कास्कीका डाँडाकाँडामा हिउँ

सञ्जय रानाभाट २०७८ माघ २२ गते १३:४७

सञ्जय रानाभाट

पोखरा ।
कास्कीको उच्च पहाडी भेगमा शुक्रबार हिउँ परेको छ । बिहीबार बेलुकादेखि परेको वर्षासँगै शुक्रबार कास्कीका उच्च पहाडी भाग ताङतिङm सिक्लेस, पञ्चासे, छोम्रोङ र लुम्लेकाँडेमा हिउँ परेको हो ।


अत्यधिक चिसोका कारण हिमपात आसपासका मानिसको दैनिकी कष्टकर भएको छ । नजिकका डाँडामा हिउँ परेसँग हिउँ हेर्न र खेल्न जानेको भीड लागेको छ । कास्कीको नजिकको गाउँ ताङतिङमा हिउँ हेर्ने र खेल्नेको भीड लागेको समाजसेवी ओमप्रकाश गुरुङले बताए । गाउँमाथि रहेको क्रपुडाँडामा बर्सेनी पुस र माघमा हिउँ पर्ने भए पनि बिहीबार बेलुकादेखि गाउँ नजिकसमेत हिउँ परेको गुरुङले सुनाए ।

Advertisement


‘हिउँ परेपछि गाउँमा पर्यटकको भीड छ । अत्याधिक चिसो बढेको छ,’ गुरुङले भने । बिहीबारदेखि बेलुकादेखि गाउँ हेर्न र हिउँ खेल्न आउने उल्लेख्य रहेको उनले सुनाए । अहिले गाउँमा ४ सयभन्दा बढी पर्यटक रहेको उनले सुनाए ।


ताङतिङको उत्तरतर्फको सिक्लेस गाउँमा पनि हिउँ परेको छ । स्थानीय गेहेन्द्र गुरुङले दिउँसो केही बेर हिउँ पर्न रोकिए पनि शुक्रबार बेलुका फेरि हिउँ पर्न थालेको जनाए । हिउँ खेल्नकै लागि धेरै मानिस अहिले सिक्लेस पुगेका छन् । हिउँ परेपछि गाउँमा जारी विकास, निर्माणका काम रोकिएका छन् । गाउँ पुगेका सवारीसाधन बाक्लो हिउँले फर्किन सकेका छैनन् ।

Advertisement


हिउँले खेतीबाली सप्रिने भएकाले स्थानीय किसान औधी खुसी छन् । पुस र माघमा हिउँ पर्दा बाली फस्टाउने उनीहरु बताउँछन् । कास्कीको लुम्लेमा भने शुक्रबार बिहान पातलो हिमपात भएको राजनीतिकर्मी विवेक देवकोटाले बताए । ‘चिसोले मानिसको दैनिकी कष्टकर भएको छ । माथिमाथि डाँडामा हिउँ परेको थियो । गाउँमा भने बेलुका हिमपात हुन रोकियो,’ देवकोटाले भने ।


शनिबारदेखि मौसम सुधार हुने
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि मौसममा सुधार आउनेछ । तर गण्डकी प्रदेशदेखि पूर्वतर्फ भने शनिबार पनि बदली र हल्का वर्षा नै हुने सम्भावना छ । गण्डकी प्रदेशभर शुक्रबार पनि हल्का वर्षा र केही स्थानमा हिमपात भएको थियो । शनिबार केही स्थानमा मेघ गर्जन, चट्याङसहित असिना पानी पर्ने महाशाखाले जनाएको छ । शनिबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।


पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर बदली र वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि बिहीबार बेलुकादेखि भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिनभर नै हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको छ । हिमपात र वर्षाका कारण चिसो बढेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया