चुनावमा उम्मेदवारी नदिने शुक्रराज शर्माकाे घोषणा

सञ्जय रानाभाट २०७८ माघ २४ गते १२:१५

सञ्जय रानाभाट

Advertisement


पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आगामी चुनावमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । आइतबार कांग्रेस गण्डकी प्रदेश कार्यालय भवन उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् । ‘यस पटक गण्डकी प्रदेशको जिम्मेवारी साथीहरुले दिनुभएको छ । जनता जनर्दनको रुपमा हुनुहुन्छ । मञ्चमा बस्ने नेताहरु भगवानको रुपमा हुनुहन्छ । सबैलाई साक्षी राखेर म के भन्न चाहन्छु भने म चुनाव लड्दिनँ,’ शर्माले भने ।


पटक पटक टिकट पाउँदा पनि पार्टीभित्रकै अन्तर्घातका कारण चुनाव जित्न नसकेको उनले सुनाए । ‘उम्मेदवार बनेर मलाई हराउने, अन्तर्घात गर्ने, दुख दिने कामबाट साथीहरुलाई मुक्त गर्न चाहन्छु । उम्मेदवार बन्ने साथीहरुलाई चुनाव जिताउने संकल्प गर्छु,’ सभापति शर्माले भने ।
शर्मा २०७४ मा कास्की ३ मा प्रतिनिधि सभाका उम्मेदवार थिए । तर एमालेका जगत विश्वकर्मासँग पराजित भए । शर्मा कांग्रेसको १० औं महाधिवेशन पोखरामा भएका बेला त्यसको आयोजक जिल्ला समिति सभापति थिए र केन्द्रीय सदस्य उम्मेदवार पनि । त्यो चुनाव पनि उनलाई फापेन । शर्माले जति निर्वाचनमा भाग लिए, सबैमा हारमात्रै हात लाग्यो । उनले २०४८ र २०५१ मा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको टिकट पाएका थिए ।


एक पटक राष्ट्रिय सभा सदस्य भने बनेका थिए । उनी कांग्रेस केन्द्रीय समितिमा आमन्त्रित केन्द्रीय सदस्य मनोनित भएका थिए । २०४६ साल भदौमा उनी कास्की कांग्रेस सभापति बनेका थिए । ‘मलाई पार्टीले ४८, ५१ ,७४ सालमा उम्मेदवार बनायो । ती सबै ठाउँमा मलाई कम्युनिस्टले वा जनताले हराएका होइनन् । अन्तर्घातका कारणले चुनाव हारेको हुँ,’ शर्माले सुनाए ।


चुनावमा प्रतिस्पर्धामा हुनु स्वभाविक भएको तर, मन नपरेको मान्छे उम्मेदवार भएर आउनेबित्तिकै भोट नहाल्ने परम्परा पार्टीमा भ्याङगिएको उनले टिप्पणी गरे । ‘यसलाई अन्त्य नगर्ने हो भने कांग्रेसले कहिले विजय प्राप्त गर्न सक्दैन । जुन पटक मलाई पार्टीले टिकट दिएन, त्यो बेला म नेतृत्वमा थिए । त्यस बेला सबै ठाउँमा चुनाव जिताएको थिएँ,’ उनले भने । शर्मा कास्की सभापतिमा हुँदा ५६ सालमा कास्कीका ३ वटै क्षेत्र कांग्रेसले जितेको थियो ।

Advertisement


‘४८ र ५१ सालकमा स्थानीय चुनावमा हा¥यौं । त्यो बेलामा तारा गुरुङले जित्नुभयो । दुर्गाजी र म हा¥यौं तर, ४९ सालको स्थानीय चुनावमा ८८ प्रतिशत जिल्ला विकासमा ६६ प्रतिशत गाविस, नगरपालिकामा चुनाव जितेर गराएका थियौं । ५६ सालमा टिकट नपाए पनि पार्टीबाट बनेका उम्मेदवारलाई जिताएका थियौं,’ शर्माले भने ।


पार्टीमा अनुशासन बिग्रिएको उनको भनाइ छ । ‘यसो हुनुमा पार्टीलाई नियमका साथ, संस्थागत रुपमा सञ्चालन गर्न नसकेर हो,’ सभापति शर्माले भने, ‘पार्टीलाई अनुशासनमा राख्ने काम हामी प्रारम्भ गर्छाैं । हामी पार्टीलाई नीति, विधि र संस्थागत रुपमा सञ्चालन गर्छाैं ।’


यही माघ १२ गते भएको राष्ट्रिय सभा चुनावमा गठबन्धनका उम्मेदवारको मत क्रस भएको देखियो । त्यसका बाबजुद पनि ५ दलीय गठबन्धनका उम्मेदवारले जितेका थिए । गठबन्धनसँग एक्लै भिडेको एमालेले गठबन्धनको मत पाएको थियो । अन्तर्घात भएको भन्दै ५ दलीय गठबन्धनले मतपरिणाम सार्वजनिक भइसकेपछि यसबारे छानबिन हुने जनाएको भए पनि अहिलेसम्म यसको तथ्य सार्वजनिक भएको छैन ।
गण्डकी प्रदेश सभापति शर्माले आउँदो चुनावमा स्थानीय, प्रदेश र संघको चुनावमा अनुशासित, इमान्दार, र भिजनरी उम्मेदवार उठाउने प्रतिवद्धता गरे । २०४६ देखि ६३ सालसम्म १७ वर्ष नेपाली कांग्रेस कास्की सभापति भएका शर्मा त्यसको १० वर्षपछि प्रदेशको नेतृत्वमा पुगेका हुन् ।


युवा र जनतालाई भरोसा दिने कांग्रेस बनाउने भविष्यको नेतृत्व तयार गर्नुपर्ने शर्माले उल्लेख गरे । ‘भविष्य अन्धकार छ । वर्तमान तपाईं हाम्रो हातमा छ । अहिले हाम्रो सामुन्ने जे समस्या छन्, ती समस्यालाई समाधान गरेर उपलब्धिमूलक कार्ययोजनाका साथ अगाडि बढ्छौं,’ शर्माले भने, ‘कसैलाई दोषी बनाएर उम्कन सक्ने ठाउँ छैन ।’


आउँदो चुनावमा कांग्रेस नैतिकता, प्रविधिक शिक्षा र अंग्रेजी शिक्षा हुनुपर्ने माग लिएर जनताको माझमा जाने शर्माले सुनाए । ‘२ कक्षादेखि अंग्रेजीमा अन्तर्राष्टिय प्रतिस्पर्धा गर्ने बेला आएको छ । यसैले हामी नैतिक र अंग्रेजीको शिक्षा २ कक्षाबाट सुरु गर्न चाहन्छौं,’ शर्माले भने, ‘५ कक्षादेखि हामी प्राविधिक शिक्षा सरकारी स्कुलबाट प्रारम्भ गर्न चाहन्छौं ।’ वरु विकास ५ वर्षपछि गरे हुने तर नैतिकता, प्राविधिक शिक्षा अहिल्यै अपरिहार्य भएकोमा उनको जोड छ ।


प्रदेश कार्यालय भवन उद्घाटनमा गर्न आएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी चुनावसम्म गठबन्धन कायम राखेरै चुनावमा जानुपर्ने विचार राखे । ‘७४ सालको चुनावमा कांग्रेसले ३० प्रतिशत भोट ल्यायो । गठबन्धन तोडेर एक्लै चुनाव लडे फेरि पनि त्यतिमै चित्त बुझाउनुपर्छ,’ उनले भने । पौडेलले एक्लै जित्ने ठाउँमा एक्लै लड्नपर्ने र नजितिने ठाउँमा गठबन्धन गर्नुपर्ने विचार राखे । कांग्रेसभित्रै एक्लै चुनावमा जानुपर्ने मत बलियो छ । पौडेलले भने, ‘राष्ट्रियसभामा हाम्रा ३ जना थिए । अहिले ६ जना भएका छन् । गठबन्धन नभएको भए यस्तो कसरी हुन्थ्यो ?’


कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङले पनि शर्मा जस्तै भनाइ राखेका थिए । उनले घात प्रतिघात र अनुशासनहीनता कांग्रेसमा मौलाएको उल्लेख गरे । पार्टी अनुशासनमा नरहनेलाई कारबाही हुने गुरुङले चेतावनी दिए । ‘केही दिनमा यस्तो घात गर्ने र पार्टीभित्र अनुशासन कायम गर्न अनुशासन समिति बनाइनेछ,’ गुरुङले सुनाए ।


ठूला भ्रष्टाचारका फाइल अख्तियारको दराजमा थन्क्याएर लोकतन्त्र बलियो हुन नसक्ने उनले टिप्पणी गरे । उपसभापति गुरुङले भने, ‘हिजो अनुसन्धान नभएर के भयो ? आज कांग्रेसले अनुसन्धानअघि बढाउनु पर्छ ।’


कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, पूर्व केन्द्रीय सदस्य अर्जुन जोशी, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, पूर्व महामन्त्री तारानाथ रानाभाट लगायतले बोलेका थिए । समारोहमा रेवतीरमण सुवेदीको कृति ‘सहिद क्याप्टेन यज्ञबहादुर थापा’ सार्वजनिक गरिएको थियो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया