले पनि सोचे अनुरुप खेलकुदको विकासले गति लिन सकेको छैन ।’ उनले खेलकुदको विकासका लागि कर्पोरेट हाउस र व्यवसायिक घरनाहरु अघि आउनुपर्ने उल्लेख गरे ।
नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले संघले चाँडै नै पोखरामा माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता गरिने जानकारी दिए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव राजेश गुरुङले पोखरा रंगशालामा मार्सल आर्ट खेलका लागि बहुउद्देश्यीय मार्सल आर्ट हलको निर्माण प्रक्रिया अघि बढाउने जनाए ।
प्रदेश खेलकुद परिषद गण्डकी सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदको विकासका लागि सरकारको बजेट प्रयाप्त नभएको धारणा राखे । उनले खेलकुद, शिक्षा, स्वास्थ्यसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धको विकास, शान्ति, आर्थिक, वातावरण एवं सामाजिक क्षेत्रसँग समेत जोडिएको बताउँदै खेलकुदले सामाजिक विभेदलाई समेत अन्त्य गरेको दावी गरे । संस्थाका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रकाशशम्शेर राणा, पोखरा पर्यटन परिषद अध्यक्ष गोपी भट्टराई लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया