सेमिफाइनलमा बिहीबार मनाङ र आर्मी भिड्दै

अभिषेक अधिकारी २०७८ माघ १२ गते २१:३१

आहाराराको अन्तिम सेमिफाइनलमा मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लब बिहीबार पोखरा रंगशालामा उत्रिँदै छन् । मनाङ क्वार्टर फाइनलमा नेपाल पुलिसलाई २–०ले हराएर सेमी आइपुगेको हो भने आर्मीले थ्रिस्टारलाई १–० गोलले रोकेर मनाङसँगको भेट पक्का गरेको हो ।
मनाङले सर्वाधिक ६ पटक उपाधिसँगै २० संस्करणमध्ये १५ सेमिफाइनल खेल्ने रेर्कड पनि बनाएको छ । अहिलेसम्म ४ पटक उपविजेतामा चित्त बुझाएर ९ सेमिफाइनल खेलेको आर्मीले एक पटक पनि उपाधि हात पारेको छैन ।

अहिले आर्मीका टिम म्यानेजर पोखराका चुनबहादुर थापा छन् । पटक पटक फाइनल यात्रा तय गरे पनि विजेता बन्न नसकेको आर्मीलाई उपाधि जिताएर थापा इतिहास रच्न चाहन्छन् । तर फाइनलअघि नै सुपर जायन्ट मनाङको तगारे पार गर्न आर्मीलाई सजिलो छैन । म्यानेजर थापाले समाधानसँगको कुराकानीमा थ्रिस्टारसँगको खेलमा फर्वाडलाइन सन्तोषजनक नरहेको स्वीकार्दै मनाङसँगको खेलमा त्यो सुधार्नुपर्ने जनाए ।
आर्मीका अधिकांश खेलाडीलाई चोट लागेको छ । जुन थ्रिस्टारसँगको खेलमा प्रस्ट देखिन्थ्यो । प्रशिक्षक राजु तामाङले पनि ३ खेलाडी पनि बन्द प्रशिक्षणमा रहेको र आहारारामा आएका केही खेलाडी पनि घाइते भएको सुनाए ।

मनाङले आफ्नो पहिलो खेलमा नै ५ पटकको विजेता नेपाल पुलिसलाई हराएर सदाझैं आहारारामा दाबेदारी जनाइसकेको छ । पुलिस विरुद्धको पहिलो हाफमा मनाङका बन्द प्रशिक्षणमा रहेका अञ्जन श्रेष्ठ लगायतको अभाव प्रस्ट देखिन्थ्यो ।

Advertisement

मनाङका सहायक प्रशिक्षकले आफ्ना ४ खेलाडी बन्द प्रशिक्षणमा रहेकाले टिममा ३ न्युरोड फुटबल टिमका खेलाडी समावेश गरिएको बताए । आर्मीसँगको खेलमा जित निकाल्न आफ्नो टिमलाई हरेक पक्षमा सुधार गर्नुपर्ने उनी बताउँछन् ।

पोखराका डिफेन्डर विमल गुरुङको कप्तानीमा आहारारामा होमिएको मनाङका फर्वाड अफिज ओलावाले महत्वपूर्ण खेलाडी हुन् । उनले पुलिस विरुद्धको खेलमा १ गोल र १ एसिस्ट गर्दै मनाङका लागि दुवै गोलमा योगदान गरेका थिए ।

Advertisement

ओलावाले रनिङ, ड्रिब्लिङ, हेडिङ साथै विपक्षी डिफेन्डरको बल खेस्न पनि निपुर्ण देखिएका छन् । ए डिभिजन लिगमा हालसम्म व्यक्तिगत ८ खेल खेलेका उनी ६ गोलका साथ सर्वाधिक गोलकर्ताको सूचीमा छन् । जारी आहारारामा पनि पुलिसँगको पहिलो खेलमा उनी नै म्यान अफ द म्याच चुनिएका थिए । विजेताले एपिएफसँग फाइनल खेल्नेछ ।

तपाईको प्रतिक्रिया