पक्राउ परेका अधिवक्ता अर्यालको विगत पनि विवादास्पद
पोखरा ।
सेवाग्राहीको मुद्दा जिताइदिएको भन्दै अनुचित आर्थिक लाभ लिएको उजुरीका आधारमा पक्राउ परेका अधिवक्ता कमल अर्याल यसअघि कास्कीको लाहाचोकका पूर्णबहादुर श्रेष्ठको मुद्दामा विवादमा मुछिएका थिए । मालपोतका लिखत सच्याउन लगाएर आफ्नो पक्षलाई मुद्दा जिताउन लागेको आरोप उनीमाथि लागेको थियो ।
घटना के थियो भने कास्कीको लाहाचोक घर भएका पूर्णबहादुरसमेतले २०४९ सालमा पर्वतमा एक व्यक्तिको हत्या गरेर फरार भएकोमा पर्वत जिल्ला अदालदतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । त्यसपछि फरार उनलाई प्रहरीले २०६९ पुस ३ गते घरबाटै पक्रेको थियो । अधिवक्ता कमलप्रसाद अर्यालले मुद्दामा अगुवाइ गरेका थिए । उनकै सक्रियता र अक्कलमा पूर्णबहादुरलाई जोगाएको भन्दै अर्याल विवादमा तानिएका थिए ।
पूर्णबहादुरका २ दाजुभाइ रहेकोमा ३ जना बनाई एक जना फरार रहेको भन्ने नक्कली काम भएको घटना पछि खुलासा भएको थियो । धेरैजसो प्रमाणले २ दाजुभाइमध्ये पूर्णबहादुर कान्छा रहेको देखिन्थ्यो । तर पूर्णबहादुरको गाउँमा बोलाउने नाम कुमार भएकाले अदालतको फैसलामा पनि कुमार श्रेष्ठ उल्लेख गरिएको छ । २ दाजुभाइ नभई ३ जना रहेको र कुमार भन्ने माहिलो छोरा २०४५/२०४६ सालमै घरबाट बेपत्ता भएको बनाइएको थियो । हत्याका अभियुक्तलाई मुक्ति दिन त्यस्तो प्रपञ्च रचिएको खुलासा भएको थियो ।
कास्की घान्द्रुकका व्यक्तिको भैंसी हराएकोसम्बन्धी मुद्दा न्यायाधीशसँगको सेटिङमा जिताइदिन्छु भन्दै अधिवक्ता अर्यालले ठगी गरेको उजुरी कास्की प्रहरीमा परेको थियो । सोमबार रामबहादुर परियारले उजुरी दिएका हुन् । मुद्दाको फैसला आएपछि अर्यालले जिताइदिएँ भन्दै ५ हजार रुपैयाँ लिएको उजुरीमा छ । सुरुमै सेवा शुल्क भनेर ५ हजार रुपैयाँ अर्यालले लिएका थिए । मंगलबार अर्याल पक्राउ परेका हुन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १० का परियारले अधिवक्ता अर्याल विरुद्ध मुद्दा जितियो भनेकोमा फैसलाको पूर्णपाठ आउँदा हारेको थाहा पाएपछि ठगीमा उजुरी गरेका हुन् । फैसलाको पूर्णपाठको फोटोकपी लिन राजस्व २ हजार रुपैयाँ बुझाउनुपर्ने भन्दै अर्यालले पैसा मागेका थिए ।
परियारले आफ्नो भैंसी दाङसिङको एउटा फर्ममा पुगेको भन्दै आफूले लगेका थिए । पोहोर जेठमा भैंसीका दुईवटा पाडा लेकको गोठमा छाडेकामा हराएको र ती पछि दाङसिङको एउटा फर्ममा भेटिएको परियारको दाबी छ । तर फर्मधनीले ती भैंसी परियारको नभई आफनै भएको भनी फिर्ता लगेका थिए । त्यसपछि परियारले फर्म सञ्चालकविरुद्ध न्यायिक समितिमा उजुरी गरे । समितिको फैसला उनको विपक्षमा आएपछि अदालत गुहार्न आइपुगेका हुन् ।
कास्की अदालतमा १ महिनाअघि उनले उक्त मुद्दा हारे । हारेको मुद्दा पनि जितेको भन्दै वकिल अर्यालले पैसा असुलेपछि रामबहादुर उजुरी लिएर प्रहरीकहाँ पुगे ।
उजुरीसहितका प्रमाण पुग्ने कागजातका आधारमा अर्याललाई पक्राउ अनुमति पुर्जी अदालतले दिएको थियो । ठगी, आपराधिक विश्वासघात तथा लाभ कसूरमा अधिवक्ता अर्याललाई पक्रन अदालतले प्रहरीलाई अनुमति दिएको हो । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ को ३ बमोजिम पक्राउका लागि अनुमति पाउन सम्बन्धित कागजात सक्कलैसहित प्रहरी अदालत पुगेको थियो । त्यसै अनुसार अदालतले अनुमति दिएपछि अर्याललाई नियन्त्रणमा लिई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
अधिवक्ता अर्याल पोखरा महानगरका कानुनी सल्लाहकार हुन् ।
……
महानगरले कानुनी सल्लाहकारबाट हटायो
पोखरा महानगरले अधिवक्ता कमल अर्याललाई कानुनी सल्लाहकारबाट पदमुक्त गरेको छ । अर्याल ठगी आरोपमा पक्राउ परेपछि मंगलबार राति अबेर महानगरका मेयर मानबहादुर जिसीले उनलाई पदबाट हटाएएको जानकारी दिए ।
अर्यालका विषयमा आएका समाचारबारे ध्यानाकर्षण भएको जनाउँदै मेयर जिसीले घटनाको सत्य, तथ्य छानबिनका लागि प्रशासनलाई अनुरोधसमेत गरेका छन् । उनले भने, ‘घटनाको छानबिनमा असहज परिस्थिति सिर्जना नहोस् भन्नका लागि निज अर्याललर्या कानुनी सल्लाहकारको जिम्मेवारीबाट पदमुक्त गरिएको व्यहोरा जानकारी गराउँदछु ।’
अर्यालले पोखरा महानगरपालिकाबाट भुक्तानी लिएको ५ लाख ७ हजार रुपैयाँ बेरुजु देखाएर महालेखाको प्रतिवेदनले फिर्ता गर्न भनेको छ । महानगरपालिकामा २ जना वकिल छँदाछँदै अर्यालले मुद्दा हेरेर र त्यसबापत पैसा लिएको भन्दै महालेखाले बेरुजु बनाएको हो ।
तपाईको प्रतिक्रिया