आहा रारा फुटबल भोलिदेखि

अभिषेक अधिकारी २०७८ माघ ५ गते १३:१९
????? ????????????–?? ?? ??????????? ?????????? ?? ??????? ????? ??????? ???? ? ? ????? ???????? ?? ?? ???? ?? ?????? ?????? ??????? ????? ? ? ?????? ? ?????? ?????, ????

अभिषेक अधिकारी
पोखरा ।
आयोजक सहारा क्लब पोखराले माघ ६ देखि हुने २० औं संस्करणको आहा रारा गोल्डकपको टाइसिट मंगलबार सार्वजनिक गरेको छ । नक आउट प्रणालीमा खेलाइने प्रतियोगितामा ए डिभिजन लिगका सुपर जायन्ट मनाङ मस्र्याङदी क्लब र मछिन्द्र फुटबल क्लब फरक समूहमा परेका छन् । यी २ को जम्काभेट हुन दुबैले फाइनल यात्रा तय गर्नुपर्ने भएको छ ।


उद्घाटन खेलमा आयोजक सहारा र एपिएफ क्लबबीच सामना हुँदै छ । सुरुवाती खेलमा नै बलियो टिम एपिएफसँग सामना गर्न लागेको सहाराले सुरुआतमै फलामे चिउराको सामना गर्नुपर्ने छ । एउटै समूहमा रहेको आमेरिकी टिम भुटनिज युथ स्पोर्टस क्लब बाइमा परेसँगै सहारा र एपिएफबीचको खेलको पर्खाइमा छ । त्यसो त आयोजक सहाराले आफ्नो पहिलो पत्रकार सम्मेलनमा भुटनिज अमेरिकामा एकेडेमी डिभिजन च्याम्पियन रहेको भन्दै उत्कृष्ट क्लब बताएको थियो ।


डिफेन्डिङ च्याम्पियन संकटा र जारी ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको मछिन्द्रको पहिलो चरणको खेल माघ १० गते तय छ । केही साताअघिसम्म लिगको तेस्रो स्थानमा रहेको संकटा माघ १ गते थ्रि स्टार फुटबल क्लबसँगको १–० को हारसँगै पाँचौं स्थानमा छ । संकटाको यस सिजनको लिगमा यो पहिलो हार थियो भने मछिन्द्रको अपराजित यात्रा कायम छ । यी २ बीचको विजेताले सेमिफाइनलको यात्रा तय गर्ने छ । यो सिजनको लिग डिभिजन खेलमा संकटा र मछिन्द्रबीचको खेल गोलरहित बराबरीमा रोकिएको थियो ।

Advertisement


हालैमात्र संकटाका प्रशिक्षक विष्णु गुरुङले राष्ट्रिय टोलीको सहप्रशिक्षकको जिम्मा पाएका छन् । उनी सहारा एकेडेमीको पहिलो ब्याचका विद्यार्थी हुन् । उनले आहा राराको ५ औंदेखि ७ औं संस्करणसम्म खेलाडीका रुपमा खेलेका थिए । सहाराले पहिलोपटक १२ संस्करणमा आहा रारा उपाधि जित्दा उनी सहाराकै प्रशिक्षक थिए ।


अर्को समूहतर्पmको खेल माघ ७ मा हिमालयन शोर्पा र नेपाल पुलिसबीचको हुँदै छ । मनाङ मस्र्याङदी र पुलिसबीचको खेल पुस ३ मा हुँदै गर्दा नेपाल पुलिस क्लबका प्रशिक्षक अन्नत थापाले समाधानसँग भनेका थिए, ‘पोखरा हाम्रो पनि घरेलु मैदान हो । पोखरामा पुलिसको गर्विलो इतिहास छ ।’ पहिलो संस्करणको क्याराभान गोल्डकपसँगै आहा रारा गोल्डकप लगातार ३ पटक र अन्य दुई संस्करण गरी पोखरामा पुलिसले ६ उपाधि जितेको छ । प्रशिक्षक थापाले क्लबले आहा राराको उपाधि लगातार ३ पटक जित्दा पुलिसको मिडफिल्ड धानेका थिए ।
अहिलो पुलिसको समय फेरिएको छ । विगतमा अपराजित यात्राको रेकर्ड राख्ने पुलिस जारी ए डिभिजन लिगका ८ खेल खेल्दासम्म ३ हार, ४ बराबरी र १ जितका साथ ११ औं स्थानमा छ । आहारारामा पनि १८ औं संस्करणको फाइनलको यात्रा तय गरेको पुलिस मनाङसँग पेनाल्टीमा ४–३ ले पराजित भएको थियो ।

Advertisement


प्रतियोगिताको सातौं संस्करणमा धरान फुटबल क्लबलाई १–० को अन्तरले पराजित गर्दै पहिलोपटक सहभागिता जनाएको हिमालयनले अहिलेसम्म उपाधि जित्न सकेको छैन । लिगमा ७ औं स्थानमा रहेको हिमालयन शोर्पा र नेपाल पुलिसबीचको खेल १–१ को बराबरीमा रोकिएको थियो । आहाराराको पहिलो चरणको खेलमा हिमालयन र पुलिसबीचका विजेताले कवाटरफाइनलमा मनाङ मस्र्याङ्दीको सामना गर्नुपर्ने छ ।
यसै समूहतर्पmको पहिलो चरणको खेल अन्तर्गत नै थ्रि स्टार र त्रिभुवन आर्मीबीच माघ ११ गते खेल हुँदै छ । आहाराराको १७ औं संस्करणको फाइनलमा आर्मीलाई २–२ मा रोकेको थ्रिस्टारले टाइब्रेकरमा ४–५ मा हराउँदै पाँचौ पटक उपाधि जितेको थियो । यी २ टिमबीचको विजेता टाइसिट अनुसार क्वाटरफाइनलमा बाईमा परी सेमिफाइनल पुग्नेछ ।


खेल तालिका अनुसार प्रतियोगिताभर ९ खेल हुने छ । प्रतियोगिताको पहिलो सोमिफाइनल खेल माघ १२ र दोस्रो सेमिफाइनल खेल माघ १३ मा हुनेछन् । फाइनलअघि १ दिन विश्राम छ । फाइनल खेल १५ गते हुनेछ । हरेक खेलको सुरुवात मध्याह्न २ बजे हुनेछ । पहिलो चरणका खेलमा संकटा र मछिन्द्र, थ्रिस्टार र त्रिभुवन आर्मी तथा सहारा भर्सेस एपिएफको खेललाई विशेष रुपमा हेरिएको छ । भुटनिज युथ स्पोर्टस क्लब पहिलोपटक आएकाले त्यता पनि दर्शकको चासो छ ।


दर्शकबिनाको खेल
पोखरेली फुटबलप्रेमीले २० वर्षदेखि निरन्तर पोखरा रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब आमन्त्रित आहारारा गोल्डकप हेर्न पाएकोमा यस वर्ष भने ब्रेक लागेको छ । देश कोरोनाको चपेटामा पर्दै गर्दा आयोजक सहाराले सम्पूर्ण खेलप्रेमीलाई घरमै डिजिटल माध्यमबाट खेलको आनन्द उठाउन अनुरोध गरेको छ । त्यसो त सरकारले माघ २ गते देशका रंगशालामा सिट क्षमताको एक तिहाई दर्शक राख्न अनुमति दिएको थियो । संक्रमण बढ्दै गए खेल हुने दिनसम्म यसमा पनि कडाइ हुन सक्छ ।


सहारा अध्यक्ष हरिराम गुरुङ (सुरज) ले पोखरामा कोरोना कहर बढ्दै गएका बेला रंगशालामा दर्शकको भिड रहने र प्रवेशद्वारदेखि नै दर्शकको लामो लाइन लाग्ने हँुदा जोखिम मोल्न नहुने बताए । आहारारा गोल्डकप मोफसलकै चर्चित स्पर्धा हो । सहाराले सहारा एकेडमी सञ्चालन गरी १४ जिल्लाका बालकलाई स्वास्थ्य, शिक्षा र फटबल प्रशिक्षण दिँदै आएको छ । खेलाडी अनिल गुरुङ सहाराकै विद्यार्थी हुन् ।
एकेडेमीको मुख्य आय स्रोत नै आहा रारा गोल्डकप हो । एकेडेमीमा आर्थिक समस्या आएको भन्दै उद्योगपति सूर्यबहादुर केसीको परिवारले अब वार्षिक १५ लाख सहयोग गर्ने भएको सहारा अध्यक्ष हरिराम गुरुङले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताए ।


राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले पोखरामा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई कोभिडको कालो बादलले ढाकेको जनाए । पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले भने, ‘खेलकुदका लागि सरकारले राम्रो सहयोग गरेको छ । स्विमिङ पुल र सुटिङको मैदान तयार गर्नुपर्नेमा ती बनिसकेका छन् । तर कोरोनाको त्रासले प्रतियोगितामा अन्योल छाएको छ ।’

तपाईको प्रतिक्रिया