२४ सै घन्टा परीक्षण निरन्तर हुनुपर्छ, सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ

समाधान संवाददाता २०७८ माघ १ गते १९:३१


डा शरद बराल, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल


कोभिडको पहिलो लहर ताका हामीसँग मात्र ४० बेड थिए । दोस्रो लहरताका करिब ९० क्षमताको आइसोलेसन बेड थियो । हाल अस्पतालको पुरानो संरचना बनाउन लागेकाले हामीसँग अहिले केवल ४८ बेड क्षमता छ । २ दिनअघि अस्पतालमा केवल १० बिरामी थिए । ३ लाई डिस्चार्ज गरियो । बाँकी ७ जनामा ३ जना भेन्टिलेटरमा छन् ।


कोभिड व्वस्थापनका लागि अस्पताल निकै जागरुक छ । हामीले ४८ आइसोलेसनका बेडले नभ्याएमा सम्पूर्ण अस्पताललाई नै कोभिड अस्पताल बनाउनुपर्ने अवस्था आउँछ । त्यसरी नि बेड अभाव भएको खण्डमा निजी अस्पतालहरुलाई संघीय सरकारले अग्रसर गराउने जानकारी पाएका छौं । बीचमा संक्रमणदर शून्यमा पुग्दा पनि हमीले सेवा रोकेनांै । हमी भविष्यका लागि पूर्वतयारी अवस्थामा बसेका थियौं । हामीले फुर्सदको समयमा कोभिडवार्डको सरसफाइमा ध्यान दियौं । हामीले अक्सिजनदेखि हरेक कुराको सुविधा मिलाएका छौं । अब हमी कुनै पनि अवस्थामा संक्रमितको उपचारमा कमी नहुने गरी तयारीका साथ बसेका छौं । लेखनाथ, शिशुवा लगायतका महानगरपालिकाको मातहतका अस्पतालहरु पनि तयारी अवस्थामा छन् ।


हमीसँग हाल अस्पतालमा भेन्टिलेटर प्रशस्त मात्रामा छन् । भेन्टिलेटरको कमी हुन्छ कि भनी थप भेन्टिलेटर अर्डर गरी जडान तयारी अवस्थामा राखेका छौं । भेन्टिलेटर भन्दैमा डराहइहाल्नु पर्दैन । भेन्टलेटर दुई प्रकारका हुन्छन्, बाहिरबाट नै मास्कको सहायताले राखिने भेन्टिलेट र अर्को श्वास नलीमा राखिने ।


सबै बिरामी अस्पताल आउनु हुँदैन । आउनु पर्नेमात्रै आउनु हुन्छ । आउन नपर्नेहरु होम आइसोलेसनमा बस्नुहुन्छ । होमआइसोलेसनका छुट्टै मापदण्ड हुन्छन् । मापदण्डहरु पूर्ण रुपले पालना गर्ने हो भने निकै प्रभावकारी रहन्छ । तर स्वास्थ्यमा जटिलता आएमा तुरुन्त अस्पतालको सम्पर्कमा आउनुपर्छ ।


विगतमा दैनिक ६० सिलिन्डरको माग रहेकोमा हाल २०० सिलिन्डर अक्सीजनको आपुर्ताी गर्न सकिने हुदाँ अक्सीजनको कुनै कमी हुने छैन । प्रमुख कुरा अक्सीजन सिलीन्डरको साहयता चाहिने कोभिड विरामीलाइ घरमा राख्न मिल्दैन तत्काल अस्पतालमा भर्ना गर्नु पर्छ त्यसैले घरमा सिलीन्डर राख्नु पर्छ भन्ने कुरा आउँदैन ।


अब कुरा गरौं कसरी कोभिड र खोपबारे । हामी सम्पूर्ण सरकारी निकाय जनताप्रति उत्तरदायी छैनांै । यस अर्थमा कि सरकारले भ्याक्सिन त ल्यायो तर दिनदिनै खोप केन्द्र परिवर्तन भइरहन्छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल जस्तो ठाउँमा जहिल्यै आउँदा पनि खोप उपलब्ध हुनुपर्ने हो । तर हुँदैन । किन छैन त यहाँ खेप केन्द्र ? पोखरा रंगशाला परिसरमा हामीले २ महिनाका लागि खोप अभियान चलाउन सक्थ्यौं नि, किन चलाइएन त ? पोखराको चारै कुनामा खुला स्थानमा खोप केन्द्र निरन्तर चलाए पो सबैले डबल डोज नै समयमा पाउँछन् ।
चाइनाले कोरोना निर्मुल त्यतिकै गरेको हैन । त्यहाँ कोरोना संक्रमण दर घट्यो भन्दैमा परीक्षणमा कमी आउँदैन । उनीहरु निरन्तर कोभिड परीक्षण गराइरहन्छन् । कोरोना भइहालेमा आत्तिदैनन्, परिवारसहित आइसोलेसनमा बस्छन् । सम्पर्कमा रहेका सबैलाइ सुचित गराउँछन् । त्यसैले कोरोना फैलन सकेन ।


पोखरामा सरकारी सेवामा कोरोना परीक्षण गराउन निकै झन्झटिलो छ । १२ बजे ल्याब खुल्छ २ घण्टामा नमुना संकलन कार्य बन्द हुन्छ । प्राइभेट संस्थामा जान सबैले सक्दैनन् । अब २ घण्टाको अवधिमा मानिसहरुले कसरी सुविधा उपयोग गर्ने ? त्यसैले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट २ मिनेटमा हिँडेर पुगिने प्रदेश जनस्वास्ग्य प्रयोगशालामा जनशक्ति वृद्धि गरी २४ घण्टा सेवा प्रदान गर्नु पर्दछ । ताकि सबैले निशुल्क कोभिड परीक्षण गरुन् । मैले जनताका यिनै मुद्दाहरुलाई सबै सरकारी निकायको छलफलका क्रममा उठाएको छु । यी नै छलफलको विषयलाई बारम्बार उठाउने हुँदा मलाई धेरैले राम्रो मान्दैनन् । कति ठाउँमा झगडा परेको छ ।


हामीलाई संघीय सरकारबाट धेरै थेरै सहयोग पाएका छौं । अभावका बाबजुत पनि काम गर्नुपर्ने अवस्था त छँदै छ । तर संघमा भन्दा हामीलाई प्रदेश सरकारसँग गुनासो छ । प्रदेशभरका बिरामीलाई निरन्तर सेवा दिइरहेका छौं । प्रदेश सरकारबाट त्यति सहयोग पाएका छैनौ, जति हामी चाहन्छौं ।


म स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दछु । पिपिई लगाएपछि म बिरामीलाई छोएर नै निरन्तर सेवा दिँदै आइरहेको छु । म मास्क पनि खाने बेलामा मात्र खोल्छु । व्यक्तिगत सरसफाई त हरेक डाक्टरहरुले घर पुगेर नुहाउनु दैनिकी नै हो । बिरामीहरुको आशीर्वाद र भगवानको दयाले होला मलाई अहिलेसम्म संक्रमण पुष्टि भएको छैन । मलाई बिरामीले भन्ने गर्थे, ‘हामीलाई त अरु डाक्टरले छुनै डराउँथे तपाईलाई डर लाग्दैन ?’
एउटा बिरामीसँग पीडामा रुँदा क्षणमै अर्को बिरामीसँग मुस्कानका साथ कुरा गर्थें । बिरामीलाई गाह्रो अवस्था आउँदा केही सान्त्वना दिन्थेँ तर परिवारलाई सत्य कुरा राख्नै पर्‍यो । अझै पनि निको भएर गएका बिरामीले अस्पतालमै आएर भेटघाट गर्छन् । मलाई त्यसमा निकै खुसी लाग्छ । राज्यले मूल्यांकन नगरेकोमा कुनै दुख लाग्दैन ।

डा बरालसँग समाधानकर्मी अभिशेष अधिकारीले गरेको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया