रेस्लरदेखि समाजसेवीसम्म गण्डकी रत्नका दाबेदार

सञ्जय रानाभाट २०७८ माघ २७ गते १२:१८

सञ्जय रानाभाट
पोखरा ।
प्रदेश सरकारले यस वर्षदेखि दिन लागेको ‘गण्डकी रत्न’का लागि ८ जनाको निवेदन परेको छ । आन्तरिक मामिला मन्त्रालयले आवेदन माग गर्दै गत ४ माघमा १५ दिने सूचना निकालेकोमा ८ जना पुरुषले दाबेदारी प्रस्तुत गरेका हुन् । प्रदेशकै ठूलो सम्मान दाबी गरिएको गण्डकी रत्नका लागि कास्कीका तीन जना, स्याङ्जा र तनहुँका २/२ र लमजुङका एक जनाले निवेदन दिएको मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले जानकारी दिए ।


कास्कीका कोविदशरण उपाध्याय, मदनकुमार गुरुङ, चन्द्रकान्त बराल, स्याङ्जाका यामबहादुर पौडेल क्षेत्री, डिलबहादुर गुरुङ, तनहुँका रमेशबहादुर विक र काशीनाथ न्यौपानेले निवेदन मन्त्रालयमा बुझाएका छन् । प्रदेशमा विशिष्ट योगदान पु¥याएका बढीमा ३ जनालाई विभूषित गर्ने भन्दै प्रदेश मन्त्रिपरिषद्ले गत पुस अन्तिममा कार्यविधि बनाएको थियो । गण्डकी प्रदेशको श्रीवृद्धि र गौरव बढाउने गरी विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरुलाई प्रदेश सरकारद्वारा विशिष्ट व्यक्ति सम्मान प्रदान गर्ने गरी कार्यविधि बनाएको थियो ।


प्रदेशभित्र शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, विज्ञान, पर्यटन, पूर्वाधार, विज्ञान, प्रविधि, समाजसेवा लगायतमा क्षेत्रमा योगदान गरेकाहरु विभूषित हुने व्यवस्था कार्यविधिले गरेको छ । निवेदन मध्ये आँधीखोला ५ स्याङ्जा घर भएका यामबहादुर पौडेल क्षेत्रीले समाज सेवा, धार्मिक पर्यटन र उद्योग व्यपारमा प्रदेशलाई योगदान पु¥याएको भन्दै निवेदन दिएका छन् । उनी पृथ्वीनारायण क्याम्पस पोखराका अवकास प्राप्त प्राध्यापक हुन् ।

Advertisement


कास्कीका मदनकुमार गुरुङले खेलकुदमा योगदान गरेको भन्दै निवेदन दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्मा बक्सिङ प्रशिक्षक भएर उनले २०४० सालदेखि ३५ वर्ष काम गरेका थिए । बर्माबाट सैनिकको जागिर छोडेर उनी नेपाल आएका थिए । मदनलाई २०७६ सालमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आदर्श खेल व्यक्तित्व अवार्ड दिएको थियो ।

तनहुँ घर भएका रमेशबहादुर विकले पर्यटन क्षेत्रमा योगदान पु¥याएको भन्दै विभूषणको दाबेदार गरेका छन् । उनले गाउँमा होमस्टे चलाएर पर्यटनमा योगदान पु¥याएको भन्दै गण्डकी रत्न दाबी गरेका हुन् । रेस्लर भरतबहादुर विसुरालले पनि गण्डकी रत्नमा दाबेदारी प्रस्तुत गरेका छन् । लमजुङ घर भएका विसुरालले रिङ रेस्लिङ प्रवद्र्धनमा सक्रिय छन् । उनलाई ‘द हिमालयन टाइगर’ उपनामले चिनिन्छ ।
स्याङ्जाका डिलबहादुर गुरुङले पनि समाजमा योगदान पुर्‍याएको भन्दै गण्डकी रत्नका लागि निवेदन दिएका छन् । असल छिमेकी सहयोग संघ (गोनेसा) का पूर्वाध्यक्ष उनले समाजसेवाको अन्तर्राष्ट्रिय अवार्ड पनि जितेका छन् । गाउँमा सडक पु¥याउनेदेखि शैक्षिक विकासमा उनको सक्रियता छ । डिलबहादुरले पाँच वर्षअघि इटालीको फोकसिभ नामक अन्तर्राष्ट्रिय संस्थाबाट इन्टरनेसनल भोलिन्ट्री एण्ड युथ इम्पोलियीबिलिटी अवार्ड पाएका थिए ।

Advertisement


कास्कीका चन्द्रकान्त बरालले समाजसेवा, धार्मिक पर्यटन र उद्योग व्यापारमा आफूले योगदान गरेको भन्दै विभूषणमा दाबी गरेका छन् । बरालकै परिकल्पनामा पोखरा, २२ पुम्दीकोटमा ५१ फिट अग्लो शिवको मूर्ति बनिरहेको छ । उनी दाना उद्योग खोलेका छन् भने कुखुरा पालन व्यवसाय पनि छ ।


तनहुँका काशिराज न्यौपानेले भाषा, संस्कृति, साहित्य, कला, समाजसेवामा योगदान गरेको दाबी गर्दै निवेदन दिएका छन् । उनी तनहुँको व्यास नगरपालिका ६ का स्थायी बासिन्दा हुन् ।


कोविन्दशरण उपाध्याय कास्कीका हुन् । उनले समाजमा बोक्सी विरुद्धको अभियान चलाएर प्रदेशको गौरव बढाएको दाबी गरेका छन् । उपाध्याय चलचित्र बोक्सी प्रथा केन्द्रीत अग्निदहनका परिकल्पनाकार हुन् ।


निवेदकमध्येबाट सिफारिस गर्न प्रदेश सरकारको विशिष्ट मन्त्री अध्यक्ष रहने गरी ६ जनाको सिफारिस समिति बनेको छ । समितिले सिफारिस गरेपछि यसलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्ने छ । सदस्यमा अर्थ र आन्तरिक मामिला मन्त्री, प्रमुख सचिव र आन्तरिक मामिलाका सचिव सदस्य सचिव रहने गरी समिति बनेको हो । समितिले बढीमा ३ जनालाई छनोट गर्न सक्ने कार्यविधि बनेको छ । निवेदन दिएकाबाहेक अरुलाई पनि प्रदेश सरकारले छनोट गरेर विभूषित गर्न सक्ने व्यवस्था कार्यविधिले गरेको छ ।


तक्मा, दोसल्लासहित प्रदेश सरकारले तीन जनालाई सम्मान गर्नेछ । सम्मान हुनेले सार्वजनिक सभा, समारोहमा प्रदेश सभा सदस्य सांसद सरह मर्यादाक्रम पाउँछन् । त्यस्तै प्रदेशभित्रका सरकारी अस्पतालमा निशुल्क सुविधा दिइने छ । गण्डकी रत्न प्राप्त व्यक्ति संरक्षणविहीन बनेमा संरक्षणको दायित्व राज्यले लिनेछ । गण्डकी रत्न पाउनेले प्रदेशभित्र रहेका विमानस्थलको अति विशिष्ट कक्ष प्रयोग गर्न पाउने व्यवस्था छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया