ईश्वरमणि अधिकारी
तिम्रा बारेमा यसरी औपचारिक कार्यक्रममा नबोलेको नि धेरै भएछः दीपक । सायद १६/१७ वर्षअघि तिम्रो गजल संग्रह ‘भूगोलभित्र नकोरिएको देश’लाई साक्षी राखेर बोलेको थिएँ, त्यसपछि तिम्रो एकल गजलवाचनमा बोलेको याद छ । बीचबीचमा एकाध पटक तिम्ले पुरस्कार या सम्मान ग्रहण गर्दा बोलेँ कि ? तर जतिपल्ट बोले पनि तिम्रा बारेमा बोल्ने, लेख्ने या पढ्ने प्यास मेटिन्न । तिम्रोबारेमा नत्र परिचय नै भनेर खासै बोल्नुपर्ने त के छ र ? यहाँ जो हुनुहुन्छ, उहाँहरू तिम्रा बारेमा मैलेभन्दा धेरै जानकार हुनुहुन्छ भन्ने मैले ठानेको छु र पनि आयोजक संस्थाको जिम्मा र आफ्नो प्यास मेट्ने कोसिस गर्ने छु ।
चालिसको दशकको अन्त्यतिर हुनुपर्छ, युवा मञ्च पनि पढिन्थ्यो । राशिफल, चुटकिला र पत्रमित्र स्तम्भ हेरिसकेपछि, मुक्तकको पालो आउथ्यो । त्यहाँ लमजुङ ठेगाना उल्लेख गरेर दीपक समीप, रमेशचन्द्र घिमिरे, सरस्वती श्रेष्ठ ‘सरू’का मुक्तकहरू भेटिन्थे । ए लमजुङकै रैछन् भनेर दोहो¥याएर पढिन्थ्यो ।
साथीहरू धेरैले दीपकलाई दीपक दाइ भन्छन् । गजल/मुक्तक लेखन र प्रकाशनका हिसाबले मैले पनि दीपकलाई दाइ नै भन्दा हुन्छ । पहिले उसको लेखनलाई चिनेर र पछि यतै पोखरामा चिनेको हो मैले दीपकलाई । हुन त ठेगानामा हामी प्रायः लमजुङ झुण्डाउँछौं । त्यसो त २÷४ पल्ट लमजुङका साहित्यिक कार्यक्रममा जान नभ्याएकाले मैले जस्तै उसले पनि ठेगानामा लमजुङ नलेख है भन्ने प्रेमिल धम्की खाएका छौं, खासमा लमजुङका साथीहरूको ।
नेपाली मुक्तकको गौरवपूर्ण इतिहास बोकेको सहर पोखरामा मुक्तकको अर्को यौटा सुन्दर र संग्रहणीय किताब निस्केको छ ।
दीपक मुक्तक लेख्छ, दीपक गजल लेख्छ, ऊ कथा लेख्छ, कविता लेख्छ । बेला बेला, समीक्षा र समालोचना पनि लेख्छ । मुक्तक उसको लेखनको जेठो विधा हो, तर ऊ जे लेख्छ, अत्यन्त जिम्मेवार भएर भएर लेख्छ । उसको लेखकीय स्पर्श सामथ्र्यको प्रशंसा गर्दा साथीको प्रशंसा गरेको आरोप झेल्नु पर्दैन भन्ने मेरो विश्वास छ । मेरो जस्तै यहाँहरूको पनि त्यस्तै विश्वास छ र त सबैको उत्तिकै समीपमा छ दीपक । यसैले त उसलाई छिमल र अनुज पुस्ताहरूको माझ दीपक समीपबाट दीपक दाइ बनाएको छ । कहिलेकाँही त म पनि झुक्किएर दीपक दाइ भन्छु । मज्जाले हाँस्छ ऊ ! हो यार हाँस्दा पनि दिल खोलेर हाँस्छ–दीपक ।
हाँस्नु, साथीहरूबीच रम्नु–रमाउनु उसको जीवनको सुन्दर पक्ष हो । दीपक, प्रकाश, जीवन र म अलिक बाक्लै भेटिन्थ्यौं कुनै बेला । समकालीन, अग्रज र अनुज पुस्ताका साथीहरूले रचनात्मक इष्र्या गर्ने खालको भेटघाट र बस उठ्थ्यो र छ पनि । भलै, अहिले समयले त्यो बसाइ अलिक पातलिएको छ । यिनीहरू भेटिएपछि, मलाई पक्कै त्यही कुरा सोध्छन्, अरू जे जे भने नि त्यो कुरा त ज्यान जाला भन्दिनँ भनेर निस्किन्थ्यो रे, ऊ घरबाट । गफ गर्दै जाँदा दुई, चार घण्टा नबित्दै आफैं मच्चिमच्ची भनी भ्याउथ्यो ऊ त्यही कुरा । अनि बल्ल भन्थ्यो, ‘ला यार, जे जे भन्दिनँ भनेको त्यो त भनिसकेछु ।’ यस्तै सहज र भरोसायोग्य मित्रताको माखेसाङ्लोले बाँधिएका छौं हामी एकापसमा । सायद त्यसैले यो स्रस्टा परिचय कम र यार चर्चा बढी हुन सक्छ । म सकभर सन्तुलित हुने कोसिसमा छु ।
समता काव्य सन्ध्याका सुरुवाती दिनमा पनि दीपक प्रायः गजल, मुक्तक नै सुनाउथ्यो । पछि, ऊ गजल सन्ध्याको अध्यक्ष पनि भयो । ‘दीपक नै अध्यक्ष भएपछि त गजल सन्ध्या पनि हाम्रै भयो नि है !’ एक दिन चिया पसलमा ऊ बेला पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष गौतम बिजुक्छेले भनेको सम्झेँ ।
सायद त्यही हाम्रोपनले विस्तारै गजल सन्ध्याका कार्यक्रमहरूमा तानिएँ म पनि । भेटघाट र कार्यक्रमहरूको चापसँगै गजलका केही सैद्धान्तिक कृति नि पढियो । गजलकै बारे पनि बोलियो, लेखियो । विस्तारै, गजल पनि लेखिएछ, यौटा किताबलाई पुग्ने । साथीहरूले केही गजल गाए पनि, रिकर्ड पनि भए । किताबले थुप्रै चर्चा र पुरस्कार पनि पायो ।
मान्छेहरूले कार्यक्रममा दीपकलाई जस्तै मेरै नामका अगाडि पनि गजलकार भन्दिन्थे, म झुक्किन्थें । अहिले पनि कसैले गजलकारको फुर्को झुण्ड्याउदा झस्किन्छु म । मेरो यो गजलायात्राको खास सहयात्री हो गजलकार दीपक समीप । सायद उसले त अर्को किताबलाई पुग्ने गजल लेखेको होला, मलाई दीपक कवि या मुक्तककार भन्दा गजलकार नै बढ्ता लाग्छ । र सँगै, यौटा सन्देह नि छ मनमा, ३० वर्ष अघिदेखि लेख्न थालेको मुक्तक को त बल्ल पहिलो किताब निकाल्दै छ । त्यै नि अघिल्लो किताब निस्केको झन्डै १८/२० वर्षपछि, यही ट्रेन्ड समात्यो भने अब यसको अर्को किताब खै कहिले निस्केला ? हामीमध्ये कतिले देख्न भ्याउछौं होला त्यो किताब ? शंकै छ यार ।
‘बाबु छोरा ! बाबालाई नमस्ते गर ल । दुई बर्षे छोराले बालसुलभ लजाउँदै दुई हात जोड्ने क्रममा उसको अनुहार पुर्लुक्क हेर्छु म । म उनको छोरोभन्दा बढी लाजले रातो हुन्छु । यो बाक्लो ज्याकेट नहुँदो हो त मुटुको हलचल सायद बाहिरसम्म प्रष्ट देखिदो हो’
बाबु तिम्रो नाम के हो ?
समीप प्रधान हो यसको नाम ।
यता, बिहे गरेको वर्ष दिनमै छोरो जन्मियो । पण्डित बाजेले राशिको नाम राखे । मैले पनि राखेँ समीर । तर उनलाई त्यो नाम चित्त बुझेन । प्रशान्त राख्नुपर्छ छोराको नाम । म नराम्रोसँग झस्केँ ।
त्रासदी नाम दिएर फुटकर रूपमा प्रकाशित उनको लामो मनोवैज्ञानिक कथाको फरक फरक अंश बोलेँ मैले । त्यसो त उनी लामा कथामा भन्दा पनि छोटा छोटा लघुकथामा बढी सशक्त र प्रभावकारी देखिन्छन् । केही महिनाअघि नयाँ किताबको पाण्डुलिपिमा काम गर्दै छु भन्थ्यो । मैले सोचें कथा संग्रह निकाल्दै रहेछ कि क्या हो । आखिर मुक्तक संग्रह निकालेर हाजिरी जनायो । हामीसँगै हल्काफुल्का गीत, गजल लेखेर साहित्यको मेलो पसेका साथीहरू आख्यानकार भएर निस्किसके । मलाई तिम्रो लामो आख्यान पढ्ने धोको छ, दीपक ।
ऊ सानोमा पौडी खेलेको कुरा सुनाउँछ । माछा मारेको कुरा पनि सुनाउँछ । अझ कहिलेकाँही त अँगेनामा ताप्के बसालेर खेतमा माछा छोप्न हिँडेको कुरा पनि सुनाउँछ ।
ऊसँगै अक्षरयात्राहरूमा, संरक्षण कविता आन्दोलनहरूमा र अन्य थुप्रै कार्यक्रम तथा गतिविधिमा लामो संगत गरेको म र म जस्ता अरू थुप्रै साथीभाइ भेटिँदा स्कुलको होस्टेल बस्दाको चकचकदेखि पोखरा झरेर गरेका संघर्षका कुरा, कतिपय साथी–संगीसँग परेका मनमुटाव र प्रेमिल लगावदेखि हवाई पत्रिका निकाल्दा ताकाका रमाइला किस्सा पनि सुनाउँछ । सँगै, एउटा टेलिफिल्ममा खलनायक भएर खेल्दा नायकलाई ख्यालख्याल कुट्नु पर्ने दृश्यको सुटिङमा साञ्चै कुटेर घाइते बनाएको कुरा पनि सुनाउँछ । तर, झण्डा बोकेर झण्डा पछिपछि दौडेको, गुट उपगुटमा विभक्त भएको कुरा कहिल्यै सुनाउँदैन । भए पो सुनाओस् । तर मलाई ऊ विचार प्रजातान्त्रिक, लेखनले प्रगतिशील र स्वभावले समाजवादी लाग्छ । त्यसैले त प्रिय छ ऊ, तपाईहरुलाई पनि मलाईजस्तै । र समीपमा छ ऊ सबैको ।
कुनै बेला पोखरेली युवा सांस्कृतिक परिवार, गजल सन्ध्या पोखरा जस्ता संस्थामा नेतृत्वदायी भूमिका रहेको दीपक अहिले पोखराका थुप्रै संघ, संस्थामा विभिन्न भूमिकामा छ । सोतीपसल लमजुङमा जन्मे, हुर्केर, २ छोरा, आमा र श्रीमतीसँगै पोखरामै बस्दै आएको ऊ पोखरा औद्योगिक क्षेत्रभित्रै रहेको प्रतिष्ठित व्यापारिक घरानामा व्यवस्थापकीय भूमिकामा छ । २ दिदीमध्येकी १ सरस्वती श्रेष्ठ ‘सरू’ उसकी जत्तिकै हाम्री पनि दिदी बनेकी छन् पोखरेली साहित्यिक वृत्तमा । दीपकका केही गीत, गजल रेकर्ड भएका छन् । धेरै ठाउँमा गजलका एकल तथा सामूहिक वाचन भइसकेका छन् । गजलवाचनमा राम्रै जम्ने गजलकारमा पर्छ ऊ ।
दीपकले थुप्रै पुरस्कार र अभिनन्दन ग्रहण गरिसकेको छ । तर त्यसका पछि कहिल्यै दौडेको छैन । बरु भन्छ, ‘के गर्ने यार ५ हजारको पुरस्कार थाप्न जाँदा उस्तै परे २० हजार सकिन्छ ।’ पद, पुरस्कार र नचाहिँदो प्रचारबाजीबाट टाढै छ, त्यो त मलाई नि ठीकै लाग्छ ।
तर उसलाई सम्मान गर्नैपर्ने अर्को रोचक पक्ष छुटेको छ भन्ठान्छु म । त्यो हो, लेख्न र छाप्नप्रतिको उसको अल्छीपन । बरु, सोसियल मिडियामा झुन्डिएर बसिराख्छ, अन्तिम नपरी लेख्दैन । कतिपय अनुजका किताब उसकै भूमिका समयमा नपाएर थन्किएका हुन् सक्छन् । उसको आफ्नै मुक्तक संग्रहमा पनि आमुखमा मुक्तकसम्बन्धी यौटा लामो लेख राख्ने भनेको थिएँ मैले । जसले अनुज पुस्तालाई केही मार्गनिर्देश गरोस् । हुन्छ नि भन्थ्यो । सायद त्यसैले उसकै किताब आउन नि ढिला भयो होला । भन्न त प्रकाशकले लामो नलेख भन्यो यार भन्छ होला, मैले सोध्दा । सोधेको त छैन तर मलाई लाग्छ, पक्कै पनि लेख्न झ्याउ लागेर यस्सो एक पेज लेखेको होला, भन्ठान्छु म ।
हुन त अरूलाई भन्न सजिलो छ, किताब निकाल्न सारै सुस्ती उसको बानी मलाई मेरै बानी जस्तो पनि लाग्छ बेला बेला । जे होस्, ढिलै भए पनि राम्रो किताब निस्क्यो । नेपाली मुक्तकको गौरवपूर्ण इतिहास बोकेको सहर पोखरामा आज मुक्तकको अर्को यौटा सुन्दर र संग्रहणीय किताब निस्कँदै छ । सायद पोखरा नै नेपालको एउटा त्यस्तो सहर हो, जहाँ किताब निस्कँदा स्रस्टाभन्दा पनि साथीहरू बढ्ता खुसी हुन्छन् । आज दीपकभन्दा बढ्ता खुसी हुनेहरूको लामो लिस्ट छ । म ठान्छु, उक्त लिस्टमा सबैभन्दा अगाडि म छु । तपाई पनि हुनहुन्छ । तपाइको, मेरो र हामी सबैको तर्फबाट अनन्त बधाई तथा शुभकामना छ दीपक ! अब अर्को किताब निकाल्नचाहिँ यति साह्रै अबेर नगर यार !
(समीपको किताब विमोचनको दिन शनिबार अधिकारीले स्रष्टा परिचय दिँदाको मन्तव्य)
ईश्वरमणि अधिकारी
त्रिभुवन विश्वविद्यालयमा गणितका प्राध्यापकसमेत रहेका साहित्यकार अधिकारी पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष हुन्
तपाईको प्रतिक्रिया