क्होंइपौत्सव र एउटा मृत्यु

तीर्थ गुरुङ २०७८ माघ ८ गते १९:३७


तीर्थ गुरुङ


गत पुस २८ को बिहान सिक्लेसको आकाश उज्यालो थियो, बादलरहित । मेरा फोटोग्राफर साथी प्रेमलाई मैले भनेको समेत थिएँ, बादलका केही त्यान्द्रा देखिए फोटो झन् सुन्दर निस्कन्थे । तर दिउँसोबाटै मौसम आकस्मिक किसिमले बिग्रन थाल्यो । आकाशमा बादल देखिने बित्तिकै पानी पर्न पो थाल्यो । एकपटक त क्षणिक हिमपात समेत भयो, काँध र टोपी अनि कर्मुहरूमा ती हिमकणहरू एक निमेषलाई बसे र बिलाएर गइगए । तर वर्षा भइरह्यो । लाग्यो, राम्रै हिमपात भए प्रेम जस्ता पहिलो पटक सिक्लेस पुगेका अतिथिहरूलाई रोमाञ्चको थप उपहार पनि हुन सक्थ्यो । तर त्यसो भएन ।


उक्त दिन कोभिड–१९ को कारण स्थगित हुँदै आएको च्विउली क्होंइपोको भव्य उद्घाटन समारोह चलिरहेको थियो । क्होला सोंथरको तमु राज्य विघटित भएपश्चात च्विउली (सिक्लेस) मा नयाँ राज्य स्थापना भएको र सो राज्य सञ्चालनको केन्द्र रिसफँलामा रहेको विश्वास गरिन्छ । त्यही स्थानमा सिक्लेसीको पहलमा करीब ३ करोडको लागतमा क्होंइपोको निर्माण सम्पन्न भएको छ । स्थानीयको होस्टे र देश बिदेशमा रहेका सिक्लेसीहरूको हैसेमा यो सपना साकार भएको छ जसका लागि डब्लुटु ङोलो बल बहादुर गुरुङको अतुलनीय सक्रियता थियो ।

Advertisement


प्रतिकूल मौसममा पनि त्यो दिन उनी एउटा कछाड र भोटोमाथि इष्टकोट र भाङ्ग्रा भिरेर सक्रिय थिए । अर्थ संकलन संयोजनमा गुरु पम बहादुर गुरुङको समर्पण पनि कम थिएन । प्रमुख अतिथिको रुपमा संघीय सांसद खगराज अधिकारी मादी गाउँपालिका अध्यक्ष वेद बहादुर गुरुङसँगै हेलिकप्टरमा आएका थिए । क्होंइपो निर्माणसित जोडिएका नामहरू सबै लेखिरहँदा साध्य पनि भएन ।

रू.पाँच लाख भन्दा माथिका चन्दादाताहरूका मूर्तिकार जित गुरुङको अनुहारमा पनि एक प्रकारको सन्तुष्टि झल्किन्थ्यो भने सिक्लेसीका सच्चा साथी बसन्त श्रेष्ठ दाइलाई पनि क्यामेराको क्लिक बटन थिच्न धौ धौ थियो । क्होंइपोभित्र पच्यु, ल्हौरी र लम खेकीहरू आ–आफ्ना जग्गेमा बसेर पुजा गर्दै थिए र आगुन्तुकलाई अशिमलाँ दिइरहेका थिए । इतिहासमा तिनका छुट्टाछुट्टै क्होंइपो अस्तित्वमा रहने गरेपनि अहिलेको यो संयुक्त क्होंइपो हो ।

Advertisement


महिलाहरू अनिवार्य जस्तै परम्परागत तमु पहिरनमा सजिएका थिए । कोही पकाउनमा, कोही खानामा, कोही फोटो खिच्नमा, कोही एकापसमा निर्वाध खुसी बाँडिरहेको त्यो माहोलमा स्वाभाविक किसिमले नाचगान त हुने नै भए । त्यो आफ्नैमा एउटा भव्य उत्सव थियो, खेकीहरूका लागि त एउटा महान् दिन नै थियो । कुनै महान् कार्य सम्पन्न भइसकेपछि कोही निर्णायक व्यक्तिहरू वाचडग झैं बस्छन्, अगाडि देखिन्नन् । मानवशास्त्री ङोलो पोलबहादुर गुरुङ यस्तै एकजना थिए जसले दुई शब्द बोल्न त परै जाओस् मञ्चतिर आसनको अपेक्षासमेत राखेनन् ।


यो समारोहलाई न भूतो न भविश्यतिः भन्न सकिन्थ्यो । स्थानिय भन्दा अतिथिहरूको उपस्थिति धेरै पो हो के झैं लाग्थ्यो । पोखराबाट बस र जिपको ताँती लागेको थियो । तमु प्हे ल्हु संघका विभिन्न निकायबाट सदस्यहरू आएका थिए । जापान, अमेरिका र युकेमा बस्दै आएका सिक्लेसीहरूको विशेष उपस्थिति थियो । डा. सुमित्रा मानन्धर गुरुङले क्होंइपोको पुस्तकालयको निम्ति डा. चन्द्र गुरुङ परिवारको नाममा केही पुस्तकहरू दिनुभयो । पुस्तकप्रेमीहरूका लागि त्यसले खास अर्थ राख्छ ।

अरु सबै काम सम्पन्न भइसकेको जस्तो भए पनि पुस्तकालयको काममा बल्ल बिजारोपण भएजस्तो छ । गएको राति नै एमाले कास्कीको अध्यक्षमा निर्वाचित प्रदेश सांसद स्थानिय मन बहादुर गुरुङको मुस्कान र उत्साहले पनि समारोहलाई शोभा दिइरहेका थियो । अवश्य पनि उनको मनमा दोहोरो उत्सव चलिरहेको थियो । उनको सम्भाषणको प्रशंसा गरियो ।


उत्सवमा सहभागिता जनाउन युकेबाट ङोलो होम बहादुर गुरुङ पनि आएका थिए । जिन्स पाइन्ट, रातो स्वीटरमाथि कोट, गलबन्दी र न्युजब्वाए टोपीमा चिटिक्क परेका चुस्त दुरस्त ङोलो गोरेलाई कसैले साठी माथिको भनेर भन्न सक्ने अवस्था थिएन । आप्mनो चिरपरिचित न्यानो मुस्कान, आँखामा अप्नत्व बोकेर क्होंइपो परिसरमा उनी आफन्तजनसित बोलिरहेका थिए, सन्चो बिसन्चो सोधिरहेका थिए । म भोलि आउँछु है फोच्यो भनेर आप्mना फुपू याने कि मेरी आमालाई भनी भ्याएका पनि थिए ।


उल्लासमय प्रतियोगितात्मक नाचगान हुँदै गर्दा दिन ढल्ने बेलातिर ङोलो गोरे मञ्चमा उक्लिए । गीत बज्न थाल्योः माया भेटियो बन्दीपुरैमा, पिरिम बसिगो कुरैकुरामा । स्नेहा नामकी युवतीसित ङोलो त्यही युवाकालीन जोशमा नाच्न थाले । युवतीको नृत्यले बताउँथ्यो उनी अब्बल दर्जाकी नर्तकी हुन् । र, सामान्यतः यस्ता समारोहहरूमा युवतीकै भावभङ्गिमाले दर्शकको ध्यान आकृष्ट गर्छन् तर ङोलो पनि कम थिएनन् । बेलाबेलामा उनको अनुहारको हाउभाउ र अभिनयले मान्छेहरू मन्त्रमुग्ध भएको स्पष्ट थियो ।

पुराना मान्छेहरूले उनको नाचको पुनःअवलोकन गर्ने अवसर पाए भने नौजवानहरूले आप्mनै माटोको एउटा प्रतिभासित साक्षत्कार गर्न पाए । मुख्य कक्ष भरिने पक्का भएर बाहिरको हलमा पनि प्रोजेक्टर राखिएको थियो । सबैका आँखा ठूलो पर्दामा टाँसिएका थिए । फेसबुक लाइभ नहुने त कुरै थिएन । बाहिरी कक्षमा मसँगै बसिरहेका युवा नेता देवीजङ्ग भाइले त भने, ‘हामी जस्ता ऐरै गैरेले गरेको भए के गरिरहेको होला त्यस्तो पनि भनिन्थ्यो तर अर्का कलाकार भएपछि कति सुहाएको है दाइ ।’


साथी प्रेम पनि ‘नाच त गज्जबकै रहेछ, भिडियो गर्छु’ भन्दै भित्र छिर्न गए । मैले आप्mना स्मृतिको क्षितिजबाट टिपेर केही कुरा देवीजङ्गलाई साझा गरें, ङोलो गोरेको नाचगानप्रतिको समर्पणभाव कस्तो थियो, कसरी उनी युवायुवतीहरूमाझ मात्र हैन, बुढाबुढी र केटाकेटीबिच पनि उत्तिकै लोकप्रिय थिए ।

मेरो सम्झनाले साथ दिएसम्म कसरी उनले गाउँमा पहिलोपटक गितार ल्याएका थिए र कसरी उनले कसैको आवाज रिकर्ड गर्दै सुनाउने बडेमानको टेपरिकर्डर छुन हामी केटाकेटी लालयित हुन्थ्यौं । तर मैले सुनाउन पाइनँ कसरी हिमाली भेकको पहिरनमा सजिएर उनी नाच्थेः नाचो मैच्याङ तिमी डम्फुको तालैमा…। कसरी अनौपचारिक किसिमले दिउँसै उनी घरघरमा गितार बोकेर पुग्थे र आपैm कृष्ण चरित्र गाएर नाच्थेः खाँदरे बा इँदरे बा, भिक्षा माग्न आयो राजाज्यूको दरबार..(मैले यस्तै सुनेको जस्तो लाग्छ) । यस्ता कुराहरू पछि ऐनमौकामा सुनाइएला ठानियो किनभने मनोरम नाचमा नै हाम्रो ध्यान केन्द्रित थियो ।


र, मलाई लाग्न थालेको थियो, ङोलो धेरै थाकिसकेका छन् अब उनको हाउभाउ स्वस्फूर्त थिएन बरु थियो जबर्जस्ती बनाइएको जस्तो । उनको अनुहारमा अब नाचको आनन्द बाँकी थिएन बरु छाउन थालेको थियो तनाव । नजिकै भए भन्ने थिएँ हुँला, भयो ङोलो आराम गर्नुस् । तर एउटा बहादुर सैनिकले बिचैमा युद्ध छोडेर जाने कल्पना पनि त गर्न सकिन्नथ्यो । थकित र अत्यास लागेको जस्तो ङोलोलाई देखेर होला मलाई त्यो गीत निकै लामो लाग्यो । अन्ततः गीत सिद्धियो र उनीहरूले दर्शकलाई अभिवादन गरे । अनि ङोलो गल्र्याम्म अगाडि ढले र सायद धेरैको मनमा लागेको हुँदो हो, यो नाचकै एउटा भाग हो, अभिनय हो । तर त्यो उनको अस्वाभाविक अचलताले मान्छेहरू मञ्चमा तानिए । उनलाई सिधा उठाइयो र झट्काइयो । कुनामा पुर्‍याइएर सिपिआर गर्दै प्राथमिक उपचार दिने भरमग्दुर प्रयास गरियो । म मञ्चमा पुग्दा ङोलोको अनुहार निष्प्राण लाग्थ्यो, कान्तिहीन ।

ङोलो गल्र्याम्म अगाडि ढले र सायद धेरैको मनमा लागेको हुँदो हो, यो नाचकै एउटा भाग हो, अभिनय हो । तर त्यो उनको अस्वाभाविक अचलताले मान्छेहरू मञ्चमा तानिए ।


क्होंइपो परिसरको पाश्र्व भागमा आफ्नो आमाको स्मृतिमा उनले हेलिप्याड निर्माण गराउन लागेको ठाउँका सामानहरू हटाइए । तर पोखरामा वर्षा भइरहेको कारण हेलिकप्टर आएन । अन्ततः उनलाई एम्बुलेन्समा पोखरा लिएर जाने निर्णय गरियो । साढे तीन घण्टाको कच्ची बाटो त्यसमाथि पहिला पनि हृदयघात भइसकेका उनी बाँचिहालेमा चमत्कार नै हुन्थ्यो ।


चमत्कारको झिनो आशमा म राति राम्ररी निदाउन सकिनँ, छटपटिरहें । उनको नाचको अन्तिम दृश्य झन् आँखा अगाडि झलझली आइरह्यो आइरह्यो । एउटा अपरिभाषित पश्चातापले बेलाबेला हानिरह्यो । बिहानको तीनबजे मोबाइलमा मौसम अपडेट गर्दा माइनस सात डिग्री सेल्सियस देखायो । जब बाहिर निस्कें, शुक्लीय जुनको वरिपरि एउटा गोलो घेरा बनेको थियो । बाल्यकालमा सुनेको कुरा याद आयो, असल मान्छेहरूको निधन हुँदा घामजुनमा यस्तै घेरा बन्छन् ।


बिहान पाँच बजे हामीले त्यो अप्रिय खबर पायौं
कतिपयले भने कति सहज मृत्यु भयो । तर के मृत्यु आफ्नैमा सहज वा असहज हुन्छ ? त्यो त जीवन पो होला । तर ङोलो होम बहादुर गुरुङको मृत्यु सहजता र असहजता भन्दा माथि थियो होला । जीवनभरि अरुलाई खुशी पारिरहने ङोलो गोरेले अन्तिम समयसम्म पनि त्यसो गर्न छोडेनन् । अहिले लाग्छ, अरुलाई खुसी पारिरहने ङोलो गोरे के आफ्नै चाहिँ खुसी थिए ? के उनको बाल्यकाल सुमधुर थियो ? भनिन्छ नि, मनका दुःखीहरु अरुलाई हँसाइरहन्छन्, खुसी दिइरहन्छन् । अथवा सबैलाई खुसी पार्नेहरू आफू चाहिँ अन्ततः दुःखी नै रहन्छन् । यस्तो पनि हुन सक्छ उनी यस्ता कुराबाट माथि उठेर पूर्णतामा जीवन बाँचिरहेका थिए । त्यो पाटोतिर जाने मेरो उद्देश्य किमार्थ होइन । यो त मेरो ङोलोप्रति श्रद्धाञ्जलीका शब्दहरू अर्पण गर्ने सानो प्रयाश मात्र हो ।


जीवनको विभिन्न कालखण्ड सिक्लेस, हङकङ, ब्रुनाइ र युके बिताएका ङोलो होमबहादुर गुरुङका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको परिवार जुन पीडाबाट गुज्रिरहेका छ त्यसको त हामी कल्पना पनि गर्न नसकौंला । अहिलेसम्म पनि तिनले यो अकल्पनीय मृत्युलाई स्वीकार गरिनसकेको पनि हुन सक्छ । परिवार बाहिरकाले भने उनलाई एक महान् मनोरञ्जनकर्ताको रुपमा सम्झिरहनेछन् । अलविदा ङोलो !

तीर्थ गुरुङ

साहित्यकार गुरुङको उपन्यास पाठशाला प्रकाशित छ

तपाईको प्रतिक्रिया