अस्ट्रेलियामा ३ लाख कुकरी र सेफको आवश्यकता छ : थकाली

समाधान संवाददाता २०७८ माघ २६ गते ११:२३


मलबेरी इन्स्च्यिुट अफ हस्पिटालिटीले बेलायतको सिटी एन्ड गिल्ड भोकेसनल इन्स्टिच्युटबाट सम्बन्धन लिई कुकरी र कुलिनरी कोर्समा अभ्याससहित पोखराबाट अध्यापन गराइरहेको छ । डिप्लोमा र एड्भान्स डिप्लोमाका लागि मलबेरीले नयाँ ब्याचमा विद्यार्थी भर्नाका लागि आह्वान गरिसकेको छ । पोखराबाट सफल सञ्चालन भइरहेको मलबेरी निकट दिनमै देशका विभिन्न क्षेत्रमा विस्तारको योजनामा छ । मलबेरीको स्थापनाको उद्देश्य, अध्ययन पश्चात्त उत्पादित जनशक्तिलाई बजारमा व्यवस्थापन लगायत विषयमा इन्स्टिच्युटका संस्थापक राजमान थकालीसँग संवाद गरेका छौं ।

Advertisement


मलबेरी इन्स्च्यिुट अफ हस्पिटालिटी स्थापना हुनुको उद्देश्य के हुन् ?


नेपाल वा विश्वकै सन्दर्भमा ट्रेड र भोकेसनल एजुकेसनलाई प्राथमिकता जति मात्रामा दिनुपर्ने हो त्यति दिइएको पाइँदैन । अझ नेपालको हकमा त सबै डाक्टर र इन्जिनियर बन्न दौडिएका छन् । औसत वा न्यून सिप लागू हुने रोजगारीका क्षेत्रहरु छन्, त्यसका लागि पनि जुन ज्ञान हुनुपर्ने हो त्यसको लागि तयार भएको देखिँदैन । यसै कारण पनि ज्ञान सहितको सिप हाँसिल गराई दक्ष जनशक्ति उत्पादन गर्न मलबेरी इन्स्च्यिुट अफ हस्पिटालिटीको स्थापना भएको हो ।


यस्ता थुप्रै विधाहरु छन्, जुनमा हामीले अझ धेरै काम गर्नुपर्ने छ । तर मैले जानेको र बुझेको क्षेत्र भनेको हस्पिटालिटी हो । यसर्थ पनि हामी हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ लागि परेका छौं । पर्यटकको हब पोखरा भएकाले पनि हस्पिटालिटी क्षेत्रमा ठूलो मात्रामा जनशक्तिको माग छ । विस्तारै अन्तर्राष्ट्रिय बजारमा यहाँका विद्यार्थीहरुलाई पुर्‍याएर पछि फेरि यहीँको बजारमा फिर्ता ल्याई आफ्नै थलोमा पसिना बगाउने वातावरण तयार गर्ने हाम्रो उद्देश्य हो । समग्रमा यसै क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीलाई मार्गनिर्देशन गर्नु नै हो ।


मलबेरीले दक्ष जनशक्ति उत्पादनको उद्देश्य त राखेको छ । उनीहरुको दक्षतालाई बिक्री गर्ने बजारको सुनिश्चिता भने कसरी गर्नुहुन्छ ?

Advertisement


सिटी एन्ड गिल्ट भोकेसनल इन्स्च्यिुट बेलायतबाट सम्बन्धन लिई अन्तर्राष्ट्रिय पाठ्यक्रममै हामीले अध्यापन गराएका छौं । सर्टिफिकेटको महत्व छैन भनिरहँदा, यहीँ पोखरामा सामान्य सेफ बन्न त्यसको महत्व नरहला । तर जब अन्तर्राष्ट्रिय बजारमा अन्य देशबाट आएका सेफहरुसँग प्रतिस्पर्धा गर्छौं नि, त्यसमा फेरि कुन चाहिँ कोर्स पढेको भन्नेले मान्यता राख्छ । हामीले अस्ट्रेलिया वा अन्य कुनै देशबाट पनि कोर्ष ल्याउन सक्थ्यौं तर सिटी एन्ड गिल्ट एक सय ४० वर्ष पुरानो संस्था हो, जसको चार/पाँच बढी ट्रेड कोर्सहरु मात्रै छन् । उनीहरुको कोर्सको पछाडिको दर्शन भनेको नै पिछडिएको देशहरुको अर्थतन्त्रलाई उकास्न ट्रेड क्वालिफिकेसनको माध्यमबाट रुपान्तरण ल्याउनु हो । पहिले युद्धमा जाने लडाइँ गर्ने र झण्डा गाड्ने आफ्नो साम्राज्य विस्तार गर्ने भन्ने हुन्थ्यो ।

अहिले विश्व परिवर्तन भइसक्यो ट्रेड एजुकेसनको माध्यमबाट आफ्नो सिप र ज्ञानको साम्राज्य विस्तार भइरहेको छ, जुन हाम्रो देशको लागि पनि उपयुक्त माध्यम हो । मलबेरीमा पढेको विद्यार्थी अन्तर्राष्ट्रिय मान्यता प्राप्त सर्टिफिकेट प्राप्त गर्छ, आवश्यक सिप सहित । विश्व सेफ संगठनले नै मान्यता दिएको प्रमाण पत्र हुने भएकाले विद्यार्थीहरुका लागि सहज रुपमा अस्ट्रेलियासहित अन्तर्राष्ट्रिय बजारमा आफूलाई उभ्याउन सक्षम हुनेछन् । एक वर्षको दौरानमा हामी विद्यार्थीलाई पकाउन मात्र सिकाउँदैनौं, उनीहरुलाई अन्तर्राष्ट्रिय भाषा, व्यक्तित्व विकास पनि सँगसँगै सिकाउँछौं । जसबाट ऊ भित्रैदेखि मानसिकरुपमा पनि तयार हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली श्रमशक्तिले प्रतिस्पर्धा गरी नतिजा दिन सक्छन् भन्ने आधारहरु ?


२६ वर्षदेखि म अस्ट्रेलियामा छु । त्यहाँको सन्दर्भ उल्लेख गर्नुपर्दा त्यहाँमात्रै ३ लाख कुकरी र सेफको आवश्यकता छ । किचनमा मेनपावरको हाहाकार जस्तै छ । कोरोनाका कारणले गर्दा त्यहाँको हस्पिटालिटी क्षेत्र पूर्ण रुपमा लयमा फर्किन सकेको छैन, त्यसमा कारण मुख्यतः मेनपावर पनि हो । कोरोनापछिको रिकभरी प्लानमा अस्ट्रेलियाले टुरिजम र हस्पिटालिटीलाई प्राथमिकतामा राखेको छ, सरकारले लगानी पनि धेरै गरेको छ । त्यहाँ नेपालीले पनि आफ्नो राम्रो छाप बनाइसकेका छन् ।

सिड्नी, मेलबर्नका कुनै पनि रेस्टुरेन्ट तथा बारमा नेपाली नै छन् । नेपालीले बनाएको राम्रो छापको पछाडिको कारण भनेको कुनै पनि जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु हो । अपवादबाहेक नेपालीको कर्मशील स्वभावले गर्दा अस्ट्रेलियाको हस्पिटालिटी क्षेत्रमा बहुसंख्यक नेपालीले नाम कमाएकै छन् । मैले कति पत्रिकामा देखेको छु, ‘नेपाली सेफ वान्टेड’ यसबाट पनि के प्रमाणित हुन्छ भने, अस्टे«लियाले नेपालीको पहिचान स्थापित गरिदिएको छ ।


सिप र ज्ञानलाई विदेशमा मात्रै निर्यात गर्ने कि स्वदेशमै पनि अवसरको खोजी गरिदिने ?


स्वदेशमै जनशक्तिलाई व्यवस्थापन गर्न पनि हामीसँग हस्पिटालिटीका लोकल पार्टनर छन् । सामान्यतया पहिलो रोजाई त विद्यार्थीको विदेश नै हुने गरेको छ । तर सबै अन्तिमसम्म विदेश नै जान्छु भन्ने त नहोलान् त्यसको विकल्प भनेको त स्वदेश नै हो । मलबेरीबाट उत्पादित जनशक्तिलाई हामी विदेशसँगै स्वदेशमा करियर स्थापित गराउन हाम्रो भूमिका रहन्छ, यसमा हामी जिम्मेवार पनि छौं ।

संस्थाका आगामी योजना के छन् ?


साढे दुई वर्षदेखि हामीले पोखरालाई प्रमुख कार्यक्षेत्र बनाएर कार्यक्रम अघि बढाइरहेका छौं । कोरोना हुँदा हुँदै पनि हामीले तेस्रो ब्याचलाई पढाइरहेका छौं । पहिलो ब्याचका विद्यार्थीको अस्ट्रेलियाका लागि डकुमेन्टेसनको काम भइरहेको छ । काठमाडौंमा पनि हाम्रो शाखा तयार भइसकेको छ । अर्को चरणमा देशका विभिन्न ६ वटा स्थानमा क्याम्पस बनाउने उद्देश्य छ । सबै भूगोल समेटेर हामी विभिन्न ठाउँमा हस्पिटालिटी क्षेत्रमा समक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य छ । जस्तै बुटवलमा अहिले होटल तथा रिसोर्टमा ठूलो लगानी भित्रिरहेको छ । त्यहाँ हस्पिटालिटी सम्बन्धित जनशक्तिको खाँचो पर्छ । इटहरी, धनगढी पनि उम्दा सहरको रुपमा विकसित भइरहेका छन् । हाम्रो नजर त्यता पनि छ ।

तपाईको प्रतिक्रिया