व्यक्तित्व

सुदूर पश्चिम चिनाउँदै २५ वर्षे ठिटो

वसन्त पहारी २०७८ माघ ९ गते १५:२१

वसन्त पहारी


माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमशृंखलाले आफ्नो प्रतिविम्ब फेवाताललाई चिनो दिँदै गर्दा, उनी त्यो दृश्य कैद गर्न व्यस्त थिए । पोखरा ड्यामसाइडमा भेटिएका उनी अर्थात् हिमालय भट्ट आफ्नो रुचिप्रति आफ्नो नाममा भएको हिमाल जस्तै अडिग र अचल देखिन्थे । सुदूरपश्चिममा विकासको विनासले नछोएको र प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाँउमा जन्मिएका हिमालयको रुचि हो, घुम्ने र सुदूर पश्चिमलाईनेपाल र विश्वमाझ चिनाउने ।


उनले दिनमा त घुम्ने योजना बुन्छन नै तर सपना पनि नयाँ नयाँ ठाउँ डुलेकै देख्छन । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो नाम पछाडि ‘फेरुवा’ भनेर राखेका उनले; मेरो जिज्ञासा भरिएको प्रश्नको उत्तरमा भनेका थिए, ‘फेरुवा एक डोटेली शब्द हो’ जसको अर्थले बिनाकाम वा बेक्कारमा डुल्ने मान्छेलाई जनाउँछ । गाउँघरमा सबैले उनी सधैं डुलेको देखेर त्यही शब्दले चिन्न बोलाउन थालेका रहेछन् । त्यसपछि हिमालयले हिउँ जस्तै चम्किलो सपना देखेका रे फेरुवा भएर नै केही बनेर देखाउँछु भन्ने । सोही अठोटको परिकल्पनामा उक्त उपनाम आफ्नो पछाडि राख्ने गरेको उनले बताए ।

Advertisement


उनी दार्चुला जिल्ला, महाकाली नगरपालिका, जाइझुलका बासिन्दा हुन् । उसो त सुरुआती दिनमा आफू घुमेर दार्चुलाका नयाँ ठाउँहरुको तस्बिर सामाजिक सञ्जालमा राख्दा नेपाल बाहिरको तस्बिर राखेर अरुलाई झुक्काउन खोज्ने भनेर गाली र नकारात्मक प्रतिक्रिया नपाएका भने होइनन् । तर बिस्तारै नयाँ ठाउँबारे जानकारी, जाने बाटो र सम्बन्धित लेखहरुले अनि उनले खिचेका तस्बिर दार्चुलाभित्रकै ठाउँ हुन भन्ने दर्शाएपछि उनलाई उनको सपनामा लागि पर्न थप ऊर्जा मिल्यो । सदरमुकाम खलंगा जान्छु भनेर घरदेखि निस्किने अनि मोबाइल अफ गरेर दार्चुलाका कुना कन्दरा अनि पहाडका उचाईमा हराउने उनको बानी लागिसकेको थियो ।


प्रकृतिसँगै रमाउँदै खिचेका तस्बिरहरु उनले फेसबुकमा ‘भिजिट दार्चुला’ पेजमार्फत पोस्ट गर्न थाले । पेजको नाम घेरैसँग जुधेको देखेपछि भने नामको पछाडि ‘अ हिडन हेवन’ अर्थात लुकेको स्वर्ग थपे । नमर्दै स्वर्गको सपना देख्ने मानिसले, लुकेको स्वर्ग नै भनेपछि केही न केही नयाँ र फरक होला भन्ने उत्सुकताका साथ सोचे र हिमालयले कैद गरेका दार्चुलाका तस्बिरहरुमा मानिसहरुको आकर्षण बढ्न थाल्यो । लाइक कमेन्ट पनि बढ्दै गए । सकारात्मक प्रतिक्रियाको बाढी बेमौसममा आउने बाढी झैँ उर्लेर आउन थाल्यो । जसले गर्दा आफ्नो इच्छा प्रती उनी थप हौसिदै गए ।

Advertisement


मोबाइलबाट तस्बिर खिचेर राख्ने गरेका उनलाई त्यही ठाउँ अल्ली राम्रो क्यामराबाट खिचेर राख्न पाए झन छिटो प्रवद्र्धन हुन्थ्यो कि भन्ने सधैं लागिरहन्थ्यो । तर लागेको कुरा पुरा हुन पनी थप कार्य चाहिन्छ भन्ने ज्ञान पाएपछि उनले दिन प्रतिदिन फैलिँदै गरेको सामाजिक सञ्जालको मद्दत लिए, जुन निर्णयपछि उनलाई वरदान सावित भयो ।

सुदूरपश्चिम चिनाउने सपना पूरा गर्न राम्रा तस्बिर चाहिने र ती तस्विर कैद गर्न राम्रो डिएसएलआर क्यामरा खाँचो भएको भनेर पोस्ट गरेको दुई चार दिनमै उनले १ लाख २५ हजार संकलन गरे । त्यसबाहेक हिमालयको आफ्नो जन्मथलो प्रतिको समर्पण देखेर अरु बाँकी रकम उनकै स्थानीय तहले सहयोग ग¥यो । स्रोत मात्रले पनी कहाँ हुन्थ्यो र ? फोनबाट फोटो खिच्ने उनलाई सुरुका दिनमा डिजिटल क्यामराको खासै ज्ञान थिएन । त्यसैले उनले आफूजस्तै नेपाल चिनाउन लागिपरेका बागलुङका सन्दीप शर्मासँग परामर्श लिए र सन्दीपले क्यानन कम्पनीको नाइन्टी डि लिन सुझाएपछि सुरु भयो हिमालयको हाइक्वालिटी फोटोग्राफीको यात्रा । त्यस लगत्तै, १ लाख नब्बे हजारको क्यामरा हातमा परेपछि भने उनी आफ्नो सपना ढिलो चाँडो पक्कै पूरा हुनेमा विश्वस्त भए ।


आफ्नै पेजमार्फत मात्र तस्बिर पोस्ट गर्ने गरेका भट्टको कुराकानी दारी ग्याङ सुदूरपश्चिमका संयोजक दिनेश बोहोरासँग हुन पुग्यो । बोहोराले दारी ग्याङको ग्रुप र पेजमार्फत भट्टका तस्बिरहरुलाई अझै प्रचार प्रसार गर्न सकिने सम्भावना बारे कुरा गरेपछि उनको सपना पूरा हुनेतर्फ अर्को खुट्किलो पार भयो । बिस्तारै फेसबुकका अरु पेज÷ग्रुपहरु रुटिन अफ नेपाल बन्द, नेपलिज इन फोटोग्राफी, ट्रोल नेपाल मार्फत पनि भट्टले खिचेका सुदूरपश्चिम चिनाउने मनमोहक तस्बिरहरु पोस्ट हुन थाले । सामाजिक सञ्जाल उनलाई मानौं एउटा वरदान नै सावित भयो । त्यसपछि दार्चुला घुम्न जान उनलाई जानकारी सोध्न फोन, मेसेज आउन निरन्तर आउन थाले । र नभन्दै गएको पर्यटकीय मौसममा पाँच सयभन्दा बढी आन्तरिक पर्यटक दार्चुला पुगेको उनले बताउँदा हिमालयको मुहार साँच्चै नै हिमाल टल्केझैँ टल्किएको थियो, सन्तोषको किरणले ।


अपि हिमालको बेस क्याम्पमा यही वर्ष, अहिलेसम्मकै धेरै आन्तरिक पर्यटक पुगेको जानकारी पनि उनले दिए । उनी आफैं पनि योचोटि अपिबेस क्याम्प पुगेका रहेछन् । स्वास्थ्य सहायक पढेर सकाएपछिको खाली समयमा काठमाडौं बस्दा उनले त्यहाँ नौलो कुरा अनुभव गर्न पाएका रहेछन् । कालिन्चोक जान काठमाडौंका साथीहरु हिउँ पर्ने समय कुरिरहेको देख्दा उनले आफ्नै गृहजिल्ला दार्चुलामा अवस्थित विभिन्न स्थानमा कालिन्चोक जत्तिकै समुद्र सतहको उचाईमा धेरै समयसम्म हिउँ रहिरहने सम्झिए । र घुम्न जानलाई हिउँ कुर्नैपर्ने बाध्यता छैन भन्ने उनलाई महसुस भयो । हिउँले ढकमक्क हुने आफ्नो ठाउँलाई किन प्रवद्र्धन नगर्ने त भनेर उनले मनमनै अठोट गरेर दार्चुला फर्किए ।
उनलाई आजकल तस्बिर खिचेर नै साधारण जीवनयापन गर्न पुगिरहेको छ । सँगैका साथीहरु भने सीमापार धार्चुला बजार, तिंकर नाकातिर व्यापार गर्न पुगेका छन् । केही साथीहरु भने विदेश पलायन भइसके । उनी आफूलाई भने कहिल्यै पनि विदेश जाने सोच पनि आएन । उनी नियमित जागिर व्यापार केही गर्दैनन । बितेका ३÷४ वर्षमा ५ लाखभन्दा बढी रकम त उनले घुमफिरमै सके । उनलाई त्यसको कुनै पछुतो छैन । नयाँ कुरा सिक्न पाए । देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने तस्बिरहरु संकलन गर्न पाए । आफू पनि धेरै माझ परिचित भए । यिनै कुराहरुले नै उनी आपूmलाई गौरवान्वित ठान्छ्न ।


गृहजिल्लाबाट देखिने हिमाल र फेवाकिनारमा बसेर कुरा गरिरहँदा देखिएको अन्नपूर्ण हिमशृंखलामा कुन राम्रो लाग्योभन्दा उनले गृहजिल्ला नै रोजे । धनगढीसम्म झर्दा पनि उनलाई सहरी हल्लाले झिँझो लाग्दो रहेछ । महत्वपूर्ण काम बाहेक उनी खासै गृहजिल्ला बाहिर निस्किदैनन् । उनलाई आफ्नै घर गाउँ प्यारो लाग्छ ।


प्रविधिको फड्कोले पहिले जस्तो पोस्ट्कार्ड, फोटो छपाएर ठाउँहरुको प्रवर्धन गर्ने जमाना छैन । सामाजिक सञ्जाल नै अहिलेको मुख्य अस्त्र हो भन्ने कुरा उनले बुझिसकेका छन् । धेरै मान्छे चिन्न, साथीभाइहरुसँग अन्तक्र्रिया गर्न, सकारात्मक ऊर्जा भरिएका सल्लाह सुझाव लिन उनलाई सामाजिक सञ्जालले नै सहयोग पु¥याएको हो । जुनसुकै काम÷क्षेत्र होस, फोटोग्राफी होस् या अरु, त्यो कामले जबसम्म जीविकोपार्जन गर्ने अवस्था सिर्जना गर्दैन, तबसम्म घरपरिवार अनि समाजले विश्वास नै गर्दैन । आफ्नो रहर सपना पछ्याएरमात्र हुँदैन, त्यो रहरले आफूलाई जीवन चलाउन सक्ने अवसरमा परिणत गर्छ कि गर्दैन भन्ने पनि सोच्नुपर्ने उनले बताए ।


दार्चुलाका सबै ठाउँ उनी पुगिसके । अब उनको सोच सुदूरपश्चिमका अरु जिल्ला सबै घुमेर सक्ने छ । स्वास्थ्य क्षेत्रमै अब थप केही गर्ने उनको रुचि छैन । नगरपालिका र स्थानीय निकाय पनि आजकल भट्टका काममा थोरै नै भए पनि सहयोग गर्नमा तत्पर छन् । सुरुआती दिनमा सहयोग नपाउँदा भने उनी निकै दुखी पनि भएका थिए । पर्यटक भिœयाउन विभिन्न पदमार्गको जानकारी सामाजिक सञ्जालमार्फत धेरै माझ पु¥याउने, पर्यटकीय गन्तव्यमा चिन्हहरु राख्ने, वृत्तचित्रहरु बनाउने, साना साना पम्प्लेट, बुकलेट मार्फत प्रवद्र्धन गर्ने, जिल्लाको विमानस्थल सुधार गर्ने र स्थायी उडानका लागि पहल गर्ने लगायत धेरै उपाय छ्न । उनी एक्लैले सबै काम गर्न पक्कै सम्भव छैन । यसमा स्थानीय निकायको भूमिका अपरिहार्य रहन्छ ।


(पहारी लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर पोखरामा पत्रकारिताका विद्यार्थी हुन्)

वसन्त पहारी

सामाजिक कार्यमा सक्रिय पहारी लेकसिटी कलेज एन्ड रिसर्च सेन्टर पोखरा गैरापाटनमा पत्रकारिता पढिरहेका छन् । 

तपाईको प्रतिक्रिया