बालकको यौनांग बाँधिदिने वार्डेन जेल चलान

५ हजार क्षतिपूर्ति र जरिवानाको आदेश

सञ्जय रानाभाट २०७८ माघ ३ गते १९:५३

सञ्जय रानाभाटपोखरा

ओछ्याउनमा पिसाब गरेकै निहुँमा ५ वर्षे बालकको पिसाब फेर्ने अंग रबरले बाँधिदिएको अभियोग लागेकी एक महिलालाई कास्की अदालतले कैद र क्षतिपूर्ति भराउने फैसला गरेको छ ।


पोखरा–१५ गलेश्वरचोकमा रहेको न्यु लाइफ होस्टेलकी वार्डेन जानुका नेपालीलाई उक्त अभियोगमा अदालतले २५ दिन कैद र ५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको हो । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले आइतबार उक्त फैसला गरेको अदालतका सूचना अधिकारी नील पनेरुले जनाए ।

Advertisement


न्यायाधीश श्रीकृष्ण भट्टराईले कैद र क्षतिपूर्तिबाहेक १ हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २ सय रुपैयाँ भराउने आदेशसमेत दिएका छन् ।


होस्टेल वार्डेन नेपालीले पिसाब फेर्ने अंगमा रबरले बाँधेर यातना खेपेका बालकको पीडा पुस ६ गते सार्वजनिक भएको थियो । स्कुलमा शिक्षिकाका अघिल्तिर ती बालक रोएपछि बुझ्दै जाँदा शिक्षिकाले उनको यौनांगमा रबरले बाँधिएको फेला पारेकी थिइन् ।

Advertisement


हिमालयन गुडलाइफ काठमाडौंद्वारा सञ्चालित होस्टेलमा वार्डेन नेपालीले राति सुत्ने समयमा ओछ्यानमा पिसाब गरेपछि बालको यौनांगमा रबरले बाँधिदिएकी थिइन् । आइन्दा घटना नदोहोर्‍याउने प्रतिबद्धतासहितको सम्झौतापत्रमा गराएर होस्टल सञ्चालकहरुले घटना गुपचुप पार्न लागेपनि पनि सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले वार्डेन नेपालीलाई पक्रेको थियो । उनी विरुद्ध पुस अन्तिम साता सरकारी वकिलको कार्यालयमार्फत बालबालिका विरुद्धको कसूर सम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो ।


सरकारी वकिलको कार्यालयले १ वर्ष कैद र ५० हजार जरिवाना माग गरेको थियो । वार्डेन नेपालीले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा १ ले निषेधित तथा उपदफा २ को खण्ड घ र ङ बमोजिमको कार्य गरी बालबालिका विरुद्धको कसुर गरेको पुष्टि ठहरसहित सरकारी वकिलको कार्यालयले उक्त मागदाबी गरेको हो ।


वार्डेन नेपालीले प्रहरी र अदालती बयानमा आफूबाट अन्जानमा भूल भएको भनी रुँदै बिलौना गरेकी थिइन् । ओछयानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारी दोषी ठहरिएकी हुन् ।


बालबालिकासम्बन्धी ऐन, २०७५ ले घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक र मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने कामलाई बालबालिका विरुद्धको कसूर भनेको छ । शारीरिक चोटपटक वा असर पुराउने, आतंकित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने काम पनि बालबालिका विरुद्धको कसूरमा परिभाषित छन् ।

ती बालक बस्दै आएको न्यु लाइफ होस्टल दर्तासमेत नगरी सञ्चालनमा रहेको पनि पछि सार्वजनिक भएको थियो । सञ्चालकहरुले दुर्गमका केटाकेटी ल्याएर होस्टेलमा राख्ने र सिद्ध माध्यामिक विद्यालयमा पढाउने व्यवस्था गरेका छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया