पोखरामा अझै पर्याप्त छैन सिटामोल

प्रमिला कुँवर २०७८ माघ १२ गते ११:४०

पोखरा ।


पोखरामा अझै सिटामोल अभाव देखिएको छ । कास्की जिल्ला प्रशासन र पोखरा महानगरपालिकाले अनुगमन गर्दा पोखराका धेरै पसलमा सिटामोल भेटिएन । मंगलबार अनुगमन टोलीले पोखराको नयाँबजार, महेन्द्रपुलमा पुगेर सप्लायर्स र मेडिकलमा सिटामोल भए÷नभएको अनुगोमन गरेको थियो ।


केही हप्तादेखि पोखरामा कोरोनाका बिरामी बढेसँग पारासिटामोल अभाव देखिएको थियो । महामारीको समयमा उपभोक्ताले पारासिटामोल किनेर घरमा राख्दा यस्तो समस्या देखिएको औषधी सप्लायर्सहरु बताउँछन् । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत हरिलाल आर्चाय सहितको टोली मंगलबार अनुगमनमा पुगेको थियो । बजारमा तत्काललाई सिटामोल अभाव भन्दा पनि पहिलेको तुलनामा कम भएको आचार्यले बताए । ‘धेरै ठाउँमा सिटामोल भेटे पनि कम भट्यौं । केही दिनलाई पुग्ने छ । यसको आयात छिट्टै गर्नुपर्छ,’ उनले भने ।

Advertisement


सरकारी स्वास्थ्य संस्थामा भने सिटामोल पर्याप्त रहेको स्वास्थ्य अधिकारीहरु बताउँछन् । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गण्डकीमा अहिले १० लाख चक्की प्यारा सिटामोल भण्डारण छ । केन्द्रकी सूचना अधिकारी सुस्मिता शर्मा गण्डकीका पालिकालाई आवश्यक प्यारासिटामोल उपलब्ध गराएपछि त्यतिका मात्रामा भण्डारमा रहेको बताउँछिन् । स्वास्थ्य कार्यालय कास्कीमा भण्डारण हेर्ने अधिकृत भीमप्रसाद उपाध्याय कास्कीका सबै पालिकालाई सिटामोल औषधि उपलब्ध गराएर पनि केही भण्डारणमा रहेको बताउँछन् । केही दिनअघि गण्डकी प्रदेशमा १८ लाख चक्की सिटामोल आएको थियो ।


महेन्द्रपुलको बास्तोलाथरमा रहेको सृर्जना मेडिसिन डिस्ट्रिब्युुटर्सका सञ्चालक केशव घिमिरेले आफूकहाँ सिटामोल नभभएको बताए । ‘माघ ४ मा ९ हजार आएको थियो । २ दिनमै सकियो । अहिले मगाउँदा पनि पाइएको छैन,’ उनले भने । बास्तोला थरकै धेरै सप्लार्यसमा पनि पर्याप्त मात्रामा पारासिटामोल नभएको पाइयो ।

Advertisement


महेन्द्रपुलमा रहेको खड्का मेडिकलमा पुग्दा एक सय ट्याबलेटमात्र भेटिएको थियो । सञ्चालक खड्काका अनुसार आफूकहाँ बल्लतल्ल जोहो गरी ल्याएका एक बट्टा सिटामोल भएको बताउँछन् । उनले पनि अर्डर गर्दासमेत सिटामोल नआएको सुनाए । बिरामीले खोजेको कम्पनीको सिटामोल उपलब्ध गराउन मुस्किल भइरहेको अवस्थीले जानकारी दिए । भन्छन्, ‘कम्पनी फरक, वा ब्रान्ड फरक पर्छ ।’


महेन्द्रपुलकै एक मडिकल सञ्चालकका अनुसार उत्पादकबाटै नआउँदा होलसेलले पनि खुद्रा औषधि पसललाई सिटामोल दिन नसकेका हुन् । उत्पादकहरुले चाहिँ मूल्यवृद्धि चाहिरहेका छन् । खाँटी सिटामोल कतै नपाएको सुनाउँदै सिटामोलको मात्रा भएका औषधिमात्रै रहेको जनाए ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया