प्रत्यक्ष दर्शक सहित एपिएफ–मछिन्द्र स्पर्धामा

समाधान संवाददाता २०७८ माघ ११ गते २०:०७
आइतबार पोखरा रंगशालामा भएको नेपाल पुलिस भर्सेस मनाङ मास्र्याङदी : फोटो आशिष पुरी

पोखरा, ११ माघ
आहारारा गोल्डकप अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा बुधबार एपिएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिश्पर्धा हुँदै छ । पहिलो खेलमा आयोजक सहारालाई २–० र क्वाटरफाइनलमा भुटिनिज युथ स्पोर्टस् क्लबलाई ३–१ ले पराजित गरेको एपिएफलाई अब सेमिफाइनलमा सुपर जायन्ट मछिन्द्रको चुनौति छ ।


२० औं संस्करणको मंगलबारसम्म आहारारा दर्शकको भौतिक उपस्थितिबिना भइरहेको छ । आयोजक सहारा क्लबले खेलप्रेमीको चाहनालाई सम्मान गर्दै अबका खेलमा भने दर्शकलाई प्रवेश दिने भएको छ । बुधबार र बिहीबार हुने २ सेमिफाइनल र शनिबार हुने फाइनलमा भने सिमित दर्शकले पोखरा रंगशाला प्रवेश पाउनेछन् । प्रशासनले स्वास्थ्य मापदण्ड कायम गर्दै एक तिहाइमात्र दर्शक राख्न अनुमति दिएको छ ।
महामारीबीच पनि दर्शकको चाहनालाई बुझेर रंगशालामै प्रवेश गरी हेर्न पाउने व्यवस्था गर्न लागेको सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । सहाराको प्रेस विज्ञप्तिमा दर्शकले प्रभुपेको एप प्रयोग गरी टिकट बुकिङ गर्नुपर्ने उल्लेख छ । टिकटको मूल्य ३ सय रुपैयाँ तोकिएको छ । सहाराले खेल हेर्न रंगशाला आउने दर्शकलाई अनिवार्य खोपकार्ड ल्याउन र मास्कको प्रयोग गर्न अनुरोध गरको छ ।


कप्तान, उपकप्तान, स्टार स्टराइकर विमल घर्तीमगर, गोलरक्षक र अन्य ३ खेलाडी बन्द प्रशिक्षणमा रहँदा पनि क्वाटरफाइनलमा उत्कृष्ट खेल प्रर्दशन गरेको मछिन्द्रले डिफेन्डिङ च्याम्पियन संकटा फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
डिफेन्डर रञ्जित धिमलले आहारारामा मछिन्द्रको कप्तानी सम्हालेका छन् । संकटा विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका धिमालसहित टिम नै लयमा देखिन्छ । प्रशिक्षक प्रवेश कट्वालले संकटासँगको खेलपश्चात आफ्नो टिम उत्कृष्ट लयमा रहेकाले एपिएफ विरुद्धको खेलमा कुनै पनि पक्ष सुधार गर्नुपर्ने नहेको समाधानलाई सुनाए । आहाराराको फाइनलमा अहिलेसम्म प्रवेश नपाएको मछिन्द्रका लागि एपिएफ चुनौती बन्न सक्छ ।
सेमिफाइनल अघिसम्म २ खेल खेलेको एपिएफको डिफेन्स र मिडफिल्ड उत्कृष्ट छ । फवार्ड लाइन सन्तोषजनक रहँदा एफिएफका जापानी गोलरक्षक युयाले भने राम्रो प्रर्दशन गर्न सकेका छैनन् ।

Advertisement


युया आफ्नो टिमलाई भने खेल अवधिभर निकै राम्रो कमान्डिङ गर्छन् । सहारासँगको पहिलो खेलअघि मैदानमा आई अभ्यास गर्ने पहिलो खेलाडी पनि उनै थिए । अंग्रेजी कम बुझने उनले पोखरामा पहिलो प्रतियोगिता खेल्न पाउँदा निकै खुसी लागेको सुनाए । प्रशिक्षक कुमार थापा पनि युयाप्रति आशावादी छन् । युया नेपालमा नयाँ खेलाडी रहेको र उनलई एडजस्ट हुन केही समय लाग्ने र सेमिफाइनलमा उनले उत्कृष्ट प्रर्दशन गर्ने थापाले समाधानसँग बताए ।

Advertisement

तपाईको प्रतिक्रिया