
भीमपाणि बराल
लेखनाथ ।
गत वर्ष लेखनाथको आदर्श युवा क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीलाई ठक्कर दिएर भागेको सवारी भेटिएन । सवारी साधनको परिचय नखुल्दा प्रहरीले अहिलेसम्म दोषीलाई भेटेको छैन । दोषीले उन्मुक्ति पाउने र पीडितले बाटो नै बन्द गरी आन्दोलन गर्ने अवस्था बारम्बार आएको देखिन्छ ।
साबिक लेखनाथको राजमार्गमा पर्ने मुख्य क्षेत्रमा सिसी क्यामेरा जडान गर्न थालिएको छ । तालचोकमा ३ वटा र डाँडाकोनाक प्रहरीचौकीअघि २ सिसी क्यामेरा जडान गरिएको छ । क्यामरा जडान भएपछि दुर्घटना र अपराध घट्ने र दोषी सजिलो पहिचान हुने अपेक्षा गरिएको छ ।
क्यामेरा जडानका लागि लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाले समन्वय गरेको छ । लेखनाथमा रहेका बैंक तथा वित्तीय संस्था, बजार व्यवस्थापन समिति, आमा समूह, टोल विकास संस्था र स्थानीयले समेत यसलाई सघाएका छन् । करिब७ लाख लागतमा पोखरा प्रवेश गर्ने राजमार्गमा क्यामेरा राखेर निगरानी गर्न थालिएको हो । बुधबार आयोजित कार्यक्रममा कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले क्यामेरा उद्घाटन गरे ।
उनले अब शान्ति, सुरक्षाका विषयमा प्रहरी एक्लो नभएको जनाउँदै नागरिकको साथ, सहयोग र सहकार्य बढ्दै गएको जनाए । नागरिकमा प्रहरी हाम्रै सेवाका लागि हो भन्ने भावना बढ्दै जानुपर्नेमा जोड दिँदै सामाजिक उत्तरदायित्वका क्षेत्रमा नागरिकको हातेमालो जरुरी हुने औंल्याए ।
लेखनाथ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरीले पोखरा प्रवेश गर्ने मुख्य मार्गमाराखिएका सिसी क्यामराले यस क्षेत्रको मात्र नभई समग्र कास्कीमा नै अपराध नियन्त्रण र दुर्घटना गरेर भाग्नेलाई सहज रुपमा नियन्त्रणमा लिन सघाउने जनाए । पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सिसी क्यामेरा राख्नुमात्र ठूलो कुरा नभई यसको प्रभावकारी प्रयोग र निरन्तरतामा जोड दिए ।
पोखरा २६ का वडाध्यक्ष नारायणप्रसाद बरालले शान्ति, सुरक्षा बिना देश विकास र उन्नतिको कल्पना गर्न नसकिने विचार राखे । उनले सिसि क्यामेरा जडानले आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति हुने र अपराध न्यूनीकरणमा सहयोग पुग्ने उल्लेख गरे । बैकर्स क्लब लेखनाथ अध्यक्ष सन्तोष गुरुङले शान्ति, सुरक्षालाई प्रविधिसँग जोडेर काम गर्नुपर्ने बताए ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा डाँडाकोनाक प्रहरीचौकीका इन्चार्ज प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासैनीले सबैको साथ, सहयोगले सिसी क्यामेर जडान भएको बताए । कार्यक्रममा सेवा केन्द्रका सचिव कृष्णप्रसाद अधिकारीले पनि बोलेका थिए ।

भीमपाणि बराल
बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।
तपाईको प्रतिक्रिया