सहरिया तान्दैछ ताङतिङ, क्रपुडाँडामा हिउँ खेल्न पाइने

सञ्जय रानाभाट २०७८ माघ ३ गते १३:०१


सञ्जय रानाभाट


पोखरा ।
कास्कीको मादी गाउँपालिका २ ताङतिङका बालासिंह गुरुङ उमेरले चौरासी पुगे । ब्रिटिस आर्मीमा मेजरसम्म भएर गुरुङलाई गाउँले जीवन मनपर्छ । केही समयअघि छोराछोरीको उच्च शिक्षाका लागि भन्दै बजार ओर्लिएका गुरुङ यसको केही वर्षपछि फेरि गाउँमै फर्केका छन् ।
ब्रिटिस आर्मीबाट निवृत्त भएपछि परिवारै लिएर काठमाडौंको पुलतीसडकमा बसाइँ गएका गुरुङ १ महिनाअघि ताङतिङ फर्केका छन् ।

बालासिंह दम्पत्ती

गाउँमा अवसर र सेवासुविधा नहुँदा छोराछोरी पढाउनकै लागि बजार झरेका गुरुङ श्रीमतीसहित गाउँ फर्केका हुन् । भन्छन्, ‘म त गाउँमै हुर्कें बढें, रोजगारीका लागि ब्रिटिस आर्मीमा भर्ती भएँ । ब्रिटिसमा हुँदा आधा संसार देखें, तर मेरो गाउँजस्तो स्वर्ग अरु देखिनँ । जन्मभूमि नै प्यारो हुँदोरैछ,’ उनले भने ।

Advertisement


अवसरको खोजीमा बालासिंह जस्तै बजार ओर्लिएका धेरै ताङतिङे अचेल गाउँ फर्किन थालेका छन् । भूकम्पले भत्काएको घर पुनर्निर्माण गरी गाउँमै बस्न थालेका छन् । बालासिंहले पनि करिब ३० लाख रुपैयाँ खर्च गरेर घर पुनर्निर्माण गरेका छन् । काठमाडौंको पुतलीसडकमा ४ तले घर र पोखरामा २ तले घर भए पनि आफूलाई जन्मभूमि नै प्यारो लागेर गाउँफर्केको बालसिंह बताउँछन् । ‘बिस्तारै गाउँमा विकास हुन थालेको छ । बाटो गाउँमै आइसकेको छ । पढ्नका लागि १० कक्षासम्म गाउँमै स्कुल बनिसकेको छ । संसारभरिका पर्यटकका घुम्न गाउँमै आउँछन् । यस्तो ठाउँ छाडेर कसरी किन अन्त जाने ?’ उनी भन्छन् ।

जनप्रतिनिधि आएयता ताङतिङबाट कसैले बसाइसराइ गरेको छैन, बरु गाउँ फर्कने थुप्रै छन्

Advertisement


पोखराबाट पूर्वाेत्तरको गुरुङ बस्ती हो ताङतिङ । ढुंगाका छाना, ढुंगे छपनी छापेका आँगन, ढुंगैढुंगा छापेका बाटाघाटा भएको गाउँमा गुरुङको मौलिक संस्कृति जीवितै छ । हरेक घरका आँगनबाटै देखिन्छ अन्नपूर्ण हिमशृंखला । सहरको कोलाहलबाट वाक्क भएका थुप्रैजना एकान्त र गाउँको मौलिक स्वाद लिन ताङतिङ उक्लन्छन् । त्यस्ता सहरियालाई आतिथ्य दिन गाउँमा होमस्टे पनि छन्, होटल पनि छन् ।


ताङतिङमा जसै सहरी पर्यटकको आकर्षण बढिरहेको छ, रैथानेहरुले पनि गाउँले तान्न थालेको हो । पहिलापहिला गाउँलेको आम्दानीको स्रोत खासै केही थिएन । नगदको खोजीमा थुप्रैजना लाहुर जान्थे । प्रत्येक घरका कोही न कोही भारतीय सेना, बेलायती सैनिक र सिंगापुरे पुलिसमा भर्ती हुन्थे । प्राकृतिक सुन्दरताले भरिपूर्ण भएपनि यसको प्रचार नभएको र आधारभूत सेवा सुविधाबाट समेत गाउँमा नहुँदा कास्कीको विकट गाउँमा चिनिथ्यो । पर्यटकको आगामन शून्य थियो । बालासिंहका २ छोरा पनि लाहुरे हुन् । छोरी अमेरिका छिन् । गाउँको घरमा मर्मत गरेपछि अचेल होमस्टे सेवा सुरु भएको छ । होमस्टेको सञ्चालन भतिजीले गर्छिन् । होमस्टेबाट राम्रो आम्दानी भइरहेको बालासिंह सुनाउँछन् ।

‘होमस्टेले गाउँमा आम्दानीको बाटो भयो । गाउँमै रोजगारी सिर्जना भएको छ । सहरमा गएका मान्छेहरुलाई अब गाउँ फर्किन प्रेरणा मिलेको छ । यसमध्ये अहिले धेरै गाउँ फर्किसकेका छन् । केही फर्किने क्रममा छन्,’ उनले भने ।

ताङतिङ गाउँ

लाहुरे भएर बिदामा आउँदा समाजका लागि के गर्न सकिन्छ । भनेर लाग्ने गरेको बालासिंह बताउँछन् । ‘चन्दा संकलन गरेर मेरो नेतृत्वमा गाउँमा खेलकुद मैदान बनेको छ । ताङतिङमा हुने चैतेदसैं मेला पनि मैले मेरो नेतृत्वमा सुरु भएको हो,’ उनी भन्छन् । ताङतिङ गाउँ पहिला यति अपरिचित थियो कि बालासिंहले घर ताङतिङ भन्दा थुप्रैले तानसेन र दाङसिङ भन्ठान्थे । अनि उनलाई गाउँको नाम फैलाउनुपर्ने रहेछ भन्ने लाग्यो ।


गाउँलाई चिनाउने भनेरै चैतेदसैं मेला सुरु गरिएको जानकारी उनले दिए । ‘प्रत्येक वर्ष चैतमा हुने मेलाले ताङतिङलाई विश्वमाझ चिनाएको छ,’ उनी गर्वसाथ सुनाउँछन् । ताङतिङ र चैतेदसैं मेलालाई प्रवद्र्धन गर्न बनेको गीत ताङतिङको मेलामा धेरैको जीब्रोमा झुन्डिएको छ । ‘यो कुराले नै मलाई गर्व लाग्छ । म अमेरिका घुम्न पुगेको थिएँ । त्यो बेला एउटा कार्यक्रममा ताङतिङको मेलामा भन्ने गीत बज्यो । अहिले मेला, महोत्सव, पार्टी कार्यक्रमहरुमा गीत हिट छ । गीतमात्र हैन गाउँ नै एउटा नमुना समाजको रुपमा स्थापित भएको छ,’ बालासिंह भन्छन् । सामाजिक सञ्जाल युट्युबमा १ करोडभन्दा बढीले यो गीत हेरिसकेका छन् । मादी गाउँपालिका वडा नम्बर २ ताङतिङका वडाध्यक्ष एक्काजंग गुरुङ गाउँ छाडेर बजारमा जानेको १ सय ५० जति छन् । ताङतिङमा १४ वटा घरमा होमस्टे सुविधा छ । ७ वटा होटल छन् ।

क्रपुडाँडामा परेको हिउँ


केही वर्षदेखि पोखरामा बसेर म्युजिक भिडिओमा कोरियोग्राफी गर्दै आएका थमन गुरुङ पनि गाउँमा गएर लज सञ्चालन गरिरहेका छन् । उनले घरलाई नै लजका रुपमा सञ्चालमा ल्याएका हुन् । ‘लजमा पनि प्रत्येक दिनजस्तो पोखरा आसपासका मान्छेहरु आउँछन् । अहिले दैनिक मान्छेहरु आउजाउ गरिरहेका छन् । १ नाइट बस्न रिफ्रेस हुन पाइने र हिउँ खेल्न पाइने भएपछि ताङतिङ प्रमुख गन्तव्य बनेको हो,’ उनले भने । ताङतिङ शिरको क्रपुडाँडामा वर्षका धेरै महिना हिउँ खेल्न पाइन्छ ।


गाउँमै गएर व्यवसाय गर्दा राम्रो हुने देखेपछि लज सुरु गरेको थमन बताउँछन् । ‘गाउँ प्रवद्र्धन पनि हुने, राम्रो आम्दानी पनि हुने देखेपछि यो पेसामा आएको हो,’ उनले भने, ‘अब गाउँमा आउने पर्यटकलाई सांस्कृतिक कार्यक्रमहरु देखाउँछौं । गाउँमा आउनेहरुले विभिन्न किसिमका रीतिरिवाजका कुराहरु सिकेर जान सक्छन् ।’ उनले पनि गाउँको घर मर्मत गरेर लज खोलेका हुन् । ‘गाउँमा आउने मान्छेले बजारमा जस्तै टेस्ट लिन चाहे लज छ । अर्गानिक खाने भए गाउँमा होमस्टे छन्,’ उनले भने ।

क्रपुडाँडामा खाेलिएका हाेटल


गाउँमा प्रत्येक दिन जस्तो गाउँमा १ सयजना पर्यटन भित्रने गरेको ताङतिङ सामुदायक होमस्टेकी अध्यक्ष पसमाया गुरुङ बताउँछिन् । ‘हामीहरुले गाउँमा केही गर्न सोचेका छौं । अहिले १४ घर परिवार होमस्टे सञ्चालनमा छन् । विस्तारै यो संख्या बढ्ने क्रममा छ । गाउँमा घरहरु पुनर्निर्माण हुँदै छ । गाउँ छाडेर गएकाहरु फर्केन क्रम बढ्दो छ । पर्यटकको संख्या दिन प्रतिदिन बढ्दो छ,’ उनी भन्छिन् ।

क्रपुडाँडा


वडामा बसाइसराईं शून्य


बितेका ५ वर्षयता ताङतिङबाट कसैले पनि बसाइसराइ शून्य भएको वडाअध्यक्ष एक्काजंग गुरुङले जानकारी दिए । गाउँमै आम्दानीको बाटो र बजारसम्म आउजाउ गर्न सजिलो भएपछि गाउँ छोडेर जान बन्द भएको उनले बताए । भन्छन्, ‘बरु बजार छोडेर गाउँ आउनेको संख्या बढ्दो छ । जब स्थानीय सरकार आयो, यसपछि हामीहरुले गाउँबाट १ घरलाई पनि बसाइसराईंको पेपर बनाइदिन परेको छैन ।’ नेपालमा भएका कतिपय गाउँ खाली हुँदा ताङतिङ भरिभराउ हुनुमा यहाँ होमस्टे सञ्चालमा आउनु र जनप्रतिनिधिहरुले बजारसम्म जोड्ने मोटर बाटो बन्नु प्रमुख कारण भएको उनले बताए । ‘अहिले १ नाइट स्टे गरेर फर्किन्छु भने पनि भयो । नजिकै हिमाल हिउँ खेल्न पाइने भएपछि गाउँमा पर्यटक थपिने क्रम बढेको हो,’ उनले भने ।


पर्यटक बढ्दै गए गाउँमा रहेका १४ वटा होमस्टे र ७ वटा लज होटलले पर्यटकलाई धान्न नसकिने गाउँका समाजसेवी गाउँका अगुवा तथा शिक्षक ओमप्रकाश गुरुङले बताए । गाउँमा आएपछि हिउँ खेल्न जाने र यहाँ रहेका संस्कृतिक क्रियाकलाप मन पराउने भएकाले ताङतिङमा एक रातभने पनि बस्न आउने उनी सुनाउँछन् । ‘यहाँबाट नजिकै क्रपुडाँडामा हिउँ खेल्न पाइने भएकाले पर्यटक बढ्न थालेका हुन् । कोरोनाको महामारीमा पनि पर्यटक रोकिएन । महामारीको बेलामा पनि निरन्तर पर्यटक आइरहे । यसले पनि ताङतिङलाई पर्यटक माझ थप लोकप्रिय बनाएको छ ।


पोखराबाट नजिक २१ किलोमिटरमा रहेको ताङतिङ गाउँ पुग्न बस जाँदा साढे २ घण्टा लाग्छ । जिपमा २ घण्टा, मोटरसाइकलमा ढेड घण्टा लाग्छ । क्रपुडाँडामा पर्यटक बढ्न थालेपछि गाउँका युवाले डाँडामा तीनवटा अस्थायी होटल÷रेस्टुरेन्ट बनाएका छन् । ओमप्रकाश भन्छन्, ‘एकैदिन ४÷५ सय पाहुनाको व्यवस्थापन हामी गर्न सक्छौं । पाहुनाले घुम्न आउँदा क्रपुडाँडा घुम्न आउने प्याकेज लिएर आउँदा हुन्छ । गाउँबाट माथि बसमा १ घण्टा गएपछि १ घण्टाको यात्रामा क्रपुडाँडा पुगिन्छ ।’ गाउँको सामुदायिक होमस्टेमा बसाइ वापत प्रतिव्यक्ति एक हजार रुपैयाँ लाग्छ । यसमा बिहान बेलुकाको खाना र खाजा पर्छ । तर, क्रपुडाँडामा १ व्यक्तिको प्याकेजमा १ हजार ५ सय बस्न सकिन्छ ।


होमस्टे सञ्चालमा भिटोफको सहयोग


ताङतिङमा २०६८ सालमा होमस्टे सञ्चालमा आएको थियो । होमस्टे सञ्चालन गर्न गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले सहयोग गरेको थियो । शुक्रबार भिटोफ गण्डकीका अध्यक्ष उदय सुवेदीको नेतृत्वमा गाउँमा अन्तक्रिया सम्पन्न भएको छ ।

ताङतिङ सामुदायक होमस्टेकी अध्यक्ष पसमाया गुरुङकाे घरमा

अध्यक्ष सुवेदीका अुनसार गाउँमा थप पर्यटन भिर्‍याउन मञ्चले के गर्न सक्छ ? गाउँमा पर्यटनका सम्भावना के के छ ? होमस्टेलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा अन्तक्र्रिया गरिएको अध्यक्षले सुवेदीले बताए । ‘ताङतिङ होमस्टेले मात्र नभएर प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण रैछ । गाउँ नजिकै १ दर्जन हिमाल आँखै वरिपरि घुम्छन् । नजिकैको क्रपुडाँडा पर्यटकको नयाँ रोजाइ बन्न सक्छ । ३ घण्टामै नजिकबाट हिमाल हेर्न पाइने, हिउँ खेल्न पाइने भएपछि भविष्यमा गाउँमा पर्यटकको आइरो लाग्छ,’ उनले भने । गाउँसम्म आएकालाई क्रपुडाँडामा गएर हिउँ खेल्न उनले अनुरोध गरे ।

भिटोफकाे गाउँमा अन्तक्रिया


क्रपुडाँडा घुम्न अब प्याकेज बनाउन बनाएर आउनुपर्ने उनको भनाइ छ । गाउँमा ४÷५ दिनको भ्रमण प्याकेज बनाएर पर्यटन भुल्न सक्ने ठाउँ भएको उनी सुनाउँछन् । हामीहरु पनि अब भ्रमणका प्याकेज बनाउँछौं ।’ भिटोफको नयाँ कार्यसमिति सदस्यहरु अध्यक्ष सुवेदी, कोषाध्यक्ष कृष्ण भारती, सदस्य शिवराज त्रिपाठी, रमेश अर्याल, विश्व क्षेत्री गाउँ भिजिटमा पुगेका थिए । उनीहरुले गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुगेर पर्यटन प्रवद्र्धन गर्ने बताए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया