गण्डकीमा बसको नयाँ भाडादर बस र ट्याक्सीको फ्लाग डाउन क्रमश २० र ८० रुपैयाँ

सञ्जय रानाभाट २०७८ माघ २९ गते १४:१३

सञ्जय रानाभाट
पोखरा ।
गण्डकी प्रदेशमा सार्वजनिक सवारी साधनको नयाँ भाडादर कायम भएको छ । प्रदेश सरकारले शुक्रबार सार्वजनिक सवारीको नयाँ भाडादर कायम गरेर राजपत्रमा प्रकाशित गरेको हो । प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रदेशमा चल्ने सार्वजनिक सवारीहरु ट्याक्सी, बस, सिटी बस, ट्रक जिपको नयाँ भाडादर कायम गरेको हो । नयाँ भाडादर फागुन १ गतेदेखि लागु हुनेछ ।


माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सवारीको भाडा २३ प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो । ट्याक्सीको नयाँ भाडादर लागु गर्ने सम्बन्धमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायी, उपभोक्ता मञ्च र सरोकारवालाबीच ६ माघमा १० बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो । बस, सिटी बस, ट्रक जिप व्यवसायीले माघ ११ मा १९ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।


लामो दुरीमा चल्ने बसहरुको भाडा प्रतिकिलोमिटर प्रतियात्रु ३ रुपैयाँ १० पैसा कायम भएको छ । छोटो दुरीमा चल्ने सिटी बसमा फ्लागडाउन २० रुपैयाँ (सुरुको ३ किलोमिटर सम्म ) र ३ किलोमिटर भन्दा माथि थप २ रुपैयाँ ५० पैसा बढ्दै जाने छ । डिलक्सको सुविधा दिने गरी ब्लुबुकमा यातायात व्यवस्था विभागबाट प्रमाणित भएका सवारीको हकमा तोकिएको भाडादरमा २० प्रतिशत रकम थप गरी लिन सक्ने व्यवस्था छ ।

Advertisement


जिपको हकमा प्रतिकिलोमिटर ५ रुपैयाँ ५० पैसासम्म लिन पाउने व्यवस्था छ । बाटो इजाजत लिई २ सय ५० किलोमिटरभित्रसम्म यात्रु बोक्न पाउने छन् । ट्रकको हकमा प्रतिकिलोमिटर ११ रुपैयाँ ७२ पैसा भाडादर कायम भएको हो । निश्चित तोकिएको स्थानमा मात्र यात्रु चढाउने र झार्ने गर्नुपर्ने लगायत बुँदामा सरकारसँग यातायात व्यवसायीले समझदारी गरेका छन् ।


ट्याक्सीमा चढ्नेबित्तिकै (फ्लागडाउन) रेट ८० रुपैयाँ (१ दशमलव ५ किलोमिटरसम्म) तिर्नुपर्ने हुन्छ । यसपछि प्रति २ सय मिटरको १० रुपैयाँका दरले भाडा बढ्दै जाने छ । १५ किलोमिटरभन्दा माथि प्रतिकिलोमिटर ३६ रुपैयाँ ५० पैसा लाग्ने गरी निर्धारण भएको हो । अस्थायी मार्गमा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भाडा निर्धारण समिति प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ अनुसार भाडदर निर्धारण गर्न सकिने छ ।

Advertisement

प्रदेश सरकारले इलेक्ट्रोनिक कार्डबाट पेमेन्ट र अनलाइन पेमेन्टलाई प्रभावकारी कार्यान्वयन गर्ने भएको छ । सवारी साधनहरुले यात्रुहरुको सुरक्षालाई ध्यानमा राखेर यात्रुबाहेक साना, ठूला सबै सवारी साधनहरुले अनिवार्य रुपमा भाडा रकम र स्थान उल्लेख गर्नुपर्ने छ । यसरी भाडाको विद्युतीय भुक्तानीसँगै सवारीमा जिपिएससमेत जडान गर्ने यातायात व्यवसायी र प्रदेश सरकारबीचको सम्झौतामा उल्लेख छ ।
सार्वजनिक यात्रुवाहक सवारीका चालक एवं सहचालक र सहयोगीसमेतले आफ्नो परिचय खुल्ने परिचयपत्र देखिने गरी प्रयोग गर्नुपर्ने र अनिवार्य रुपमा तोकिएको पोसाक लगाउनुपर्ने छ । यसरी चालक, सहचालक र सहयोगीले अनिवार्य जुत्ता लगाउनुपर्ने भएको हो । सवारी नियमित सरसफाइ गर्र्नुपर्ने छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठको संयोजकत्वमा १३ असोजमा १० सदस्यीय प्रदेश भाडा सिफारिस समिति बनाएको थियो । त्यो समितिले १२ पुसमा बुझाएको प्रतिवेदनको आधारमा नयाँ भाडा तोकिएको हो ।
नयाँ भाडादर कायमसँगै सार्वजनिक सवारी साधनले भाडादर प्रमाणित गराएपछि आधिकारिक सूचना पार्टी, सवारी साधन र टिकट काउन्टरमा टाँस यात्रुलाई जानकारी गराई कार्यान्वयमा लैजाने र भाडादर स्पष्ट रुपले उल्लेख गरी मुख्य स्थानमा होर्डिङ बोर्ड राख्नुपर्ने छ ।


सार्वजनिक सवारीसँग सम्बन्धित सबै सञ्चालक, व्यवसायी, चालक, परिचालक, सहयोगी एवं यात्रुले सार्वजनिक यातायात आचार संहिता २०७६ पूर्ण रुपमा पालना गर्नुपर्नेे छ । सवारी साधन मापदण्ड बमोजिम सञ्चालन भए नभएको हेर्न तथा निर्णय भएको भाडादर कार्यान्वयन भए÷नभएको अनुगमन हुने यातायात तथा भौतिक मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले जनाए ।


सार्वजनिक सवारीको नयाँ झाडा दर कायम गर्ने विषयमा यातायात व्यवस्था कार्यालय कास्कीका कार्यालय प्रमुख डिल्लीराम रिज्याल, नेपाल यातायाल व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक भानुभक्त बराल, उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइराला, पोखरेली ट्याक्सी प्रालि कास्की अध्यक्ष प्रकाशमणि तिवारी, स्थानीय यातायाल प्रालि कास्कीका प्रबन्धक रामचन्द्र लामिछाने, पृथ्वी राजमार्ग बस सञ्चालकका अध्यष मेघराज त्रिपाठी, गण्डकी ट्याक्सी पब्लिक लिमिटेड पोखरा अध्यक्ष गान्धीराज गिरी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश महानगर अध्यक्ष मदनकुमार सुनार, नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेश अध्यक्ष किरणबाबु पन्त, अखिल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेश सचिव रमेशकुमार कोइराला, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश अध्यक्ष विष्णु केसीले हस्ताक्षर गरेका छन् ।


तनहुँ व्यास भूमि यातायात प्रालिका सञ्चालक महासचिव पशुपतिनाथ अधिकारी, स्याङ्जा–गण्डकी यातायात प्रालि सञ्चालक महेशबहादुर थापा(गणेश), पोखरा यातायात प्रालि कास्कीका निर्देशक अमृत शर्मा तिमिल्सिना, पोखरा फेवा यातायात प्रालि कास्कीका अध्यक्ष टीकाराम थापा, गण्डकी धौलागिरी यातायात बागलुङ अध्यक्ष उमेश केसी, धौलागिरी अञ्चल जिप व्यवसायी समिति रुपान्तरित धौलागिरी कालिका यातायात प्रालिका अध्यक्ष विष्णु अधिकारी, बेगनासताल– पोखरा यातायाल प्रालिका संरक्षक रवीन्द्रमोहन अधिकारी, दरौंदी गोरखा यातायात, गोरखाका अध्यक्ष नारायण खत्री, र लमजुङ कालिका यातायात प्रालि लमजुङका अध्यक्ष कृष्णबहादुर अधिकारीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हो ।


भाडा सिफारिस समिति सदस्य एवं उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले यसले उपभोक्तालाई राहत पुग्ने बताए । ‘धेरै विचार गरेर मूल्य समायोजन भएको छ । मूल्य समायोजनअघि हामी धेरै ठाउँमा ओहोरदोहोर ग¥यौं । अहिले तोकिएको मूल्य उपभोक्ताले हाल तिरिरहेको भन्दा सस्तो पर्छ । यस कारण यो सरकारको उपलब्धिपूर्ण काम हो,’ उनले भने । उनले सम्झैता अनुसार पालना नभए नयाँ झाडादर मान्ने नहुने बताए । ‘क्रिम एरियामा मात्र लागु भएर भएन । यसले सम्झैतामा उल्लेख एक एक बुँदा पालना हुनुप¥यो । नभएर सम्झैता रद्द हुन्छ,’ कोइरालाले भने ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया