फिर्के खोलाको पुल ढलान

पोखरा ।
भनेकै समयमा काम भएको भए यो बेला सिद्धार्थचोकबाट पस्र्याङ जाने सडक खण्डको फिर्केखोलामाथि पुलमा गाडी कुदिरहेका हुन्थे । तर पुल निर्माण सम्झौता भएको २ वर्षपछि बल्ल पुलको ढलान भएको छ ।
२०७६ भदौ १ मा पोखरा महानगरपालिका र शान्ति आरोग्य जेभी सानेपा (निर्माण व्यवसायी) बीच ५ मंसिर २०७७ भित्र आर्क पुल निर्माण गरिसक्नुपर्ने गरी ४ करोड ५५ हजार ८ सय ३ रुपैयाँ ७२ पैसामा सम्झौता भएको थियो । संघीय सरकारको ७० र महानगरको ३० प्रतिशत विनियोजित बजेटलाई सम्झौताअनुसार चालु गर्न नसक्दा उक्त पुल निर्माण बल्ल हुने संकेत देखिएको छ ।
निर्माण कम्पनीका इन्जिनियर रामनारायण यादवले सम्झौतामा तोकिए अनुसारको समयमा पुल निर्माण हुन नसकेको स्वीकारे । ‘पुल निर्माणको चरण सुरु गर्दा कोरोना आयो, बीचमा स्थानीयहरूको जग्गाको विवादले गर्दा ढिला हुन पुग्यो,’ उनले भने, ‘सबै समस्या सुल्झिएको छ । अब अवश्य पुल निर्माण पूरा हुँदैछ ।’
पुल अलपत्र हुँदा सबै रमिते बनेको नागरिक अगुवा रामबहादुर पौडेल बताउँछन् । भन्छन्, ‘अख्तियार कार्यालय पोखराका निवर्तमान प्रमुख रमेश सिवाकोटी सरको दबाबका कारण यस पुलको बाँकी निर्माणकार्य अघि बढेको हो ।’
पुल निर्माण सुरु गरेको केही महिनापछि नै कोभिडले कामलाई बाधा पु¥याएको पोखरा ४ का वडाध्यक्ष शंकर बास्तोलाले सुनाए । ‘कोभिडले ६ महीना शून्य समयजस्तो भयो । त्यसपछि २/४ महिना प्राविधिक समस्याले ढिला हुन पुग्यो,’ बास्तोलाले भने, ‘काम गर्ने मान्छेको अभाव पनि भयो । पुलको मुख्य काम बंगालीहरूले राम्रो गर्ने भनेर उनीहरूलाई बोलाउँदा कहिले को आउनी, कहिले को नआउनी गर्दा समस्यामा परियो ।’
पुल निर्माण सुरु गरेको लामो समय भए पनि निकै राम्रो पुल बन्न लागेको बास्तोला बताउँछन् । वडाअध्यक्ष बाँस्तोलाले भने, ‘बल्ल तनाव कम भएको छ । दायाँबायाँ अलिकति पर्खाल लगाउन बाँकी छ । मुख्य पाटो सकियो ।’ १५ मिटर लम्बाई र दुईतर्फ फुट ट्र्याकसहित ११ मिटर चौडाइको आरसिसी टिबिम पुल निर्माण हुन लागेको हो । पुल निर्माण ढिला हुँदा पैदलयात्रीलाई समस्या भएको छ ।
‘पैदलयात्रीलाई परेको समस्या हामी महसुस गर्छौं । तोकिएको समयमा भ्याइएन । स्थानीय आक्रोशित हुनुपनि स्वाभाविक नै थियो,’ यादवले भने, ‘अब पुलको समस्या सकिन लागेको छ । फागुनमा पुल हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । निर्माण टिम सोहीअनुसार लागि परेको छ ।’ पुलको मुख्य काम सकिएको हुँदा निर्माण कम्पनीले ढिलासुस्ती गरे पनि माटो हालेर भए पनि साना गाडी कुदाउन सकिने बाँस्तोलाले बताए ।
सम्झौता रकम ४ करोड भए पनि महानगरको रेडबुकको शीर्षक नम्बर ३१ हजार १ सय ५१ मा ३ करोड ३९ लाख ६६ हजार बजेट विनियोजन गरिएको उल्लेख छ । सम्झौताअनुसार ५ मंसीर २०७७ मा पुल निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने थियो ।
२०७६ मंसिरबाट सुरु काम ३ दिनपछि बन्द गरिएको थियो । स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमा निर्माण कम्पनीलाई पुल निर्माण कार्यमा ढिला नगरिदिन पटकपटक सहमति भए पनि कामले निरन्तरता पाउन नसक्दा स्थानीय आक्रोशित भएका थिए । निकै व्यस्त सडकको वैकल्पिक मार्ग नखोजी पुल निर्माण गर्दा स्थानीयहरू आक्रोशित बन्नु स्वाभाविक थियो ।
यही असोजमा सिद्धार्थ मार्ग फिर्के पुल सरोकार समिति र सिद्धार्थ व्यवसायी संघर्ष समितिले बाटोमा बाँस झुन्डाएर विरोध जनाएका थिए । कारण, समयमै पुल नबन्नु । १५ महिनामा पुल सम्पन्न गर्ने भनिए पनि २५ महिनासम्म निर्माण नसकिँदा स्थानीयहरू आक्रोशित भएका थिए ।
स्थानीय जनप्रतिनिधिले पुल निर्माण सम्पन्न हुने समयसम्म कम्तीमा दुईपांग्रे वैकल्पिक बाटो बनाउने आश्वासन दिएपछि विरोध सभा शान्त भएको थियो । लामो कोरोना कहरपछि पुल छेउछाउका बजार खुले पनि व्यापार शून्य थियो । पुल निर्माण सुरु गर्दा जग्गा मिचेको भन्दै पछि स्थानीयले पुनः काममा बाधा पु¥याएका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया