मन्त्री श्रेष्ठले दिए ओमप्रकाशविरुद्ध उजुरी

समाधान संवाददाता २०७८ माघ २७ गते २०:३८

पोखरा ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले महानगरीय प्रहरी वृत्त दरबारमार्ग काठमाडौंमा ग्रिनलाइन सेन्टरका संस्थापक ओमप्रकाश अग्रवालविरुद्ध उजुरी दिएका छन् । मन्त्री श्रेष्ठले आफ्नो पैसा नतिरेको अग्रवालविरुद्ध उजुरी दिएका हुन् ।

Advertisement


मन्त्री श्रेष्ठ सम इन्टरप्राइजेज र गणेशम् इन्टरप्राइजेजका सञ्चालक हुन् । आफ्नो ब्रान्डको सामान बिल अनुसार फिर्ता गरिपाऊँ भन्ने मन्त्रीको माग छ । अग्रवालले १० लाख रुपैयाँभन्दा बढी मूल्यको सामानको मूल्य तिर्न बाँकी रहेको मन्त्रीले उजुरीमा उल्लेख गरेका छन् । अग्रवालले मदिराको खुद्रा बिक्रीका लागि ग्रिनलाइन सेन्टर चलाउँदै आएका थिए ।


बैंकको ऋण, मिटरब्याजीको फन्दामा परेर ऋण तिर्न नसेको अग्रवाल परिवार गत पुस २२ गते नेपाल छोडेर भारत गएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । अग्रवालको ग्रिनलाइन सेन्टरलाई नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमई र मेगा बैंकले करिब ८० करोड रुपैयाँ ऋण दिइएको छ ।


अग्रवाल परिवार अहिले सम्पर्कविहीन भएपछि धेरैको रकम जोखिममा परेको छ । ग्रिनलाइनको नाममा कम धितो राखेर ऋण दिएका बैंकहरु पनि त्यसलाई कसरी उठाउने भन्ने चिन्तामा छन् । केही बैंकले ग्रिनलाइनमा रहेको सामान र सम्पत्ति लिलामीको कानुनी प्रक्रियासमेत सुरु गरिसकेका छन् । तिनै पीडितहरुमध्येका मन्त्री श्रेष्ठ पनि एक हुन् । उनको दुई कम्पनीले पुसमा ग्रिनलाइनलाई रुस्लान्, गोल्डेन अक, भोड्का लगायतको रक्सी बेचेको थियो । त्यसैको १० लाख रुपैयाँ उठाउन नपाउँदै अग्रवाल परिवार सम्पर्कविहीन भयो । ‘हाम्रो ब्रान्डको सामान हामीले फिर्ता पाऊँ भनेर उजुरी गरेका हौं,’ मन्त्री श्रेष्ठले समाधानसँग भने ।


उधारोमा सामान दिँदै आएको र बेलाबेलामा पैसा ग्रिनलाइनले तिर्दै आएकोमा एक्कासि सम्पर्कविहीन भएको हुँदा आफ्नो सामान फिर्ता माग्न उजुरी गरेको उनले सुनाए । अहिले ग्रिनलाइनको स्टोरमा सिल लागिसकेको छ । भोलि खुल्दाका बखत बिलभर्पाइ र ब्रान्ड हेरेर आफ्नो ब्रान्डको सामान फिर्ता पाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । मन्त्री श्रेष्ठले प्रहरीमा दिएको उजुरीको बोधार्थ बैंकहरुलाई पनि गराएका छन् ।

Advertisement


बैंकको ऋण, मिटरब्याजीको फन्दामा परेर ऋण तिर्न नसकेको पत्र घरमा छोड्दै अग्रवाल परिवारले गत पुस २२ गते नेपाल छोडेको थियो । अग्रवाललाई ८० करोड रुपैयाँ बढी ऋण लगानी गरेका ४ बैंकले भने अहिलेसम्म प्रहरीमा उजुरी दिएका छैनन् ।

तपाईको प्रतिक्रिया