पाेखरामा जंगलको बीचमा अवैध उत्खनन्

९ सय ४३ घनमिटर ढुंगा उत्खनन भएपछि सवारी साधन नियन्त्रण

सञ्जय रानाभाट २०७८ माघ ७ गते १४:२५

सञ्जय रानाभाट
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २१ मा रहेको डाङडुङे खोला र वरिपरिका जमिनबाट अवैधरुपमा ढुंगा उत्खनन् भएपछि पोखरा महानगरपालिकाले ५ वटा सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

Advertisement


शुक्रबार खोला र जंगलबाट अवैध रुपमा प्रकृतिक स्रोत ढुंगा उत्खनन गर्दा प्रयोग भएको एउटा स्काभेटर, २ वटा ट्याक्टर र २ वटा टिप्परलाई जरिवाना तिराइएको पोखरा महानगरपालिकाको राजस्व महाशाखाका कृष्ण तिवारीले बताए । तिवारीका अनुसार शुक्रबार महानगरपालिकामा आएर ५ वटै सवारीको राजस्व बुझाएका छन् । ‘महानगरपालिकाले स्काभेटरको ५० हजार, ट्याक्टरको १० हजार र टिपरको १५ हजार जरिवाना लिएको छ । उत्खनन गरेर राखिएका ढुंगाहरु महानगरपालिकाले जफत गर्छ,’ उनले भने ।


उत्खनन गरिएको ठाउँ घाट नभएर खहरे खोला भएको महानगरको प्राविधिक टोलीका जगनाथ कोइरालाले बताए । ‘यसअघि महानगरपालिकाले उक्त खोलामा टेन्डर पनि आह्वान गरेको थिएन । जंगलको बीचमा उत्खनन भइरहेको रैछ, महानगरपालिका अनभिज्ञ थियो । प्रहरी, वडा र स्थानीय पुगेर खबर गरेपछि महानगरपालिकाले कार्यालयमा झिकाएर कारबाही गरेको हो,’ उनले भने ।

Advertisement


महानगरपालिकाको प्राविधिक टोलीले फिल्ड भिजिट गरी उक्त ठाउँमा ९ सय ४३ घनमिटर ढुंगा उत्खनन भएको प्रतिवेदन दिएको छ । कोइरालाले भने, ‘यसरी सार्वजनिक ठाउँमा ठूलो मात्रामा ढुंगा उत्खनन भएको थाहा पाएपछि महानगरपालिका झिकाएर तत्काल कारबाही गरेका हौं ।’


२१ का वडाध्यक्ष, पोखरा महानगरपालिको प्राविधिक टिम, डिभिजन वन कार्यालय पोखरा र नागरिक समूह नदीजन्य पदार्थको उत्खनन तथा ओसारपसार भएको ठाउँमा पुगेको थियो । वडाध्यक्षसहितको टोलीले प्रहरीलाई खबर गरेपछि वडा प्रहरी कार्यालय छोरेपाटनल उत्खनन तथा ओसारपोसारमा प्रयोग भएका ५ वटा सवारीको चाबी नियन्त्रणमा लिएको थियो । ‘महानगरपालिकाको कुनै अनुमति नलिई अवैध उत्खनन भएको शंका लागेपछि हामीहरु फिल्डमा पुगेका थियौं । वडासँग अनुमति पनि लिएको छैन । हामीसँग त्यो अधिकार पनि छैन । कसरी यो काम भयो अहिलेसम्म खुलेको छैन,’ २१ का वडाध्यक्ष खगराज आर्चायले सुनाए । प्राकृतिक स्रोत उत्खनन् गर्ने सिफारिस गर्ने अधिकार वडालाई नभएको वडाध्यक्ष आचार्यले बताए । ‘सत्यतथ्य के हो महानगरपालिकाले खोजी गर्नुपर्छ । फिल्डमा हामीहरु पुग्दा लापुर्जा, नक्सा, तिरो तिरेका रसिद, नागरिकता, निवेदन केही थिएन,’ उनले भने ।


केही कागजपत्र नभएपछि यसलाई आफूहरुले चोरी निकासीको संज्ञा दिएको वडाध्यक्ष आचार्यले बताए । ‘बाटोमा ठाउँठाउँमा ढुंगा राखिएको छ । लस्कर राखिएको ढुंगा केही नदीबाट र केही जमिनबाट स्काभेटरको सहायताले निकालिएको रैछ,’ उनले भने । गैरकानुनी गतिविधि गर्नेलाई जरिवाना मात्र हैन कानुनी प्रक्रियामा अगाडि बढाउनुपर्ने अध्यक्ष आचार्यले बताएका छन् । ‘ढुंगा थुपारिएको ठाउँमा स्थलगत अध्ययन गरी कुन परिणामा ढुंगा उत्खनन भएको हो ? प्राविधिक मूल्यांकन गरेर कानुनी प्रक्रियामा अगाडि बढ्न पर्छ,’ उनले भने ।


वडाध्यक्ष सहितको टोली फिल्डमै पुग्दा ढुंगा ओसारपोसारमा संलग्न एकजना टिप्पर चालकले आफू त्यस दिनमात्र आएको बताएका छन् । ‘यो चेनवाला डोजरले लोड गरेको ढुंगा हो । डोजर कसको हो । थाहा छैन । मैले चलाएको टिपर राना ढुवानीको हो । क–कसले केका लागि ढुंगा लगेको छ मलाई केही थाहा छैन,’ ती चालकले भनेका छन् ।


‘वन क्षेत्रको प्रयोग भएकाले वन कार्यलयले कारबाही गर्छ’
उत्खनन भएको ठाउँमा वन डिभिजन कार्यालयले घटनाको बारेमा छुट्टै प्रतिवेदन तयार गरिरहेको कार्यालयका सहायक अधिकृत शालिग्राम पराजुलीले बताए । ‘महानगरपालिकाले के ग¥यो हामीलाई अहिलेसम्म थाहा छैन,’ सहायक पराजुलीले भने, ‘हामीहरुले उत्खनन भएको ठाउँको प्रतिवेदन तयार गर्दै छौं । घटना के हो । कसले गरेको हो । वन क्षेत्रको कति प्रयोग गरिएको छ । दोषी ठहरिए कारबाही हुन्छ ।’
कार्यालयको प्रारम्भिक रिपोर्टमा वन क्षेत्रको प्रयोग गरेर ढुंगा उत्खनन गरेर देखिएको छ । ‘गैरकानुनी क्रियाकलाप पर्नेलाई हामीहरु कानुनी प्रक्रियामा जान्छैं । प्रतिवेदनबाट दोषी ठहरिए मुद्दा हाल्छौं । हामीहरुले फेवा सबडिभिजन वन कार्यालयको कार्यक्षेत्र पर्ने भएकाले अधिकृतलाई कारबाहीको माग गर्दैै पत्र लेखेका छौं,’ पराजुलीले भने ।


सार्वजनिक कि निजी जग्गा ?
वडा प्रहरी कार्यालय बैदामले महानगरपालिकालाई बुझाएको पत्रमा उक्त ठाउँ व्यक्तिको भएको उल्लेख गरेको छ । यता महानगरपालिकाको प्राविधिक टोली पुगेर नाम जाँच गर्दा व्यक्तिको नामको जग्गा नभई त्यो ठाउँ सार्वजनिक भएको महानगरपालिका राजस्व शाखाका कृष्ण तिवारी बताउँछन् ।
वडा प्रहरी कार्यालय बैदामले महानगरपालिकालाई बुझाएको पत्रमा उक्त ठाउँ व्यक्तिको नाममा लालपुर्जा भएको उल्लेख गरेको छ । पत्रमा लेखिएको छ, ‘माघ ३ गते साँझको अन्दाजी ५ बजेको समयमा जिल्ला कास्की महानगरपालिका वडा नम्बर २१ भालेडाँडा स्थित स्रोत सोभित मल्लको निजी जग्गाबाट राम रानाले अवैध रुपमा स्काभेटर प्रयोग गरी ढुंगा उत्खनन गरी निकाली टिपरमा लोड गरी लगेको भन्ने सूचनाका आधारमा उक्त स्थानमा प्रहरी टोली गई ढुंगा उत्खनन गरी स्काभेटरसहित ढुंगा लोड गरी राखिएका टिपर लगायत ट्याक्टरहरु नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि उक्त सवारी साधानको चाबी लगायत कागजपत्रहरु पठाइएको छ ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया