महिला उद्यमी संघ कास्कीको कानुनी र बैंकिङ साक्षरता

समाधान संवाददाता २०७८ पुष २६ गते २०:३३

पोखरा ।

Advertisement


महिला उद्यमी संघ नेपाल कास्कीले सातौं साधारण सभा, कानुनी एवं बैंकिङ साक्षरता कार्यक्रम गरेको छ । संघको आयोजना तथा अस्ट्रेलिया नेपाल बिजनेस काउन्सिल कमिटी (एनआरएनए)को आर्थिक सहयोगमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष पार्वती पौडेल रेग्मीको सभापतित्वमा भएको थियो ।


कार्यक्रममा प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले महिला उद्यमीका नीतिगत मुद्दाहरु सुल्झाउन आफू सदैव लागिरहने बचनबद्धता व्यक्त गरिन् । वास्तविक उद्यमी उत्पादन गर्नुपर्ने आवश्यकता भट्टराईले औंल्याइन् ।

Advertisement


कार्यक्रममा संस्थापक अध्यक्ष मीना गुरुङ, पोखरा उद्योग वाणिज्य संघकी शोभा गौतम, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला, मेगा बैंककी बुद्धलक्ष्मी श्रेष्ठ लगायत सहजकर्ताहरू थिए । कानुनी सल्लाहकार एवं अधिवक्ता बिनाका शर्माले कानुनी मामलामा सहभागीलाई जानकारी गराइन् । कार्यक्रममा १ सयजना जति सहभागी थिए ।


कानुनी सल्लाहकार बिनाका शर्माले महिला उद्यमीहरुलाई उद्यमशीलाताका क्षेत्रमा आइपर्ने बाधा अड्चन र तिनका समाधानका विषयमा सहजीकरण गरिन् । मेगा बैंककी बुद्धलक्ष्मी श्रेष्ठ र शिवबहादुर कार्कीले महिला उद्यमी सरल कर्जा तथा बैंकबाट प्रदान गरिने सेवा सुविधा तथा प्रक्रियाका बारेमा प्रष्ट पारे ।

Advertisement


साधारण सभाले संघकी महासचिव एलिना बराल तथा कोषाध्यक्ष चन्द्रा शर्माको प्रतिवेदन पारित गर्‍यो । कार्यक्रममा संघकी निवर्तमान अध्यक्ष काशी गुरुङलाई सम्मान गर्नुका साथै वर्तमान अध्यक्ष पार्वती पौडेल रेग्मीलाई महासंघको १८ औं साधारण सभाबाट केन्द्रीय सदस्य निर्वाचित भएकोमा सम्मान गरिएको थियो ।


महासंघका ५७ जिल्लामध्ये कास्की जिल्लाले तेस्रो उत्कृष्ट स्थान प्राप्त गरेको उपलक्ष्यामा खुसी साटासाट पनि भएको थियो । मीना प्रधान तथा बालकुमारी गुरुङको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम प्रथम उपाध्यक्ष प्रतिभा गैह्रेले सञ्चालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया