पोखराको जनसंख्या बढ्यो, गाउँ रित्तिँदै

सञ्जय रानाभाट २०७८ माघ १६ गते १३:२५

सञ्जय रानाभाट

पोखरा ।
कास्कीको जनसंख्या ५ लाख ९९ हजार ५ सय ४ पुगेकोे छ । १० वर्षअघि गरिएको जनगणनामा कास्कीको जनसंख्या ४ लाख ९२ हजार ९८ थियो । जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार १० वर्षमा कास्कीको जनसंख्या १ लाख ७ हजार ४ सय ६ बढेको छ ।


नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । २०७२ असोज ३ गते जारी गरिएको नेपालका संविधानपछिको पहिलो पटक जनगणना भएको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले १२ औं जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । केन्द्रीय तथ्यांक विभागले पहिलो चरणमा भदौ ३० देखि असोज १८ सम्म घरपरिवार सूचिकरण र दोस्रो चरणमा मुख्य गणना गरेको थियो ।

Advertisement


मुख्य गणना कात्तिक २५ देखि मंसिर ९ सम्म भएको थियो । विभागले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार कास्कीको जनसंख्या वार्षिक वृद्धिदर १.८९ प्रतिशत देखिएको छ । अन्य जिल्लाको वार्षिक वृद्धिदर घट्दा भक्तपुर, चितवन, कास्की लगायतका ९ जिल्लाको जनसंख्या वृद्धिदर बढेको हो ।

Advertisement

१० वर्षमा कास्कीको जनसंख्या १ लाख ७ हजार वृद्धि हुँदा ३ पालिकामा भने जनसंख्या घटेको छ


कास्कीको क्षेत्रफल २ हजार १७ वर्गकिलोमिटर छ । जिल्लामा १ महानगरपालिका पोखरा सहित ४ गाउँपालिका छन् । विभागले २०६८ को जनगणनालाई आधार बनाएर २०७४ मा पोखरा महानगरपालिका र गाउँपालिकाहरुको छुट्टछुट्टै तथ्यांक सार्वजनिक गरेको थियो । २०६८ को जनसंख्यालाई आधार निकालिएको पोखरा महानगरपालिको जनसंख्या ४ लाख १४ हजार १ सय ४१ थियो । सोमबार विभागले जारी गरेको जनगणना अनुसार महानगरपालिकाको जनसंख्या ५ लाख १८ हजार ४ सय ५२ पुगेको छ ।


पछिल्लो १० वर्षमा पोखरा महानगरपालिकामा १ लाख ४ हजार ३ सय ११ जनसंख्या थपिएको छ । जनसंख्या गाउँमा भन्दा समथर भूभागमा बढी देखिएको छ । गाउँमा सेवा, सुविधा कम हुने र सहरमा सेवा, सुविधा, रोजगारी धेरै हुने भएपछि पछिल्लो समय पोखरा महानगरपालिकाको जनसंख्या बढेको हो । महानगरपालिकामा जनसंख्या र जनधनत्व दुवै बढेको हो ।


कास्कीका ४ गाउँपालिकामा मध्ये ३ मा १० वर्षमा जनसंख्या घटेको छ । २०६८ सालमा माछापुच्छ«े गाउँपालिकाको जनसंख्या २१ हजार ८ सय ६८ थियो । बुधबार विभागले जारी गरेको तथ्यांकमा त्यहाँ २२ हजार १३ को बसोबास देखिन्छ । १० वर्षमा गाउँपालिकामा १ सय ४५ जना मानिस घटेका छन् ।


तथ्यांक कार्यालय कास्की प्रमुख जगुलाल बस्यालका अनुसार गाउँबाट बसाईंसराइ सहरतर्फ भएकाले महानगरपालिकामा जनसंख्या वृद्धि भएको बताए । ‘शैक्षिक स्तर राम्रो बनाउ, सुविधा र रोजगारीका लागि पनि मानिस बजारमा झर्दै गएका छन्,’ उनले भने ।कास्कीका ३ गाउँपालिकामा भने जनसंख्या घटेको छ । अघिल्लो जनगणनामा अन्नपूर्ण गाउँपालिकाको जनसंख्या २३ हजार ४ सय १७ थियो । अहिले पालिकाको जनसंख्या २२ हजार ५ सय १७ मात्र छ ।


मादी गाउँपालिकामा पनि जनसंख्या घटेको देखिएको छ । २०६८ मा मादीमा १८ हजार १ सय ५३ जनाको बसोबास थियो । १० वर्षपछि २०७८ मा पालिकाबासीको संख्या १६ हजार ३ सय १८ मा झरेको छ । यहाँ १० वर्षमा १ हजार ८ सय ३५ जनसंख्या घटेको छ । रुपा गाउँपालिकामा पनि जनसंख्या घटेको तथ्यांक सार्वजनिक भएको छ । रुपाको जनसंख्या १४ हजार ७ सय ४१ छ ।


२०६८ को जनगणनामा गाउँपालिकाको जनसंख्या १४ हजार ६ सय १९ थियो । १० वर्षमा गाउँपालिकामा १ सय २२ जना मानिस घटेका छन् । अक्सर बसोबासका आधारमा जनगणना गरिएकाले कास्कीका ३ पालिकाको जनसंख्या घटेको देखिएको हो । ती पालिकाका बासिन्दा विदेश, पोखरासहित विभिन्न ठाउँमा अक्सर बसोबास गर्न थालेकाले जनसंख्या घटेको देखिएको हो ।


नेपालमा विस १९६८ मा पहिलो पटक जनगणना भएको थियो । त्यसपछिका २० वर्षमा नेपालको जनसंख्या लगातार घट्यो । पहिलो पटक जनगणना भएको २ वर्षपछि पहिलो विश्वयुद्ध सुरू भएको थियो । धेरै नेपाल विश्वयुद्धमा सामेल भएको, मारिसएको र त्यति बेला बिफरको महामारी पनि चलेकाले जनसंख्या घटेको विज्ञहरु बताउँछन् । विसं १९९८ पछिका सबै जनगणनामा नेपालको जनसंख्याको बढेको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया