ट्याक्सी अब मिटरमा चल्ने

सञ्जय रानाभाट २०७८ माघ ११ गते १७:२५

सञ्जय रानाभाट


पोखरा ।
पोखरामा अहिले ट्याक्सी चालकको मुखमा नै मिटर छ । चालकले मान्छे हेरेर भाडा बागेर्निङ गर्छन् । यात्रु पनि चालकले भनेको रेटमा ट्याक्सीबाट ओहोरदोहोर गर्न बाध्य छन् । सरकारले मिटरमा ट्याक्सी चलाउन बारम्बार ताकेता गरे पनि कार्यान्वयन भएको छैन ।

Advertisement


प्रदेश सरकारले ३ पुसमा गरेको निर्णयले बढाएर भाडा समायोजन गरेपछि अब पोखरा मिटरमा ट्याक्सी हिँड्न राजी भएका छन् । गण्डकी प्रदेश सरकारले भाडा समायोजन गर्ने निर्णय गरेपछि ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका हुन् । नयाँ भाडादर लागु गर्ने सम्बन्धमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायी, उपभोक्त मञ्च र सरोकारवालाबीच ६ माघमा १० बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर भएको छ ।


प्रदेश सरकारले समायोजन गरेको झाडा र तोकिएको नयाँ नियम पालना गर्ने पोखरेली ट्याक्सी प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले बताए । अब पोखराका ट्याक्सीले १ हप्ताभित्र मिटर जडान गरी यात्रु चढाउने तिवारीको भनाइ छ । ‘सरकारले फागुन मसान्त भनेको छ । हामी १ हप्तामा पोखरामा मिटर प्रणाली लागू गछौं,’ उनले भने, ‘ट्याक्सी चालकले लुटेर खाने, ठगेर खाने आरोप थियो । सरकारले तोकिएको मूल्यमा, तोकिएको नियम पालना गरेर ट्याक्सी चलाउँछौं । यसले ट्याक्सी चालको इज्जत बढ्ने कुरा पनि भयो ।’

Advertisement


प्रदेश सरकारले ट्याक्सीमा समायोजन गरेको भाडा दर १.५ किलोमिटरको यात्रामा चढ्नेबित्तिकै (फ्लाग डाउन) रेट ८० रुपैयाँ छ । यसपछि प्रति २ सय मिटरको १० रुपैयाँका दरले भाडा बढ्दै जाने भएपछि ट्याक्सी व्यवसायी मिटरमा हिँड्न तयार भएका हुन् । बेटिङ चार्ज र रात्री सेवामा विगतको नियम नै लागू हुनेछ । साथै, सहरी क्षेत्रको १५ किलोमिटरसम्म मात्र फल्याग डाउन र पल्स रेट अनुसार भाडा कायम हुनेछ । १५ किलोमिटरभन्दा माथि प्रति किलोमिटर ३६.५० रुपैयाँ थप शुल्क लाग्नेछ ।


प्रतिवद्धता पत्रमा फागुन मसान्तभित्र सबै प्रकारका ट्याक्सीमा बिलिङसहितको मिटर अनिवार्य जडान गर्ने उल्लेख छ । यात्रुलाई ट्याक्सी चालकको नाम मोबाइल नम्बर देखिने भाडा रकम उल्लिखित प्रिन्टेड बिल दिनुपर्ने छ । ट्याक्सीमा जिपिएस पनि जडान गर्नुपर्ने भएको छ । चालकको मोबाइल नम्बर, ट्याक्सी मिटरमा चल्ने जानकारी हुने गरी स्टिकरसमेत टाँसिएको हुनुपर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।


ट्याक्सी चालकले अब छुट्टै पोशाक लगाउनुपर्ने भएको छ । चालकको पोशाक आकाशे रङको सर्ट र कालो पाइन्टका साथमा जुत्ता तोकिएको छ । ट््याक्सी पहिचानका लागि छतमा पहेलो रङ पोतिएको र अगाडि फेसमा ट्याक्सी पहिचान हुने गरी लाइट जडान गर्नुपर्ने गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । ‘सरकारले सवारी साधन मापदण्ड बमोजिम सञ्चालन भए÷नभएको हेर्न तथा निर्णया भएको भाडादर कार्यान्वयन भए÷नभएको अनुगमनको व्यवस्था मिलाएको छ,’ उनले भने, ‘अब प्रदेशमा सञ्चालन भएका ट्याक्सी सरकारले तोकेको नियममा हिँड्छन् । यसो नगरे प्रदेश सरकारले कारबाही गर्छ ।’


प्रदेश सरकारले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठको संयोजकत्वमा १३ असोजमा १० सदस्यीय प्रदेश भाडा सिफारिस समिति बनाएको थियो । त्यो समितिले १२ पुसमा बुझाएको प्रतिवेदनको आधारमा ट्याक्सीवालासँग छलफल गरेर नयाँ भाडा लागू गर्ने सहमति भएको हो ।


भाडा सिफारिस समिति सदस्य एवं उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले यसले उपभोक्तालाई राहत पुग्ने बताए । ‘हामीले धेरै विचार गरेर मूल्य समायोजन गरेका हौं । मूल्य समायोजनअघि हामी धेरै ठाउँमा ओहोरदोहोर ग¥यौं । अहिले तोकिएको मूल्य उपभोक्ताले हाल तिरिरहेको भन्दा ३० प्रतिशत सस्तो पर्छ । यस कारण यो सरकारको उपलब्धिपूर्ण काम हो,’ उनले भने ।


प्रतिवद्धतामा यातायात व्यवस्था कार्यालय कास्कीका कार्यालय प्रमुख डिल्लीराम रिज्याल, नेपाल यातायाल व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक भानुभक्त बराल, उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइराला, पोखरेली ट्याक्सी प्रालि कास्की अध्यक्ष प्रकाशमणि तिवारी, गण्डकी ट्याक्सी पब्लिक लिमिटेड पोखरा अध्यक्ष गान्धीराज गिरी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश महानगर अध्यक्ष मदनकुमार सुनार, नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेश अध्यक्ष किरणबाबु पन्त, अखिल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेश सचिव रमेशकुमार कोइराला, नेपाल यातायात स्वतत्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णु केसीले हस्ताक्षर गरेका छन् ।


यसअघि २०७८ असार ७ गते सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा बढाएको थियो । पेट्रोलियम पदार्थ र गाडीका पार्टपुर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । सरकारले २०७५ सालमा बनाएको वैज्ञानिक भाडा समायोजनको गरेको थियो । त्यति बेला ट्याक्सीमा १० प्रतिशत भाडा बढेको थियो । यसपछि ट्याक्सीको भाडा समायोजन भएको थिएन । पोखरामा करिब २२ सय ट्याक्सी छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया