पोखरा महानगरमा ३ अटोभिलेज !

सञ्जय रानाभाट २०७८ माघ २२ गते १३:३८

सहरका कुना कुनासम्म अव्यवस्थित रुपमा चलेका वर्कसपलाई एकीकृत गरी ३ वटा व्यवस्थित अटोभिलेज बनाउने छलफल


सञ्जय रानाभाट

पोखरा ।
साँघुरो सडक, बढ्दो जनघनत्व र अव्यवस्थित ट्राफिक जाम पोखरेलीले खेपिरहेका छन् । साँघुुरा गल्लीमा लत्पतिएको मोबिल, गाडीको भीड, फलाम र टिन ठोक्दाको कर्कश आवाज पनि छँदै छ । वर्कसपबाट निस्कने आवाज, बिग्रिएका र पुराना गाडीले निकाल्ने धूँवाले प्रदूषण बढाइरहेका छन् । दुर्घटना हुने जोखिमसमेत उच्च छ ।

Advertisement


दर्ता नगरी चलाएका धेरै वर्कसपले महानगरलाई करसमेत तिरेका छैनन् । राजस्व छलीमात्र होइन, सहरमा प्रदूषण बढ्नुमा वर्कसप व्यवसाय व्यवस्थित नहुनु प्रमुख कारण हो । अहिले वर्कसपहरु पोखराका गल्ली गल्लीमा अव्यवस्थित रुपमा चलिरहेका छन् । अव्यवस्थित ग्यारेजका कारण पैदलयात्रीले समेत सास्ती भोगिरहेका छन् ।


वर्कसपलाई व्यवस्थित गर्न पोखरा महानगरपालिकाले अटोभिलेज बनाउने योजनाअघि सारेको छ । यसका लागि कार्यदल गठन भएको छ । अटोभिलेजका लागि आवश्यक जग्गा खोजी भइरहेको पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुुर नेपालीले जानकारी दिए । नेपाली कार्यदलका संयोजकसमेत हुन् ।

Advertisement


बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न पोखरामा अटोभिलेज जरुरी छ । अटोभिलेज बनाएर पोखरामा रहेका वर्कसपलाई एकीकृत गर्न सके ट्राफिक जाम र प्रदूषण घट्ने विज्ञहरु बताउँछन् । ग्यारेजहरु व्यवस्थित गर्न सके उपभोक्ताले समेत सहज रुपमा सवारी मर्मत गर्न पाउँछन् ।
छरिएर रहेका वर्कसपले पोखरालाई कुरुपमात्र बनाएका छैनन्, वर्कसप व्यवसायीलाई समेत यसले अप्ठेरो बनाएको विश्वकर्मा वर्कसपका सञ्चालक सन्तोषकुमार मिश्रले बताए ।


मिश्रले वर्क सप सुरु गरेको २० वर्षभन्दा बढी भयो । तर अझै उनको व्यवसायले स्थायित्व पाएको छैन । २०५० मा पोखराको नाकढुंगाबाट वर्कसप सुरु गरेका उनले २८ वर्षमा ७÷८ ठाउँमा व्यवसाय सारिसके । वर्कसप सार्दा व्यवसायीलाई आर्थिक घाटा त हुन्छ नै पर्यावरणीयसमेत कुरुप बन्छ ।


मिश्रले उचित ठाउँ नपाउँदा भौतारिनु परेको सुनाए । ‘मैले सुरुमा २०५० सालमा नाकढुंगाबाट वर्कसप सुरु गरें । अहिले चाउँथेमा वर्कसप चलाएको छु । यसको पनि सिमित समय छ । फेरि कता जाने ?’ उनले भने, ‘महानगरपालिकाले अटोभिलेज बनाएर वर्कसपलाई व्यवस्थित गरे व्यवसाय गर्ने र उपभोक्तालाई दुवैलाई सहज हुन्थ्यो ।


नाकढुंगा, बागलुङ बसपार्क क्षेत्रमा व्यवसाय चलाउन चाहेका उनले भनेजस्तो ठाउँ पाएन्न् । महंगो भाडा, साँघुरो ठाउँ, घरबेटीले कतिखेर भाडा सम्झौता तोड्ने हो भन्ने चिन्ताकै बीच उनले व्यवसाय चलाएका छन् । अटोभिलेज बनाएर वर्कसपलाई व्यवस्थित गर्नु उचित हुने उनी बताउँछन् । ‘वर्कसप व्यवसायमा लागेको धेरै भयो । एक ठाउँमा थिर भएर काम गर्न पाइएको छैन । आफ्नै जग्गा नभएका कारणले व्यवसाय गर्न चाहे पनि भाडा महँगो, सिमित अवधि, राज्यले हेर्न दृष्टिकोण धेरै फरक हुदोरैछ,’ भिश्रले भने, ‘कतै गएर व्यवसाय सुरु ग¥यो । नजिकैको छिमेकीलाई पनि डिस्टर्ब हुने । पछिपछि किचकिच सुरु भइहल्छ । सहरको सौन्दर्य त घट्ने नै भयो ।’


मिश्रमात्र होइन, उनीजस्ता धेरै वर्कसप व्यवसायीको साझा समस्या हो यो । ‘उचित ठाउँ नपाउँनु, ठाउँ पाईहाले पनि बढी भाडा तिर्न बाध्य हुन्, श्रमिकले पनि उचित पारिश्रमिक नपाउँनु, दक्ष कामदारको अभाव, रोजाइको ठाउँ नहुनु वर्कसप व्यवसायीका समस्या हुन् ।


पोखरामा अटोभिलेज बनाएर व्यवस्थित गरे मेकानिकल पार्टस् पनि एकीकृत हुने अटोमोबाइल व्यवसायी महोनबाबु खड्का बताउँछन् । पोखरामा बढ्दै गएको जाम र यसबाट छुटकारा पाउनुका साथै व्यवसायीलाई करको दायरामा ल्याउन पनि अटोभिलेजको आवश्यक रहेको उनको भनाइ छ । ‘बजारमा छरिएर रहेका अटोमोबाइल व्यवसायी पनि एकीकृत हुन्छन् । उपभोक्ताले पनि कहाँ गएर किन्ने भन्ने झन्झट हुँदैन । बजारको अवस्था फेरिन्छ । बजार व्यवस्थापनमा अटोभिलेजले धेरै सहयोग गर्छ । जाम र पाकिङको समस्या पनि कम हुन्छ,’ खड्काले भने ।


पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसियसनका अध्यक्षसमेत रहेका खड्काले महानगरलाई सुन्दर, सफा बनाउनका लागि अटोभिलेज आवश्यक रहेको तर्क गरे । ‘पोखराका चोक चोकमा छरिएर व्यवसाय भइरहेको छ,’ खड्काले भने, ‘घरबेटीसँग भाडा सम्झैतादेखि व्यवसायी र उपभोक्ताले पाउने झन्झट कम हुन्छ । बजार एकीकृत हुन्छ ।’


पश्मिाञ्चल अटोमोबाइल डिलर्स एसोसियसनमा २ सय ६५ व्यवसायी आवद्ध छन् । ‘दर्ता भएकाभन्दा नभएकाको संख्या बढी छ । यसले स्वस्थ प्रतिस्पर्धा भएको छैन । अनुगमन गर्न पनि सम्भव देखिँदैन । राज्यले राजस्वसमेत गुमाइरहेको छ,’ खड्काले भने ।


अटोमेकानिकले सवारी मर्मत गर्ने र अटोमोबाइलले आवश्यक पर्ने पार्टपुर्जा उपलब्ध गराउने हुँदा दुबै एकै ठाउँमा हुनुपर्ने खड्काले औंल्याए । ‘महानगरपालिकाले बनाउने अटोभिलेजमा अटोमेकानिकल र अटोमोबाइलको भूमिका एउटै हुन्छ । दुबैको काम एउटै हो । यी दुबै एक सिक्काका दुई पाटा हुन्,’ खड्काले भने ।


जग्गा खोज्दै महानगर
पोखरा महानगरपालिकाले अटो वर्कसपलाई व्यवस्थित गर्न ३ अटोभिलेज बनाउन लागेको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए ।


महानगरले ५ सदस्यीय कार्यदल गठन गरी जग्गा खोजिरहेको छ । समितिले अटोभिलेजका लागि चाहिने जग्गा पोखराका विभिन्न वडामा हेरिरहेको कार्यदल संयोजक नेपालीले सुनाए । ‘हामीलाई जग्गा खोज्ने जिम्मा दिइएको छ । प्रारम्भिक अनुमानमा पोखरामा ३ ठाउँमा अटोभिलेज अत्यावश्यक छ,’ उनले भने, ‘पृथ्वी हाइवेलाई समेटेर जग्गा खोजिरहेका छौं । तीन ठाउँमध्ये उत्तम विकल्प वडा नम्बर २५ र १९ मा एउटा हुन सक्छ । वडा नम्बर १६, २२ र २१ मा एउटा हुन सक्छ, अर्को भने वडा नम्बर ३२ मा हो ।’


समितिले १ महिनाभित्र जग्गाको टुंगो लगाउन प्रयत्न गर्ने नेपालीले सुनाए । ‘जग्गा खोज्नु मुख्य चुनौती छ । १ ठाउँमा अटोभिलेज खोल्न १ सय रोपनीदेखि १ सय २० रोपनी आवश्यक पर्ने रहेछ,’ संयोजक नेपालीले भने । कार्यदलमा पोखराका भित्रिने मुख्य नाकालाई मध्यनजर गरी ३ ठाउँमा ६ सय वर्कसपसहित पार्किङ भएको अटोभिलेज चाहिनेबारे छलफल भएको भएको छ ।


जग्गा खोज्ने कार्यदलका सदस्यमा वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेल, वडा नम्बर ४ का अध्यक्ष शंकरप्रसाद बास्तोला, अटो व्यवसायीहरु सनतकुमार भट्टराई, सन्तोषकुमार मिश्र र पोखरा महानगरका इन्जिनियर सुलभ तिमिल्सिना छन् ।


पोखरा महानगरले जग्गा खोज्न कार्यदल गठन गरे पनि अटोमोबाइल डिलर्स एसोसियसनलाई नसमेटिएको अध्यक्ष मोहनबाबु खड्काले गुनासो गरे । ‘अटोमेकानिक र अटोमोबाइल एक सिक्काका दुई पाटा हुन् । तर हामीलाई कार्यदलमा महानगरले बेवास्ता गरेको छ । यसले अटोमोबाइल व्यवसायीका माग सम्बोधन नहुनेमा शंका उत्पन्न भएको छ,’ खड्काले भने ।


कार्यदलका सदस्य तथा गण्डकी अटोमेकानिकाल वर्क सप एसोसियसन अध्यक्ष मिश्रले गण्डकीमा ३ सय ६० चारपांग्रेको काम गर्ने वर्क सप एसोसियसनमा दर्ता भएको बताए । ‘दर्ता भए पनि कानुनी रुपमा सञ्चालन भएका केहीमात्र छन् । राजस्व बुझाउने दर्ता भएकाभन्दा नभएका बढी छन् । पोखरा महानगरपालिकाभित्रै ३ सयदेखि ४ सय दर्ता नभएका वर्कसप चलिरहेको उनी बताउँछन् । अटोभिलेज सञ्चालन भए यी वर्कसपसमेत करको दायरामा आउने छन् ।


एउटा चारपांग्रे वर्कसका स्पिङ पत्ता, वाइरिङ, इन्जिनियरिङ, बडी, लेथ, रंगरोगनलाई ४ देखि ५ रोपनी जग्गा आवश्यक पर्ने मिश्र बताउँछन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया