पोखरामा डाक्टर, नर्सहरु नै धमाधम संक्रमित

समाधान संवाददाता २०७८ माघ ४ गते १२:१९

पोखरा ।
कास्कीमा आइतबार १ सय ५८ जनामा कोरोना भाइरस रोग (कोभिड १९) संक्रमण देखा प¥यो । त्यसमध्ये गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका ८ जना कर्मचारी एवं स्वास्थ्यकर्मी छन् । प्रदेश स्वास्थ्य निर्देशक डा खिम खड्काका अनुसार सेवामा खटिने कर्मचारी तथा स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् ।


प्रदेशकै सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका १५ चिकित्सक एवं स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीले जानकारी दिए । अस्पतालको माउ संस्था पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढिरहेका केही विद्यार्थी पनि संक्रमित भएका छन् । डा खत्रीका अनुसार स्त्री रोग विभागका स्वास्थ्यकर्मीको संख्या संक्रमितमध्येमा धेरै छ ।


स्रोतका अनुसार कोभिड उपचारमा खटिएका १ चिकित्सकसहित संक्रमित सबैजसो होम आइसोलेसनमा छन् । उनीहरु उपचारमा खटिन आउन नसक्दा बिरामीको सेवा केही न केही प्रभावित भएको छ । प्रदेश स्वास्थ्य निर्देशक डा खड्का भन्छन्, ‘यही हिसाबले संक्रमित हुने हो भने सेवा दिने मानिस नै अभाव हुने देखिन्छ ।’ एम्बुलेन्स सेवा, हेलो डक्टर र चालक लगायत पनि संक्रमित हुँदा आफूहरुको कार्यालयमा सेवा प्रभावित हुन थालेको उनले सुनाए ।

Advertisement


पोखरा ३० स्थित संक्रामक तथा सरुवा रोग अस्पतालका ३ जनामा संक्रमण देखिएको जानकारी अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनले दिए । उनकै भनाइमा अहिले उक्त अस्पतालमा उपचारका लागि कोभिडका १० बिरामी पनि छन् । गण्डकी शिक्षण अस्पताल पृथ्वीचोकका ८ स्वास्थ्यकर्मी संक्रमित भएको जानकारी मेडिकल सुपरिटेन्डेन्ट डा टुमाया घलेले दिइन् । उनकै भनाइमा गण्डकी मेडिकल कलेजले विद्यार्थीको पढाइ सुरु अनलाइन गरिसकेको छ । डा घलले संक्रमित स्वास्थ्य तथा चिकित्साकर्मीलाई कति दिन बिदा दिने हो भन्नेबारे अहिलेसम्म नेपाल सरकारले कुनै निर्णय नदिँदा अप्ठेरो परेको पनि सुनाइन् ।


डा घलेले तेस्रो लहर सुरु भएपछि मात्रै अहिले थुप्रै जना खोप लगाउन आइरहेको जानकारी पनि दिइन् । ‘दिनमै हजार जना आउनुभएको छ,’ उनले भनिन्, ‘त्यो पनि युवाको संख्या धेरै छ, अहिलेसम्म नडराई बस्नुभएको रहेछ ।’ बाटोघाटोमा हिँडडुल गर्दा मास्क नलगाउने, लगाए पनि चिउँडोमा राख्ने, मान्छे भेटिए झन् मास्क खोलेर बोल्ने प्रवृत्ति देखिएको डा घलले सुनाइन् ।

Advertisement


प्रदेश स्वास्थ्य निर्देशक डा खड्काका अनुसार सामान्य रुघाखोकी त हो भन्दै धेरैले हेलचक्र्याइँ गरेको पाइएको छ । सर्वसाधारण संक्रमित हुने दर बढ्नाले नै चिकित्सक र स्वास्थ्यकर्मी पनि संक्रमित हुन पुगेको उनको भनाइ छ । ‘संक्रमित भएर आउने अस्पतालै हो, १ मिटरको पनि दूरी हुँदैन बिरामीसँग अनि हामी संक्रमित भइहाल्यौं,’ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एक चिकित्सकले भने ।


नेपाल मेडिकल एसोसिएसन गण्डकीका पूर्वअध्यक्ष डा निर्मल लामिछाने फ्रन्टलाइनर भएकैले चिकित्सा र स्वास्थ्यकर्मी संक्रमणको जोखिममा रहेको बताए । डा खड्काले संक्रमण समुदायमा फैलिइसकेको र यसपालिको फैलने दर निकै तीब्र रहेको जानकारी दिए । ‘ओमिक्रोन नै हो भनेर पुष्टि गरिएको छैन,’ उनले भने, ‘त्यतातिर लाग्नुभन्दा पनि कोरोना हो भनेरै रोकथाम गर्नुप¥यो । अहिलेको संक्रमण धेरैलाई सर्ने खालको छ ।’


उता, कास्कीमा थुप्रै एमाले नेता पनि कोभिड १९ संक्रमित भएका छन् । पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना भाइरस रोग (कोभिड १९) संक्रमण भएको छ । प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालमा सोमबार गरिएको परीक्षण नतिजाले उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।


संक्रमणपछि गुरुङ पोखरा १२ स्थित निवासको आइसोलेसनमा छन् । उनको स्वास्थ्यमा खास अप्ठेरो नदेखिएको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । गुरुङलाई दोस्रोपटक संक्रमण भएको हो । उनी मुख्यमन्त्री छँदै २०७८ जेठमा पहिलोपटक संक्रमण भएको थियो । त्यति बेला ४२ दिनमा उनी निको भएका थिए ।


नेकपा एमाले कास्की अधिवेशन २३ पुसमा सुरु भएको थियो । अधिवेशन सकिँदा २९ गते भयो । नवनिर्वाचित पदाधिकारीको पदस्थापन ३० गते भयो । त्यो अधिवेशनले एउटा राजनीतिक नतिजामात्रै निकालेन, धेरैको कोभिड १९ परीक्षणमा पोजेटिभ रिपोर्ट पनि ल्यायो ।

उक्त अधिवेशनमा भाग लिई नवनिर्वाचितमध्ये सचिव बैनबहादुर अधिकारी अहिले कोभिड १९ संक्रमण भएर घरमै आइसोलेसनमा छन् । जिल्ला समन्वय समिति कास्की संयोजक अधिकारीमात्रै होइन, अधिवेशनका अर्का सहभागी मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्याम, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, प्रदेश कमिटी उपसचिव रश्मि आचार्य पनि संक्रमित भएका छन् ।


उनीहरुले आफूहरुलाई कोभिड संक्रमण भएको आफैंले सार्वजनिक गरेका हुन् । पोखरा २० का वडाध्यक्ष सिम गुरुङ पनि संक्रमित भएका छन् । एमालेका अर्का नेता झपट रानाभाट पनि संक्रमित भएर होम आइसोलेसनमा छन् ।

गण्डकी प्रदेशमा गएको मध्य पुसदेखि यता कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ । प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै संक्रमित कास्कीमा छन् । कास्कीमा ४ माघसम्म सक्रिय संक्रमितको संख्या ८ सयको हाराहारीमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । कास्कीमा संक्रमण दर वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । तर त्यस्ता भेला भइरहेको देखिन्छ । अनौपचारिक छलफल, भेला र भीडभाड थुप्रै भइरहेका छन् ।


गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्मा संक्रमण दर बढ्नुको कारण स्वास्थ्य मापदण्ड पालनामा भएको हेलचक्र्याइँ मान्छन् । ओमिक्रोन त केही रहेनछ भन्ने ठान्ने, भीडभाडमा जाने सर्वसाधारणदेखि सबैजसोको मनोवृत्ति र प्रवृत्ति देखिएको उनी बताउँछन् ।


त्यसो त गण्डकी प्रदेशको राजधानी पोखराका प्रमुख अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी पनि धमाधम संक्रमित भइरहेका छन् । संयोजक शर्माले स्वास्थ्य कार्यालयका कर्मचारी र स्वास्थ्यकर्मी संक्रमित भइरहेको बताए ।ती १५ मध्ये ८ जना चिकित्सक छन् । प्रतिष्ठानमा पढिरहेका विद्यार्थी पनि संक्रमित भएको १ चिकित्सकले सुनाए । प्रदेशभरका साधारण बेडमा १३ जना, हाई डिपेन्डेन्सी युनिटमा १५ जना, आइसियुमा ७ जना, भेन्टिलेटरमा १ जना संक्रमित छन् ।

तपाईको प्रतिक्रिया