जागिर लगाइदिने भन्दै ६० लाख ठगी

सञ्जय रानाभाट २०७८ फागुन ४ गते २०:३३

पोखरा ।
संयुक्त राष्ट्र संघ (युएन) र राष्ट्र बैंकमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा डोटीका दिनेश सिंहलाई कास्की प्रहरीले पक्रेको छ । कास्कीबाट डिएसपी सुन्दर तिवारी नेतृत्वमा खटिएको टोलीले रुपन्देही प्रहरीको समन्वयमा बुटवल उपमहानगरपालिका ९ मिलनचोकबाट सोमबार सिंहलाई पक्राउ गरेको हो ।


दिनेशको साथबाट प्रहरीले राष्ट्र बैंकको कार्ड होल्डर, १ थान ल्याप्टप, १ थान औंठी, २ थान मोबाइल, पहेलो रङको १ थान सिक्री साथै विभिन्न व्यक्तिका नागरिकताको प्रतिलिपि, ६ थान सिम, ठगी गर्ने प्रयोजनका लागि बनाएका विभिन्न कागजात र ६७ हजार नगद रुपैयाँ फेला पारेको डिएसपी तथा कास्की प्रहरी प्रवक्तासमेत रहेका तिवारीले जानकारी दिए ।


तिवारीका अनुसार दिनेशले गत पुस १८ गतेदेखि पोखरा आएर ट्याक्सी चालकहरुलाई जागिर लगाइदिने नाममा कास्कीबाट ५ जनाबाट करिब १९ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पहिला सोझा ट्याक्सी चालकसँग लिफ्ट लिने, सम्बन्धित ठाउँमा पु¥यादिन लाने, बिचको समयमा चालकको मन जित्ने, चालकको मनोविज्ञान बुझेपछि जागिरको अफर गर्ने रैछन्,’ डिएसपी तिवारीले भने । दिनेशले ठगी गर्न आफ्नो नाम भने कहीं कतै खुलाउने गरेका थिएनन् । ‘सक्कली नामको सट्टामा मनोज मल्ल, निर्माण मल्ल, दिवेश सिंह, संगम सिंह भन्दै आएका रैछन्,’ तिवारी भन्छन्, ‘यात्रा प्लेनमा गर्ने र अरुकै नागरिकता देखाउने रैछन् ।’

Advertisement


कसरी परे प्रहरी फन्दामा ?
पुस १८ दिनेश पोखरा आए । पृथ्वीचोकमा प्यासेन्जर कुरिरहेका ट्याक्सी चालक विनोद विकसँग उनको भेट भयो । विनोदलाई ट्याक्सीमा लेकसाइडको कुनै होटलमा लगेर राखिदिन अनुरोध गरे । आफू पोखरा आइरहे पनि आउने जाने गर्दा बसोबास गरेको होटलको नाम नम्बर बिर्सेको भन्दै कुनै चिनेको होटलमा प¥याइदिन दिनेशले आग्रह गरे ।


सधैं विनोद अपरिचित यात्रु ओसारपसार गरिरहन्थे । त्यो दिन विनोदले आफूले चिनेजानेको लेकसाइडको एक होटलमा दिनेशलाई पु¥याइदिए । यद्यपि दिनेशले विनोदसँग आफ्नो नाम मनोज भएको बताएका थिए । विनोदले चिनेजानेको होटलमा लगिदिए । विनोदको चिनजान भएकाले होटलमा दिनेशले नामदर्ता बिनै प्रवेश पाए ।

Advertisement

विनोदको फोन नम्बर दिनेशले लिइसकेका थिए । भोलिपल्ट अर्थात पुस १९ गते विनोदलाई दिनेशले फोन गरे । आफूलाई बाहिर जानुपर्ने भएकाले लिन आउन आग्रह गरे । यो बिचमा दिनेशले बाबा र अंकल संयुक्त राष्ट्र संघ (युएन)को कर्मचारी भएको सुनाए । बाबा निवृत्त भइसकेको र अंकलको घाँटीको समस्याका कारणले उनको सट्टा अर्काे व्यक्ति लगिदिनुपर्ने भएको सुनाए । त्यसो गरिदिँदा अंकलको सञ्चयकोष निकाल्न सजिलो पर्ने भन्दै दुख र आश्वासन दुवै देखाए । विनोद त्यो दुख र आश्वासनमा लोभिए । दिनेशले भनेका थिए, ‘तपाईंको ड्राइभिङ मन प¥यो, तपाईंजस्तै मान्छे भइदिए त युएनमा लैजान हुन्थ्यो ।’


युएनमा ४८ हजार ९ सय २८ रुपैयाँ तलब पाइने प्रलोभन दिनेशले विनोदलाई देखाएका थिए । युएनमा त्यो जागिर खान २० लाख रुपैयाँ चाहिने कसेकाे जम्मा गर्न र बाँकी पैसा आफू हालिदिने भन्दै २५÷ ३० हजार रुपैयाँ हातबाट फुतकाइहाले । पाेखरा र चितवन मा पनि यूएनकाे जागिर खुलेकाले अरु साथी भए खाेज्न प्रलाेभन देखाए । त्यस्तै प्रलोभन देखाएर साथीहरु पनि खोज्न लगाए । विनोदले साथी होमबहादुर नेपाली पनि राम्रो जागिर पाइने भन्दै युएनमा जागिर खान भए प्राेसेस अगाडि बढाउन बताए । हाेमबहादुरसँग त दिनेशले ४ लाख रुपैयाँ फुत्काउन सफल भए ।


होम र विनोदलाई बुटवल बोलाए । त्यतिका पैसा लिइसकेपछि नियुक्तिपत्र तयार भइसकेको लगायत आश्वासन दिँदै गए । तर न उनीहरुले जागिर पाए न दिएको पैसा फिर्ता । दिनेशको ठगी फन्दामा विनोद र होममात्रै होइन पोखरा २४ का ३० वर्षे बुद्धिप्रसाद अधिकारी पनि फसेका छन् । बुद्धिको बुद्धि भुट्दै दिनेशले ५ लाख रुपैयाँ उछिट्याउन सफल भएका थिए । स्याङ्जा फेदीखोला १ का ४२ वर्षे युके गुरुङ पनि दिनेशको जालमा फसे । पोखरा ८ रत्नचोकका ५६ वर्षे युवराज पौडेल पनि छोरालाई सुपरभाइजरको जागिर पाइने आसमा दिनेशबाट ठगिए । यसै गरीगरी दिनेशले पोखरामा विभिन्न व्यक्तिबाट १९ लाख रुपैयाँ ठग्न सफल भए । देशभरबाट भने उनले ६० लाख रुपैयाँ उम्क्याउन सफल भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया