भोलीदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

समाधान संवाददाता २०७८ पुष ३० गते २०:४५

पोखरा ।
कास्कीमा शनिबारदेखि सार्वजनिक सेवा लिन कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यलयले आदेश जारी गरी खोप कार्ड अनिवार्य गरेको हो । गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रको २६ गतेको बैठकले जिल्लाभरी खोप कार्ड अनिवार्य गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले जानकारी दिए ।


आदेशले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा हुन र राजनैतिक, सामाजिक तथा सांस्कृतिक लगायतका भेला, महोत्सव, मेला सभा सम्मेलन गर्न रोक लगाएको छ । सार्वजनिक सवारी साधनमा यात्रुले अनिवार्य रुपमा मास्क र भौतिक दूरी कायम गर्नुपर्ने छ । हवाइ जहाजबाट यात्रा गर्नुपूर्व कोभिड नेगेटिभ भएको खोप कार्ड देखाउनुपर्ने छ ।


जिल्लामा आधारभूत तथा माध्यमिक विद्यालयको पठनपाठन रोकिएको छ । सेमेस्टर र वार्षिक परीक्षा तथा अन्य परीक्षाको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी सञ्चालन गर्न भने अुनमति दिएको छ । औषधी लगायतका अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने तथा प्रशासनको आदेश पालनान नगरेमा कानुन बमोजिम कारबाही गरिने आदेशमा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया